किन खस्कियो बिटक्वाइनको मूल्य ?

क्रिप्टो बजार निकै अस्थिर हुने भएकाले लगानीकर्ताहरू यस्तो जोखिमयुक्त सम्पत्ति बेचेर बाहिरिन थाले

माघ २४, २०८२

कान्तिपुर संवाददाता

Why did the price of Bitcoin fall?

What you should know

काठमाडौँ — विश्वको सर्वाधिक चर्चित क्रिप्टो मुद्रा बिटक्वाइन यति बेला दबाबमा छ । गत वर्ष अक्टोबरमा सर्वाधिक १ लाख २२ हजार डलरसम्म पुगेको बिटक्वाइनको मूल्य अहिले खस्किएर ६० हजार आसपासमा झरेको छ ।

पछिल्ला दिन केही सम्हालिएर ६६ हजार डलर पुगे पनि बिटक्वाइनसहित प्रमुख क्रिप्टोकरेन्सीको मूल्य यो साता तीव्र रूपमा घट्ने क्रम जारी छ । 

यस्तो गिरावट अनौठो भने नभएको सीएनएनले जनाएको छ । क्रिप्टो बजार निकै अस्थिर हुने भएकाले हाल लगानीकर्ताहरू यस्तो जोखिमयुक्त सम्पत्ति बेचेर बाहिरिन थालेका छन् । क्रिप्टो बजारको ओरालोसँगै अमेरिकी र अन्तर्राष्ट्रिय सफ्टवेयर तथा प्रविधि कम्पनीको सेयर मूल्य पनि एकैसाथ खस्किएको छ । यी दुई क्षेत्रको संयुक्त गिरावटका कारण यो साता मात्रै करिब १० खर्ब अमेरिकी डलर बराबरको इक्विटी मूल्यमा ह्रास आएको विभिन्न सञ्चारमाध्यमले बताएका छन् । 

कतिपयले डिजिटल सुनसमेत भन्ने गरेको बिटक्वाइन पछिल्ला पाँच दिनमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । इथेरियम पनि करिब १३ प्रतिशतले ओरालो लागेको छ । १५ महिनामा पहिलो पटक बिटक्वाइनको मूल्य ७० हजार डलरभन्दा तल झरेको सीएनएनका बिजिनेस ब्युरो सम्पादक डेभिड गोल्डम्यानको भनाइ छ ।

‘गत नोभेम्बरमा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएपछिको समययता पहिलो पटक बिटक्वाइनको मूल्य ७० हजार डलरभन्दा तल झरेको छ,’ उनले भिडियोमा विश्लेषण गरेका छन्, ‘विश्वव्यापी भू–राजनीतिक तनावका कारण लगानीकर्ता चिन्तित छन् । र, बिटक्वाइनजस्तो जोखिमपूर्ण सम्पत्तिमा पैसा हाल्न हच्किरहेका छन् ।’ उनका अनुसार एआईको उछालपछि मानिसले केही निश्चित स्टकबाट आफ्नो लगानी झिकिरहेका छन् । बजारमा देखिएका यिनै त्रासको चपेटामा बिटक्वाइन परेको गोल्डम्यानको बुझाइ छ ।

उता, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी खर्च, आम्दानी वृद्धि र मूल्यांकनबारे बढ्दो चिन्ताबीच ठूला सफ्टवेयर कम्पनीका सेयर मूल्य पनि महिनौंयताकै खराब स्थितिमा पुगेका छन् । गत वर्ष लामो समयसम्म उकालो लागेर अक्टोबर ५ मा १ लाख २४ हजारसम्म पुगेको बिटक्वाइनले त्यसयता धेरै गुमाइसकेको छ ।

यसको मूल्य ४ महिनामै आधाभन्दा तल झरेको छ । इथेरियम पनि उस्तै तरिकाले द्रुत गतिमा ओर्लिएको छ । अक्टोबरमा प्रतिइथेरियम मूल्य ४ हजार ५०० अमेरिकी डलर आसपास रहेकोमा त्यो ओर्लिएर झन्डै १ हजार ९ सयमा आइपुगेको छ । बजार ट्र्याकरहरूको तथ्यांकअनुसार विश्वव्यापी क्रिप्टो बजारको कुल मूल्य एक महिनामा मात्रै ८ खर्ब डलरभन्दा बढीले ह्रास आएको छ । 

सोलाना, एक्सआरपीजस्ता अन्य ठूलो कारोबार हुने टोकनमा पनि तीव्र गिरावट देखिएको छ । यसले गर्दा प्रमुख क्रिप्टो प्रवर्द्धक र संस्थापकहरूमा समेत दबाब देखिएको छ । पछिल्ला सातामा केही चर्चित संस्थापक र ठूला लगानीकर्ताले आफ्ना होल्डिङ घटाएको वा बिक्री गरेको विवरण सार्वजनिक फाइलिङ र ब्लकचेन तथ्यांकमा देखिन थालेपछि बजारको चिन्ता थप बढेको छ । यही समयमा ठूला प्रविधि र सफ्टवेयर कम्पनीका सेयर पनि तीव्र दबाबमा परेका छन् । 

कान्तिपुर

Link copied successfully