बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन दबाब दिन हस्ताक्षर अभियान

धादिङ उद्योग वाणिज्य संघले हस्ताक्षर अभियान थालेको हो ।

माघ २०, २०८२

पोषनाथ अधिकारी

Signature campaign to pressure for construction of Budhi Gandaki Hydropower Project

What you should know

धादिङ — गौरवको आयोजनाका रूपमा लिइएको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन दबाब दिने उद्देश्यले धादिङमा हस्ताक्षर अभियान सुरु गरिएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार सुरु भएको धादिङ महोत्सवमा छुट्टै स्टल राखेर उद्योग वाणिज्य संघले हस्ताक्षर अभियान थालेको हो । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेर अभियानको सुरुवात गरे । सरकारलाई तत्काल आयोजना निर्माण अघि बढाउन उनले आग्रहसमेत गरे । निजी क्षेत्र आयोजना अघि बढाउने विषयमा सहकार्य गर्नसमेत तयार रहेको जानकारी सरकारलाई दिएको पनि उनले बताए । 

३ खर्ब ३१ अर्ब अनुमानित लागतमा १२ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसाथ सम्भाव्यता अध्ययन गरिएको बुढीगण्डकी जलविद्युत् आयोजना मुआब्जालगायत महत्त्वपूर्ण काम सकिए पनि निर्माणको चरणमा अघि बढेको छैन । निर्माण मोडालिटीको सन्दर्भमा समय–समयमा फरक–फरक सोच अगाडि सार्दै हाल कम्पनी ऐन, २०६३ अन्तर्गत निर्माण गर्ने सोच बनाइएको यो आयोजनाका लागि प्रभावित क्षेत्रमा ४५ अर्बभन्दा धेरै रकम खर्च गरेर मुआब्जा वितरण गरिसकिएको छ । ठूलो लगानीमा तत्काल निर्माणको काम अघि बढाउने भन्दै तामझाम गरेर साइट अफिस पनि खोलिएको छ । 

बुढीगण्डकी आयोजना नेपालको सबैभन्दा ठूलो जलाशययुक्त बहुउद्देश्यीय आयोजना हो । धादिङ र गोरखाको मात्र नभएर सिंगो नेपालको अर्थतन्त्रमा प्रभाव पार्ने, रोजगारीदेखि सबै खालको व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने भएकाले तत्काल यसको निर्माण बढाउनु आवश्यक देखिएकाले हस्ताक्षर अभियान थालिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताए । 

गोरखा र धादिङको उत्तरी भेगको व्यापारिक मुख्य नाका लामो समयदेखि उठीबास भए पनि आयोजना बन्ने आममानिसको सपनाले मूर्तरूप पाउन नसकेकामा डल्लाकोटीले दुःख व्यक्त गरे । आयोजनाको ढिलाइमा सिर्जित समस्या समाधान गरी आयोजना तत्काल कार्यान्वयनका सम्बन्धित निकायको ध्यानाकर्षण गराउन दबाबस्वरूप महोत्सवमा हस्ताक्षर अभियान सुरु गरिएको उनको भनाइ छ । 

मेला अवलोकन गर्न आएका दर्शकदेखि स्थानीय तहका जनप्रतिनिधिसहित १ हजारभन्दा धेरैले अभियानमा हस्ताक्षर गरिसकेका धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले जनाए । धादिङ र गोरखाका साविकका २३ गाविसका ५० हजार बासिन्दा थातथलो छोड्न सहमत भइसके पनि सरकारले निर्माणको काम अघि नबढाउँदा अन्य विकासबाट पनि वञ्चित छन् । गौरवको आयोजना भनेर थातथलो छोड्न तयार हुँदासमेत सरकारले बीचमा ल्याएर अलपत्र पारेको भन्दै उनीहरू निराश छन् । आयोजना अघि बढाउन संघ सरकारले नजरअन्दाज गरेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले गुनासो गरे । 

यस्ता ठूला आयोजना निर्माणमा सरकारले विलम्ब गर्न नहुने त्रिपुरा गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको भनाइ छ । बुढीगण्डकी सधैं राजनीति गर्नेहरूको भोटको एजेन्डा मात्र बनेको र उद्योग वाणिज्य संघले थालेको यो अभियानले मूर्तरूप लिनेमा हस्ताक्षर अभियानमा सहभागी प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् । आयोजनाको नाममा विकासमा पछि परेको भन्दै तत्काल निर्माण अघि बढाउन सरकारसित त्रिपुरासुन्दरी गाउँपालिका खहरेका यदुनाथ सापकोटाले आग्रहसमेत गरे । 

हस्ताक्षर अभियान महोत्सव अवधिभर २५ माघसम्म चल्नेछ । संकलित हस्ताक्षर नेपाल सरकारलाई हस्तान्तरण गरिने धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले जनाए । 

पोषनाथ

Link copied successfully