पूर्वाधार विस्तार र सेवा सुधार गर्न टेलिकमलाई निर्देशन

कम्पनीको सेवाको गुणस्तर दिनप्रतिदिन खस्कँदै गएकाले ग्राहकको विश्वास र ब्रान्ड भ्यालु जोगाउन व्यवस्थापनले तत्काल कदम चाल्नुपर्नेमा अध्यक्ष भण्डारीले जोड दिए ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Telecom instructed to expand infrastructure and improve services

What you should know

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमको पूर्वाधार विस्तार, नेटवर्क सुधार र परियोजना कार्यान्वयनको गति अत्यन्तै सुस्त रहेको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएका छन् । बिहीबार टेलिकमको २२औँ वार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष भण्डारीले टेलिकमको ‘पर्फर्मेन्स’ लाई लिएर असन्तुष्टि र चिन्ता व्यक्त गरेका हुन् ।

अध्यक्ष भण्डारीले फोरजी विस्तार र नेटवर्क अप्टिमाइजेसनको काम प्रभावकारी नभएको र ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतका परियोजनाको कार्यसम्पादन कमजोर देखिएको पनि बताए । ‘तीन वर्षदेखि फोरजी विस्तारकाे  कुरा सुनिरहेको छु, प्रविधि नै फेज आउट हुने बेला भइसक्यो, अझै रोल आउट गर्न सकेको छैन,’ उनले भने, ‘आरटीडीएफ परियोजनाका लागि हामीले टेलिकमसँग ८ अर्ब ४२ करोड रुपैयाँको सम्झौता गरेका थियौँ । यसमा टेलिकमको पर्फर्मेन्स असाध्यै निराशाजनक  छ । यसले सरकारको रोडम्याप, टेलिकमको कार्यसम्पादन र डिजिटल फाउन्डेसनमै असर गरेको छ ।’ 

उनले नेपालमा एफटीटीएच ग्राहक नै ५१ प्रतिशत भइसकेककाले टेलिकमले आफ्नो बिजनेस मोडल त्यतातिर परिवर्तन गर्नसक्ने सुझाव दिए । ‘प्राधिकरणले सहजिकरण नगरेकाले पूर्वाधार आयात गर्न सकिएन भनियो, हामीले गत माघमै सहजिकरण खुला गर्‍यौँ तर टेलिकमले त्यसयता पनि पूर्वाधार विस्तारका लागि उपकरण आयात गरेको छैन,’ उनले भने, ‘सेवा गुणस्तर खस्किरहेको छ । विपद्का बेला ८/९ सयवटा साइट डाउन भएर नेटवर्क नै उपलब्ध नहुने समस्या देखियो । यसमा तुरुन्तै सुधार नगरे अबका दिनमा कम्पनीको ब्रान्ड भ्यालु, ग्राहकको भरोसा र दूरसञ्चार सेवाकै भविष्य संकटमा पर्न सक्छ ।’ 

समारोहमा कम्पनीका नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको राजस्व संकलन र बजारको प्रतिस्पर्धात्मक अवस्थाबारे विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार टेलिकमको पहुँच ५३ प्रतिशत रहेको बताए । टेलिकम सञ्चालक समितिका कर्मचारी प्रतिनिधि लोकबहादुर कटुवालले प्रविधिको परिवर्तन र ओटीटी सेवाका कारण कम्पनीको राजस्व र नाफामा प्रत्यक्ष असर परेको बताए । उनले मोबाइल सेवा प्रदायकले अर्बौँ नवीकरण शुल्क तिर्नुपर्ने तर इन्टरनेट सेवा प्रदायकहरूले कम शुल्कमा मोबिलिटी सेवा दिएर अस्वस्थ प्रतिस्पर्धा गरिरहेको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराए । 

कार्यक्रमका प्रमुख अतिथि एवं गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको ‘डिजिटल मेरुदण्ड’को संज्ञा दिँदै यसले राष्ट्रिय एकता र आर्थिक क्रियाकलापमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर अत्याधुनिक प्रविधि भित्र्याउन र कम्पनीको दक्ष जनशक्तिको भरपुर उपयोग गरी प्रतिस्पर्धात्मक क्षमता बढाउन सुझाव दिए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीकुमारी बस्नेतले कम्पनीले २२ वर्षको यात्रामा ७४९ स्थानीय निकायमा फोरजी सेवा र अधिकांश सहरहरूमा एफटीटीएच पुर्‍याएर डिजिटल डिभाइड कम गर्न उल्लेख्य प्रगति गरेको बताइन् । उनले आगामी दिनमा टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता सेवाहरूमा विशेष ध्यान दिनुपर्ने र ग्रामीण क्षेत्रमा डिजिटल पूर्वाधारको ढाँचा तयार गर्नुपर्नेमा जोड दिइन् ।

कान्तिपुर

Link copied successfully