बजार मागको करिब ३० प्रतिशतमात्र आन्तरिक उत्पादनबाट परिपुर्ति हुने अनुमान छ भने ७० प्रतिशत नपुग हुनेछ ।
What you should know
काठमाडौँ — यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को लागि ७० प्रतिशत गुलाब भारतबाट आयात हुने भएको छ ।प्रणय दिवस सप्ताहभर ४ लाख ५० हजार स्टिक गुलाब हुने फ्लोरिकल्चर एसोसिएसन नेपालको अनुमान छ ।
उपत्यकामा २ लाख ७० हजार स्टिक र उपत्यका बाहिरका जिल्लामा १ लाख ८० हजार स्टिक गुलाब खपत हुने एसोसिएसनको अनुमान छ । 'यो वर्षको प्रणय दिवस सप्ताहभर ४ लाख ५० हजार स्टिमक गुलाब फूलको माग छ,' एसोसिएसनको विज्ञप्तीमा उल्लेख छ, 'बजार मागको करिब ३० प्रतिशतमात्र आन्तरिक उत्पादनबाट परिपुर्ति हुने अनुमान छ भने बजार मागको करिब ७० प्रतिशत नपुग हुने छ ।'
बजार मागको करिब ३० प्रतिशतमात्र आन्तरिक उत्पादनबाट परिपुर्ति हुने अनुमान छ भने बजार मागको करिब ७० प्रतिशत नपुग हुनेछ ।विभिन्न रोगको जोखिम देखाउँदै सरकारले गुलाब आयातमा 'क्राइटेरिया' राखेकाले औपचारिक रुपमा गुलाब आयात हुन नसकिने एसोसिएसनका महासचिव हिरामणी शर्माले बताए । 'औपचारिक रुपमा आयात हुने अवस्था छैन, व्यापारीले अनौपचारिक तवरबाट गुलाब भित्र्याउन सक्छ,' उनले भने ।
प्रणय दिवस सप्ताहभरमा ५ करोड ६२ लाख रुपैयाँको गुलाबको खरिदबिक्री हुने अनुमान गरिएको एसोसिएसनले जनाएको छ । फूलको गुणस्तर अनुसार प्रति स्टिक उपभोक्ता मुल्य एक सय रुपैयाँ देखि १५० रुपैयाँ हुने अनुमान गरेको शर्माले बताए ।
नेपालमा मौसम अनुकुल मात्रै उत्पादन हुने भएकाले जाडो मौसममा स्थानिय उत्पादन कम हुने गरेको छ । फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा जाडो सिजन नै रहने भएकोले चिसो मौसमका कारण गुलाब फूलको उत्पादनमा कमी हुने एसोसिएनले जनाएको छ ।
मौसम प्रतिकुलताका कारण जाडोयाममा गुलाब कम फूल्ने हुँदा भ्यालेनटाइन डेका लागि गुलाबमा परनिर्भर नै हुनुपर्ने अवस्था रहेको शर्मा बताउँछन् । 'गर्मी याममा गुलाबको फूलमा आत्मनिर्भर छौं तर जाडोयाममा परनिर्भर नै छौं,' उनले भने, 'जाडोयाममा उच्च प्रविधिको ग्रीन हाउमा मात्रै गुलाब फूलाउन सक्छौं । तर महंगो भएका कारण हाम्रोमा त्यस्तो प्रविधि छैन । सरकारले पनि लगानी गर्दैन ।'
कुल बजार मागको ६० प्रतिशत गुलाब उपत्यकामा र ४० प्रतिशत बाँकी शहरमा खपत हुने शर्माले बताए । गत वर्षको प्रेम दिवस सप्ताहमा ३ लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरे पनि ४ लाख १२ हजार स्टिक खपत भएको एसोसिएसनको तथ्यांक छ । उक्त साताभर ४ करोड रुपैयाँको गुलाबको कारोबार भएको थियो ।
गत वर्ष २५ प्रतिशत आन्तरिक उत्पादन र ७५ प्रतिशत आयातित गुलाबले माग पुरा गर्ने अनुमान गरे पनि एसोसिएनले आन्तरिक उत्पादन ८.५० प्रतिशत र आयात ९१.५० प्रतिशत खपत भएको जनाएको थियो । गत वर्ष प्रति स्टिक ८० देखि १२० रुपैयाँमा गुलाबको कारोबार भएको एसोसिएसनले जनाएको छ ।
मुलुकमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन सरदर ८ देखि १२ हजार स्टिक गुलाब फूलको माग रहेको छ । गत वर्षभर करिब ४ लाख २५ हजार स्टिक गुलाबको कारोबार भएको थियो । नेपालमा गुलाब फूलको व्यवसायिक खेती काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक र रुपन्देही हुने गरेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाबको व्यवसायीक खेती बिस्तार हुने क्रममा रहेको एसोसिएसनले जनाएको छ ।
