चितवनका गाईभैंसीमा बाँझोपन बढ्दो, गोठमै पुगेर थालियो निःशुल्क उपचार

धेरै किसानले गाईभैंसीमा बाँझोपन बढेको गुनासो गरेपछि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले हेफर प्रोजेक्ट नेपाल र चितवनका सबै पालिकासँगको सहकार्यमा बाँझोपन निवारणका लागि घरदैलो अभियान थालेको छ ।

माघ २४, २०८२

राजु चौधरी

Infertility is increasing among cattle and buffaloes in Chitwan, free treatment started at the cowshed

What you should know

रत्ननगर, चितवन — पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ सूर्योदय टोलकी मनु रेग्मी कोइरालाले गत जेठसम्ममा दैनिक १४० लिटरसम्म दूध बिक्री गर्दै आइरहेकी थिइन् । पछिल्लो ७ महिनायता दूध उत्पादन घटेर दैनिक ७० लिटरमा ओर्लियो ।

गाईले बाली नखोज्ने, दूध पनि नदिने, बाँझोपनलगायतको समस्या देखिन थालेपछि उनको उत्पादन नै घटेको छ । 

कोइराला कृषि तथा पशु फार्म दर्ता गरेर २ बाच्छीसहित ११ वटा गाईभैंसी पाल्दै आएकी कोइरालालाई अहिले बढ्दो लागत र घट्दो उत्पादनले चिन्तित बनाएको छ । ६ लिटरसम्म दूध दिने भैंसीले अहिले २.५ लिटरसम्म मात्रै दिएको छ । 

८५ हजार रुपैयाँमा किनेर ल्याएको गाई एकपटक पनि बाली नखोजेपछि उनी झनै समस्यामा छिन् । ‘गाईवस्तुलाई पाल्न खुवाउनै पर्‍यो, तर उत्पादन छैन,’ कोइरालाले दुखेसो पोखिन्, ‘महंगोमा किनेको गाईले पनि दूध दिन छाडेपछि झनै समस्या निम्तिएको छ ।’ 

उनले घरमै दाना बनाएर खुवाउने गरेकी छन् । गोठ छेउमै २ बिघा क्षेत्रफलमा नेपियर र १० कठ्ठा जै घाँस लगाएकी छन् । धानको भुस किनेर घरमै दाना बनाएर खुवाउने गरेकी छन् । प्रति केजी ८ रुपैयाँमा पाइने भुस अहिले १३ रुपैयाँसम्ममा किन्नु परेको छ । यसले लागत बढाएको छ भने उत्पादन घट्दै गएको छ । 

मनुको जस्तै बाझोपनाको समस्या रत्ननगर–१२ का कृष्णकुमार भट्टले पनि भोग्दै आइरहेका छन् । ५ वर्षदेखि पूर्णरुपमा व्यवसायिक गाईभैंसीपालन गर्दै आइरहेका भट्ट गाईभैंसीको उपचार १० पटकसम्म गराउँदा पनि सफल नभएको दुखेसो पोख्छन् । ‘एउटा गाईलाई १२ पटकसम्म कृतिम गर्भाधान (एआई)को प्रयास गरे तर अझै सफल भएको छैन, उत्पादन पनि घटेको छ, मानिसक रुपमा कमजोर बनाउँदो रहेछ,’ भट्टले दुखेसो पोखे । 

भट्टको गोठमा २५ वटा साना ठूला गाईभैंसी छन् । ६ वटा ब्याउने अवस्थामा छन् । अहिले दैनिक ९० लिटर दूध बिक्री गर्दै आइरहेका छन् । गाईभैंसीमा बाँझोपनको समस्या नहुादा उनले दैनिक डेढ सय लिटर भन्दा बढी दूध बिक्री गर्दै आइरहेका थिए । 

भरतपुर महानगरपालिका–१३ चम्पानगरका तारा सापकोटाले पनि यही समस्याबाट हैरानी खेपेका छन् । २ वटा बाच्छीसहित ४ वटा गाई पाल्दै आएका सापकोटाले पहिलोपटक एउटा गाईमा बाझोपनको समस्या भोग्नु परेको छ । ११ महिनादेखि उनको गाईमा बाँझोपनको समस्या देखिएपछि दूध उत्पादन नै घटेको छ । ‘पहिले दैनिक २५/३० लिटर दूध उत्पादन हुन्थ्यो, अहिले घटेर १०/१५ लिटरमा झरेको छ, एउटा गाईमा अनेक समस्या आउँदा धेरै गाह्रो भइरहेको छ,’ सापकोटाले दुखेसो पोखे । 

उनको घरनजिकै १२ वर्षदेखि गाईपालन गर्दै आइरहेका नारायण सापकोटा पनि यही समस्या भोग्न बाध्य छन् । २ बाच्छीसहित ५ वटा गाई पाल्दै आएकोमा एउटा गाईमा गत कात्तिकबाट यस्तै समस्या देखिएको हो । उनको दैनिक ३० लिटर दूध उत्पादन हुँदै आइरहेको छ । 

यो समस्या अहिले जिल्लाभरका किसानले भाग्दै आइरहेका छन् । धेरै किसानले बाँझोपनको समस्याबारे गुनासो गरेपछि किसानको नेतृत्व गर्ने संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले हेफर प्रोजेक्ट नेपाल र चितवनका सबै पालिकासँगको सहकार्यमा गाईभैंसीमा बाझोपन निवारणका लागि घरदैलो अभियान थालेको छ ।

गोठमै पुगेर गाईभैंसीको उपचार गर्न वरिष्ठ भेटेरेनरी चिकित्सकसहितको टोली खटिएको छ । ‘किसानहरुको गाईवस्तुमा समयमै बर नलाग्ने, उल्टी रहने, बाझोपना हुने समस्या देखिँदा लागतमा वृद्धि तर उत्पादनमा गिरावट हन्छ, किसानलाई यो झन्झटबाट मुक्त गराउन प्रत्येक सहकारीबाट यो समस्या भोगेका किसानहरुको नाम संकलन गरि गोठगोठमै गएर उपचार गर्ने अभियान थालेका छौं,’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने । 

पशुपालनबाट लागत घटाएर धेरै मुनाफा दिएर किसान संरक्षण गर्ने उद्देश्यले निःशुल्क रुपमा बाझोपना निराकरणका लागि संघले काम गरिरहेको उनको भनाई छ । संघले यो अभियान सफल बनाउन स्थानीय सरकारसँग समेत समन्वय गरेर अघि बढिरहेको छ । यससँगै किसानलाई जलवायुमैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन तालिमसमेत दिादैआइरहेको छ । 

किसानको गोठगोठमा गएर वरिष्ठ भेटेरेनरी चिकित्सक लक्ष्मण घिमिरेसहितको टोलीले उपचार गरिरहेको छ । यो टोली पूर्वी चितवनको खैरहनी, राप्ती, कालिका, रत्ननगर र भतरपुर महानगरपालिकामा बाझोपनाको समस्या देखिएको किसानको गोठमा पुगेर उपचार गरिरहेको छ । ‘गाईभैंसीको परीक्षण गर्दा धेरैजसोमा पौष्टिक आहारामा कमी, पेट भराउन नपाएको, घाँसको अभाव भोगेका पशुमा धेरै समस्या देखियो, थारो हुने, बाँझो हुने, हिटमा नआउने तर कतिपयमा हिटमा आउने तर गर्भ नटिक्ने पनि देखियो,’ डा.घिमिरेले भने,‘यस्तो समस्या देखिनुमा पौष्किक आहारमा कमीले पनि हो, कुनै कुनैमा फोरिकुलर सिस्ट पनि देखियो ।’ 

चिकित्सकको टोलीले तत्काल गर्ने उपचार र निःशुल्क औषधि दिइरहेको छ भने भविष्यमा हुन सक्ने समस्या बारेमा पनि किसानलाई सचेतना जगाइरहेका छन् । अहिले जाँच भइरहेका गाईभैंसीको पछिल्लो अवस्था बुझ्न स्थानीय तहमा रहेका चिकित्सक टोलीले निगरानी गर्नेछन् । 

चितवन दूध उत्पादनमा अग्रणी जिल्ला हो । साना किसानदेखि दर्तावाला फार्म सञ्चालकसम्म ४० हजार किसान दूध उत्पादनमा सक्रिय छन् । तर गाईभैंसीमा बाँझोपन, पटकपटक उल्टिरहने, बेला भइसक्दा पनि बाली नखोज्नेजस्ता समस्याले दूधको उत्पादन लागत बढिरहेको छ । यसको प्रमुख कारणको रूपमा सन्तुलित आहारको उचित व्यवस्थापन नहुनु देखिएको छ । चितवनमा अहिले दैनिक ३ लाख ६५ हजार लिटर दूध उत्पादन भइरहेको छ । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully