खाने तेलको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारकै प्रभाव : वनस्पति घ्यू तेल उत्पादक संघ

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले प्रशोधित खाने तेलको मूल्यवृद्धि स्वदेशी उद्योगको मनोमानी नभई अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावका कारण भएको दाबी गरेको छ ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Edible oil price hike due to international market impact: Vegetable Ghee Oil Producers Association

What you should know

काठमाडौँ — नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले नेपालमा खाने तेलको मूल्य पनि सोही बजारको व्यापारिक प्रवृत्तिअनुसार निर्धारण हुने जनाएको छ ।

पछिल्ला दिनहरूमा खाने तेलको मूल्यवृद्धि भएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै संघले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संघले प्रशोधित खाने तेलको मूल्यवृद्धि स्वदेशी उद्योगको मनोमानी नभई अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावका कारण भएको दाबी गरेको छ ।

संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा दैनिक रूपमा भइरहेको मूल्य उतारचढाव डिजिटल माध्यमबाट पारदर्शी रूपमा हेर्न सकिने अवस्था रहेकाले नेपालका होलसेल व्यापारीहरूले समेत प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय मूल्यको निगरानी गर्दै आएका छन्।

संघले अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव कसैको नियन्त्रणमा नरहने र यसको पूर्वानुमान गर्नसमेत कठिन हुने उल्लेख गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि र अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै जाँदा कच्चा खाने तेलको लागत बढ्न पुगेको संघको दाबी छ। यही कारणले स्वदेशी उद्योगहरूले खाने तेलको मूल्यमा आवश्यक समायोजन गरी बिक्री वितरण गर्नुपरेको जनाएको छ।

संघले आफ्ना सदस्य उद्योगबाट कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएको भन्ने आरोप अस्वीकार गर्दै हाल देखिएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भइरहेको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव भएको स्पष्ट पारेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि संयोगवश निर्वाचनको मुखमा परेकाले यसको संवेदनशीलतालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी सकेसम्म मूल्य समायोजन गरेर बिक्री वितरण गर्ने प्रतिबद्धता संघले जनाएको छ।

संघका अनुसार हाल संघमा आबद्ध २७ वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले सोयाबिन तेल, सनफ्लावर तेललगायतका खाने तेल नियमित रूपमा उत्पादन गरी आन्तरिक बजार तथा निर्यातमा आपूर्ति गर्दै आएका छन्।

ती उद्योगलाई आवश्यक पर्ने मुख्य कच्चा पदार्थ-क्रुड सोयाबिन तेल अर्जेन्टिना र ब्राजिलबाट, क्रुड सनफ्लावर तेल अर्जेन्टिना र युक्रेनबाट तथा क्रुड पाम आयल इन्डोनेसिया, मलेसियालगायतका मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको संघले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully