नेप्से घट्दा पनि चार कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर

बुधबार नेप्से सम्हालिने प्रयासमा रहे पनि सकारात्मक हुन नसके पनि करिब साढे १ अंकले ऋणात्मक अवस्थामा बन्द भएको हो ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Share prices of four companies rise despite NEPSE decline, triggering circuit breakers

What you should know

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले घटेर बन्द भएको छ । मंगलबार १२.५८ अंकले घटेर बन्द भएको नेप्से बुधबार १.६४ अंकले घटेको हो । मंगलबारको तुलनामा ०.०६ प्रतिशतले घटेपछि बुधबार समग्र नेप्से २ हजार ६ सय ८१.५० अंकमा ओर्लेको छ ।

गत सोमबार नेप्सेमा करिब साढे १ अंकको सुधार रहे पनि मंगलबार दोहोरो अंकले घटेको थियो । बुधबार नेप्से सम्हालिने प्रयासमा रहे पनि सकारात्मक हुन नसके पनि करिब साढे १ अंकले ऋणात्मक अवस्थामा बन्द भएको हो । 

बुधबार कारोबारमा आएका मध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो, १३४ कम्पनीको मूल्य घट्यो । र, बाँकी १३ कम्पनीको स्थिर रह्यो । यस दिन कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेपछि कारोबार नियन्त्रणका लागि सर्किट ब्रेकर लागेको थियो । यीसँगै ११३ कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य बुधबार बढेको छ । तर, १३४ कम्पनीका सेयरधनीले भने नोक्सानी बेहोरेका छन् । 

ती कम्पनीको सेयर मूल्य घटे पनि सेयरधनीको सम्पत्तिको मूल्यमा पनि गिरावट आएको हो । सो दिन एचएलआई लार्ज क्याप फन्डको मूल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले घटेको छ । यससँगै १३४ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । बुधबार १३ वटा कम्पनीको सेयरधनीको सम्पत्तिको मूल्यमा कुनै परिवर्तन भएन । ती कम्पनीको सेयर मूल्य स्थिर रहेपछि लगानीकर्ताको सम्पत्तिमा कुनै परिवर्तन नभएका रूपमा विश्लेषण गरिएको हो । 

बुधबार कुल ८० हजार ४ सय २२ पटकको सेयर किनबेचमा १ करोड ६६ लाख ६२ हजार ६ सय २६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार सेयर बजारमा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गत साता नेप्सेमा पछिल्लो सात महिनायताकै सबैभन्दा धेरै साढे १४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । तर, त्यसपछिका दिनमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि क्रमशः गिरावट आइरहेको छ । यसको अर्थ बजारप्रति लगानीकर्ताको भरोसा कम हुँदै गएको भन्ने हो । अथवा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले अहिले ढुक्क भएर सेयरमा लगानी गर्न सकिरहेका छैनन् भन्ने हो । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामूहिक लगानी कोष र अन्य उपसमूहको परिसूचक घटे । 

बाँकी उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ । सो दिन बैंकिङ उपसमूहको परिसूचक ०.३३, जीवन बिमाको ०.१३, उत्पादन तथा प्रशोधनको ०.५३, लघुवित्तको ०.३०, सामूहिक लगानी कोषको ०.३१ र अन्य उपसमूहको परिसूचक ०.३१ प्रतिशतले घटे । तर विकास बैंक उपसमूहको परिसूचक ०.१०, वित्त कम्पनीको ०.९३, होटल तथा पर्यटनको ०.१८, जलविद्युत्को ०.३८, लगानीको ०.०८, निर्जीवन बिमाको ०.१३ र व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 

नेप्से घटेपछि एकै दिन सेयर बजारको आकार कुल बजार पुँजीकरण ३ अर्बले घटेको छ । मंगलबार ४५ खर्ब ५ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबार ४५ खर्ब २ अर्ब रुपैयाँमा सीमित भएको छ ।

कान्तिपुर

Link copied successfully