एमसीसीका परियोजनामा ११ करोड अमेरिकी डलर परिचालन

एमसीसीअन्तर्गत ८ करोड ९० हजार र नेपाल सरकारबाट २ करोड ६६ हजार अमेरिकी डलर खर्च।

माघ २६, २०८२

सीमा तामाङ

110 million US dollars mobilized for MCC projects

What you should know

काठमाडौँ — अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनामा हालसम्म १० करोड ७७ लाख ५७ हजार अमेरिकी डलर खर्च भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले उपलब्ध गराएको सूचनाअनुसार एमसीसीअन्तर्गत ८ करोड ९० हजार र नेपाल सरकारबाट २ करोड ७६ लाख ६६ हजार अमेरिकी डलर खर्च भएको हो ।

 एमसीसी कम्प्याक्टअन्तर्गत सञ्चालित परियोजना र एमसीए नेपालको तलबभत्ता र कार्यालय सञ्चालनका लागि समेत उक्त रकम प्रयोग भएको छ । 

यसअघि २ फागुन २०८१ मा एमसीसीले पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २९ भदौ २०७४ मा भएको सम्झौताअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको थियो ।

२१ मार्च २०२५ मा एमसीए नेपालले विज्ञप्ति जारी गर्दै अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको जनाएको थियो । २ जुलाई २०२५ मा अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको थियो ।

एमसीए नेपालअन्तर्गत १८ किलोमिटर बुटवल–गोरखपुर प्रसारण लाइन, ४ सय केभी नयाँ बुटवल सबस्टेसन, ४ सय केभी नयाँ दमौली सबस्टेसन र ४ सय केभी रातामाटे सबस्टेसन निर्माणाधीन छन् । एमसीए नेपालका अनुसार २९७ किमि प्रसारण लाइन पनि ठेक्का लागिसकेको छ । ठेक्का पाएका कम्पनीले काम सुरु गरिसकेका छन् । धानखोलादेखि लमहीसम्मको ४० किलोमिटरको पनि ठेक्का लागिसकेकले पूर्वतयारीको काम भइरहेको छ । 

एमसीए नेपालले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माण गर्न १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ भदौ २०८१ मा सम्झौता गरेको थियो । उक्त प्रसारण लाइन २१ महिनामा सकाउने लक्ष्यका साथ काम भइरहेको एमसीए नेपालले जनाएको छ । प्रसारणलाइनको डिजाइन, इन्जिनियरिङ र सर्भेको काम सकिएको छ । कुल ५३ वटा टावर निर्माण गर्नुपर्नेमा २१ वटाको फाउन्डेसन राखिसकेको एमसीए नेपालले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।

बुटवल–गोरखपुर प्रसारण लाइनका लागि २०२६ जनवरीसम्म ट्रान्सरेल लाइटिङ कम्पनीलाई १५ लाख ६० हजार अमेरिकी डलर भुक्तानी दिएको एमसीए नेपालको भनाइ छ । तनहुँमा निर्माणाधीन ४ सय केभी क्षमताको नयाँ दमौली सबस्टेसनको भौतिक प्रगति १६.७५ प्रतिशत पुगेको छ । नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीसँग १६ साउन २०८१ मा सम्झौता भएको थियो । ठेक्का पाएको कम्पनीलाई ४२ लाख डलर भुक्तानी भएको छ ।

नुवाकोटमा ४ सय केभी रातामाटे सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडसँग १ असार २०८१ मा सम्झौता भएको थियो । उक्त सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिसक्ने गरी ५ करोड १६ लाख अमेरिकी डलरमा सम्झौता भएको थियो । उक्त सबस्टेसन पनि निर्माणाधीन छ । भौतिक प्रगति १६.५६ प्रतिशत पुर्‍याएको ठेकेदार कम्पनीलाई हालसम्म ५५ लाख १० हजार डलर भुक्तानी दिएको एमसीए नेपालको भनाइ छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को ४ सय केभी नयाँ बुटवल सबस्टेसन निर्माण गर्न लिंकसन इन्डियासँग २०८१ वैशाख २७ मा सम्झौता भएको थियो । ३९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको उक्त सबस्टेसन ३ करोड ५५ लाख १० हजार डलरमा सम्झौता भएको थियो । 

ठेक्का पाएका कम्पनीलाई ५१ लाख ४० हजार डलर भुक्तानी गरिसकेको एमसीए नेपालले जनाएको छ । उक्त सबस्टेसनको भौतिक प्रगति २६ प्रतिशत पुगेको छ ।

एमसीए नेपालले निर्माणाधीन लप्सीफेदी सबस्टेसनदेखि नुवाकोटमा निर्माणाधीन रातमाटे सबस्टेसन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौंडा सबस्टेसनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्ने गरी आशिष–बोज्लर संयुक्त उपक्रमसँग सम्झौता गरिसकेको छ । कुल ७ करोड ६६ लाख ५० हजार अमेरिकी डलरमा भएको सम्झौता गरेको थियो । विस्तृत इन्जिनियरिङ सर्भेको ६० प्रतिशत काम सकिएको एमसीए नेपालले जनाएको छ । जनवरी २०२६ सम्म ७४ लाख ७० हजार डलर खर्चिएको छ ।

एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माण गर्न एन्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण गर्न वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता गरेको छ । संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौताअन्तर्गत ४०० केभीको १८० किलोमिटर प्रसारण लाइन निर्माण हुने भनिएको छ । रातामाटे–न्यु दमौली प्रसारणलाइनको विस्तृत इन्जिनियरिङ सर्भे र भू–प्राविधिक अनुसन्धान भइरहेको एमसीए नेपालको भनाइ छ । आगामी अक्टोबरदेखि निर्माणको काम सुरु हुने अपेक्षा गरिएको समेत भनेको छ । यसका लागि जनवरी २०२६ सम्म ७६ लाख ५० हजार डलर खर्च भइसकेको छ ।

न्यु दमौली–न्यु बुटवल प्रसारणलाइन आयोजनाको विस्तृत इन्जिनियरिङ सर्भे र भू–प्राविधिक अनुसन्धान सम्पन्न भइसकेको भन्दै एमसीए नेपालले अन्य तयारीका काम भइरहेको जनाएको छ । यसका लागि ७५ लाख डलर खर्च भएको छ । धानखोलादेखि लमहीसम्म फुल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर सडकखण्ड मर्मतसम्भारका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग दुई करोड अमेरिकी डलरमा सम्झौता भएको छ । यसको काम गत २५ जनवरीदेखि सुरु भइसकेको छ । ठेक्का पाएका कम्पनीले पूर्वतयारीका काम गरिरहेकाले हालसम्म भौतिक प्रगति शून्य रहेको एमसीए नेपालले जनाएको छ ।

एमसीए नेपालका अनुसार कुल ५८ करोड २४ लाख अमेरिकी डलर लगानी गरिने विद्युत् प्रसारण आयोजना राष्ट्रिय ग्रिडमा बिजुलीको उपलब्धता र भरपर्दोपनामा सुधार गरी आन्तरिक विद्युत् उपभोगमा वृद्धि गर्न, थप भर पर्दो विद्युत् उपलब्ध गराई लगानीमा वृद्धि गर्न तथा बचत बिजुली निर्यात गरी सरकारको राजस्वमा वृद्धि गर्न सञ्चालन गर्न लागिएको हो ।

पाँच करोड ४९ लाख अमेरिकी डलरको लगानीमा सञ्चालन गर्न लागिएको सडक मर्मत आयोजनाको उद्देश्य सडक विभाग तथा सडक बोर्ड नेपालको निर्माण क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग, बढीमा १३० किमि रणनीतिक सडक सञ्जालको मर्मत सम्भार तथा नेपालको सडक मर्मत बजेट विस्तारलाई प्रोत्साहन गर्न मिलान कोष (म्याचिङ फन्ड) को व्यवस्थामार्फत नेपालको रणनीतिक सडक सञ्जालको गुणस्तरमा सुधार गर्नु रहेको एमसीए नेपालको भनाइ छ । 

एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो । २९ भदौ २०७४ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार १३ भदौ २०८० देखि परियोजना कार्यान्वयन सुरु भएको हो । ३ मंसिर २०८२ मा एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेको थियो । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully