बीपी राजमार्ग : जाइकाले जिम्मा लिएको खण्डबाहेकमा काम जारी

आउने बर्खामा समस्या हुन नदिने गरी काभ्रे र सिन्धुली दुवैतर्फ काम थालिएको आयोजनाको दाबी 

माघ २५, २०८२

विमल खतिवडा

BP Highway: Work continues except for the section taken over by JICA

What you should know

काठमाडौं — बाढीले क्षतिग्रस्त बीपी राजमार्गको ३.२ किलोमिटरबाहेकको खण्डमा ठेक्का लगाएर काम अघि बढाइएको छ । आउने बर्खामा समस्या हुन नदिने गरी काभ्रे र सिन्धुली दुवैतर्फ काम थालिएको हो । बढी समस्या भएको खण्डलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको सम्बन्धित कार्यालयहरूले जनाएका छन् । 

राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म ०८१ असोजको बाढीले ३०.५ किमि क्षेत्रमा बढी क्षति गरेको हो । अहिले उक्त क्षेत्रमा दुई लेन सडक निर्माण गर्न लागिएको छ । काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । 

बढी समस्या भएको चौकीडाँडा, कटुन्जे र चारसयबेंसी खण्डमा एकैचोटि काम भइरहेको सडक डिभिजन, भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘चौकीडाँडा खण्डमा आरी (रेन्फोर्स्ड अर्थ वाल) वाल बनाउने काम भइरहेको छ, चारसयबेंसी खण्डमा माइक्रो पाइल र आरसीसी वाल निर्माण भइरहेको छ ।’ सडक चौडा पार्न भित्तो काट्ने काम पनि जारी रहेको उनको भनाइ छ । 

‘आरी वाल लगाउन १० मिटर उचाइमा प्लम्ब वाल बनाउनुपर्छ, चौकीडाँडा खण्डमा करिब २ सय २५ मिटर आरी वाल निर्माण गरिँदै छ,’ योगेशले भने, ‘पिप्ले–डालाबेंसी खण्डमा आरसीसी वाल लगाइँदै छ ।’ बर्खाअघिसम्म जहाँ–जहाँ खोला भएर अस्थायी बाटो बनेको छ, ती खण्डलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेका छौं ।’ उक्त खण्डमा डिजाइनअनुसार वाल लगाइएको र बर्खाअघि सवारी चलाउन मिल्ने गरी काम भइरहेको उनले जनाए । ‘अप्ठ्यारो खण्डमा आवश्यकता 

अनुसार राति ११ बजेसम्म काम हुन्छ,’ योगेशले भने । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता गत असारमा भएको हो ।

पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग गत कात्तिकमा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ । जाइका (जापान अन्तर्राष्ट्रिय सहयोग नियोग) ले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्डमा सडक निर्माण हुन लागेको हो । 

जाइका निर्माण कम्पनी छान्ने चरणमा रहेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । ‘मार्चभित्र जाइकाले निर्माण कम्पनीसँग ठेक्का सम्झौता गर्छ,’ उनले भने, ‘त्यसपछि निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भई पहिला बर्खामा सहज हुने गरी काम गर्न भन्छौं, त्यसैले बर्खापछि मात्र स्थायी निर्माणको काम थाल्नेछन् ।’ जाइकाले सन् २०२७ को अन्त्यसम्म आफूले लिएको खण्डको काम सक्ने जनाएको अर्यालले जनाए । 

अहिले ३०.५ किलोमिटरमध्ये २७.३ किमि खण्डको ठेक्का सम्झौता भई काम थालिएको हो । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरिढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ हो । जुन खण्डको गत असार दोस्रो साता ठेक्का सम्झौता भएको हो । सडक विभागबाट बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएअनुसार ठेक्का व्यवस्थापनको काम गरिएको हो ।

ठेक्का भएको खण्डमा आरसीसी वाल, ग्याबिन वाल र प्लम्ब क्रंकिटको काम भइरहेको सडक डिभिजन खाल्टे, सिन्धुलीका प्रमुख पारशमणि हमालले बताए । ‘अहिलेसम्म निर्माण प्रगति २० प्रतिशत छ, ठेक्का भएको सबै खण्डको निर्माण अवधि दुई वर्षको छ,’ उनले भने, ‘यस खण्डको तीन ठाउँमा बर्खामा बढी जोखिम छ, ती ठाउँमै केन्द्रित भएर काम गरिरहेका छौं ।’ निर्माण सामग्री अभाव नहुने र केही समस्या आइनपरे बर्खाअघि कालोपत्रको काम नभए पनि ग्राभेल गरेर भए पनि सवारी चलाउने व्यवस्था गरिने उनको दाबी छ । 

‘अहिले समय तालिकाअनुसार नै काम भइरहेको छ,’ हमालले भने, ‘नेपालथोक, आँपघारी र बालुवा खण्डमा बर्खामा बढी जोखिम छ, अहिले यही खण्डमा बढी केन्द्रित भएर काम भइरहेको छ ।’ केही दिनअघि बीपी राजमार्गको स्थलगत अनुगमन गरेर फर्किएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले बर्खामा सहज बनाउने गरी तीव्र गतिमा काम भइरहेको जनाए । ‘नीतिगत होस् या बजेटको कुरा नै किन नहोस्, निर्माणका क्रममा समस्या हुन दिन्नौं,’ उनले भने, ‘तर बर्खामा सडक अवरुद्ध बन्नु भएन, सहज रूपमा सवारी साधन चलाउन मिल्ने गरी काम गर्न व्यवसायीलाई भनेका छौं ।’ 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully