चामल र तेलको मूल्यवृद्धि समायोजन गर्न विभागको निर्देशन

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा पनि त्यसको प्रभाव परेको व्यवसायीको दाबी

माघ २४, २०८२

कान्तिपुर संवाददाता

Department's instructions to adjust price hikes for rice and oil

What you should know

काठमाडौँ — पछिल्लो समय चामल र तेलमा मूल्यवृद्धि भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले मूल्य समायोजन गर्न निर्देशन दिएको छ । चुनाव नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको उपभोक्ताको भनाइ छ । 

हरेक १५ दिनमा परिवर्तन हुने नेपाल खुद्रा व्यापार संघको मूल्यसूचीले चामल र तेलको मूल्य बढेको देखाउँछ । संघले हरेक १५ दिनमा एक पटक मूल्यसूची अद्यावधिक गर्दै आएको छ । संघको वेबसाइटमा सार्वजनिक मूल्यसूचीमा त्रिशूली पोखरेली चामल प्रतिकिलो ७५ रुपैयाँ थियो, अहिले प्रतिकिलो ९० रुपैयाँ पुगेको छ ।

भुटेको तोरीको तेल प्रतिलिटर २ सय ७० रहेकामा अहिले ३ सय ५० रुपैयाँ पुगेको संघको मूल्यसूचीमा उल्लेख छ । भटमास तेल प्रतिलिटर १ सय १५ रुपैयाँ रहेकामा अहिले २ सय २० रुपैयाँ र सनफ्लावर तेल लिटरको १ सय ४० रुपैयाँ रहेकामा २४० रुपैयाँ पुगेको छ । 

पछिल्लो एक महिनादेखि चामल र तेलको मूल्यवृद्धि भएको संघका महासचिव अमुलकाजी तुलाधारले स्विकारे । ‘एमआरपीमै मूल्य बढेर आएपछि हामीले के गर्न सक्छौं, एमआरपीअनुसार हामीले खरिदबिक्री गर्ने हो,’ उनले भने, ‘किन मूल्य बढाए भन्ने उत्पादकलाई नै थाहा होला, एमआरपीभन्दा बढीमा बिक्री गरेका छैनौं ।’ 

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तु खाने तेल, ग्यास, चामललगायत अत्यावश्यक वस्तुको स्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन उत्पादकहरूलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खाद्यान्न तथा तेल उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

‘अवाञ्छित मूल्यवृद्धि नियन्त्रण गरी बजारलाई प्रतिस्पर्धी र बजार स्वच्छता कायम गर्न खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरूलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको,’ विज्ञप्तिमा भनिएको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्न विभाग सधैं प्रयत्नशील र प्रतिबद्ध विभागले जनाएको छ । उपभोक्तालाई अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रूपमा अन्य सक्षम निकायको समेत सहयोग लिई संयुक्त अनुगमन गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउने गरी कार्यसम्पादन गरिरहेको विभागले भनेको छ । कानुनविपरीतका कार्य गर्ने केही फर्मलाई कानुनबमोजिम दण्ड जरिवानासमेत गरिने विभागको चेतावनी छ । 

व्यवसायीले भने अन्तर्राष्ट्रिय बजारमै कच्चापदार्थको मूल्यवृद्धि भएकाले नेपाली बजारको मूल्यमा पनि प्रभाव परेको बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले नेपालमा खाने तेलको मूल्य पनि सोही बजारको व्यापारिक प्रवृत्तिअनुसार निर्धारण हुने नेपाल वनस्पति घिउ–तेल उत्पादक संघले जनाएको छ । प्रशोधित खाने तेलको मूल्यवृद्धि स्वदेशी उद्योगको मनोमानी नभई अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावका कारण भएको संघको दाबी छ । 

संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भइरहेको मूल्य उतारचढाव डिजिटल माध्यमबाट पारदर्शी रूपमा हेर्न सकिने अवस्था रहेकाले नेपालका होलसेल व्यापारीले समेत प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय मूल्यको निगरानी गर्दै आएका छन् ।

संघले अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव कसैको नियन्त्रणमा नरहने र यसको पूर्वानुमान गर्नसमेत कठिन हुने उल्लेख गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि र अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै जाँदा कच्चा खाने तेलको लागत बढ्न पुगेको संघको भनाइ छ । यही कारणले स्वदेशी उद्योगहरूले खाने तेलको मूल्यमा आवश्यक समायोजन गरी बिक्री वितरण गर्नुपरेको बताएका छन् । 

आफ्ना सदस्य उद्योगबाट कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएको भन्ने आरोप अस्वीकार गर्दै संघले हाल देखिएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भइरहेको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव भएको प्रस्ट्याएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि संयोगवश निर्वाचनको मुखमा परेकाले यसको संवेदनशीलतालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी सकेसम्म मूल्य समायोजन गरेर बिक्री वितरण गर्ने प्रतिबद्धता संघले जनाएको छ । भारतमै धानको मूल्यवृद्धि भएकाले चामलको मूल्यमा प्रभाव परेको नेपाल चामल, तेल, दाल उत्पादक संघका कार्यसमिति सदस्य भिवोर अग्रवालले बताए । अहिले चुनावका बेला भएकाले चामलको मूल्यवृद्धि हुनु संयोग मात्रै भएको उनको भनाइ छ । 

राधाकृष्ण मिलका प्रबन्ध निर्देशकसमेत रहेका अग्रवालले भारतमै धानको मूल्य प्रतिक्विन्टल १ सयदेखि १ सय ५० भारु वृद्धि भएको दाबी गरे । ‘नेपालमा ७५ प्रतिशत धान आयात गरेर नै चामल उत्पादन गरिन्छ । त्यसैले भारतमा धानको मूल्यवृद्धि हुँदा नेपालमा चामलको मूल्य पनि बढ्छ,’ उनले भने, ‘हाम्रो मिलबाट कृष्णभोग ब्रान्डको चामल उत्पादन हुन्छ । अहिले बोरामा २५ देखि ५० रुपैयाँ बढेको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully