क्रिप्टोकरेन्सीदेखि सुन–चाँदी, प्रमुख मुद्रा र हालसम्म सुरक्षित मानिँदै आएका सम्पत्ति सबै एकैसाथ दबाबमा परेका छन् ।
What you should know
काठमाडौँ — विश्व भू–राजनीतिक तनाव र अमेरिकी डलरप्रतिको घट्दो विश्वासका कारण अघिल्लो साता सुनको मूल्य ऐतिहासिक उचाइमा पुग्यो । क्रिप्टोकरेन्सी बजार पनि उत्साहजनक अवस्थामा थियो ।
यो साता भने विश्व वित्तीय बजारमा थप अस्थिरता र चुनौतीका संकेत देखिएका छन् । क्रिप्टोकरेन्सीदेखि सुन–चाँदी, प्रमुख मुद्रा र हालसम्म सुरक्षित मानिँदै आएका सम्पत्ति सबै एकैसाथ दबाबमा परेका छन् ।
बिटकोइन र अन्य डिजिटल मुद्रा केही साताअघिको उच्च बिन्दुबाट तीव्र रूपमा झरेका छन् । सुन र चाँदीले अस्वाभाविक उचाइपछि करेक्सनको संकेत देखाएका छन् भने अमेरिकी डलर पनि नीतिगत अन्योल र विश्वव्यापी शक्ति सन्तुलन परिवर्तनको दबाबमा कमजोर देखिएको छ । यी सबै संकेतले विश्व अर्थतन्त्र संवेदनशील अवस्थामा पुगेको कतिपयले विश्लेषण गर्न थालेका छन् भने केहीले यसलाई स्वाभाविक बजार चक्रका रूपमा अर्थ्याएका छन् ।
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइन गत सातायता ८० हजार डलरभन्दा तल झरेको छ । रोयटर्सका अनुसार यो गिरावटले बिटकोइनलाई गत वर्ष बनेको ऐतिहासिक उच्च बिन्दुबाट झन्डै एकतिहाइ तल पुर्याइदिएको छ । दोस्रो ठूलो डिजिटल मुद्रा इथेरियम पनि पछिल्ला सातामा १० प्रतिशतभन्दा बढीले घटेको छ । जोखिमयुक्त सम्पत्तिप्रति लगानीकर्ताको रुचि घट्नु, डेरिभेटिभ बजारमा प्रशस्त तरलता थुप्रनु र विश्वव्यापी तरलता संकुचनको आशंकाले क्रिप्टो बजारलाई थप दबाबमा पारेको जेपी मोर्गनका प्रमुख जेमी डिमोन बताउँछन् ।
यस गिरावटलाई सामान्य मूल्य उतारचढावका रूपमा मात्र हेर्न नसकिने विज्ञहरूले औंल्याएका छन् । अमेरिकी मौद्रिक र आर्थिक नीतिबारे अनिश्चितता थपिँदै गएको छ । वासिङ्टनमा देखिएको राजनीतिक असहजताले पनि बजारलाई असहज बनाएको छ । क्रिप्टो जस्ता सम्पत्तिका लागि तरलता नै प्राणवायु हो र त्यो खुम्चिँदा मूल्यहरू छिटो पुनःमूल्यांकन हुन्छन्,’ एनेक्स वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री ब्रायन ज्याकब्सनले रोयटर्ससँग भनेका छन् । पछिल्ला महिनामा डिजिटल एसेट फन्डबाट निरन्तर रकम बाहिरिनु र ‘फ्युचर्स’ बजारमा ठूलो मात्रामा पोजिसन बन्द हुनुलाई उनले यही प्रवृत्तिको संकेत मानेका छन् ।
क्रिप्टो बजार कमजोर भइरहँदा यस क्षेत्रका केही प्रमुख खेलाडी परम्परागत सुरक्षित सम्पत्तितर्फ फर्किरहेका छन् । स्टेबल्कोइन जारी गर्ने टेथरले सन् २०२५ को अन्तिम त्रैमासिकमा करिब २७ टन भौतिक सुन आफ्नो रिजर्भमा थपेको स्वीकार गरिसकेको छ । डिजिटल मुद्राको मूल्यमा अस्थिरता बढ्दै जाँदा आफ्नो रिजर्भ बलियो बनाउन सुन जस्ता ठोस सम्पत्तिमा निर्भरता बढेको विश्लेषकहरूको भनाइ छ । यसले डिजिटल र परम्परागत वित्तीय प्रणालीबीचको अन्तरसम्बन्ध पनि झनै स्पष्ट बनाएको छ ।
सुन स्वयं पछिल्ला दिनमा बजारको उतारचढावबाट अछूतो रहन सकेको छैन । सुरक्षित आश्रयका रूपमा तीव्र माग बढेपछि सुनको मूल्य प्रतिऔंस ५ हजार अमेरिकी डलरभन्दा माथिको ऐतिहासिक उच्च बिन्दुमा पुगेको थियो । तर पछिल्ला दिनमा नाफा सुरक्षित गर्ने प्रवृत्ति, ब्याजदरसम्बन्धी अपेक्षामा आएको परिवर्तन र डलरको चालसँगै सुनको मूल्यमा सुधार हुन सक्ने देखिएको छ । औद्योगिक प्रयोग र लगानी दुवैसँग जोडेर हेरिने चाँदीले पनि बलियो गिरावटको संकेत देखाएको छ । यद्यपि दीर्घकालीन रूपमा भूराजनीतिक जोखिम र विश्वका विभिन्न केन्द्रीय बैंकहरूको लगातरको खरिदले सुन–चाँदीलाई तत्काल धेरै तल नझार्ने अनुमान कायमै छ ।
यस सम्पूर्ण उतारचढावको केन्द्रमा अमेरिकी डलर छ । पछिल्ला सातामा डलर सूचकांक केही वर्षकै न्यूनतम तहसम्म झरेको थियो । यद्यपि हाल केही स्थिरता देखिएको छ । ब्याजदर कटौतीको अपेक्षा, अमेरिकी वित्तीय घाटा र नीतिगत अस्पष्टताले डलरलाई दबाबमा राखेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । डलर कमजोर हुँदा कच्चा पदार्थदेखि उदीयमान बजारसम्म यसको प्रभाव व्यापक रूपमा देखिन थालेको छ ।
यसैबीच चीनले डलरकेन्द्रित वित्तीय व्यवस्थाप्रति वैकल्पिक सोच अघि सार्ने प्रयासलाई फेरि दोहोर्याएको छ । राष्ट्रपति सी चिनपिङले आइतबार मात्रै अन्तर्राष्ट्रिय व्यापार र वित्तमा युआनको प्रयोग विस्तार गर्नुपर्ने धारणा पुनः व्यक्त गरे । तथापि युआनको विश्वव्यापी रिजर्भ मुद्रामा अझै पनि सानै हिस्सा छ । तर डलरमा देखिएको अस्थिरताले यस्तो बहसलाई नयाँ ऊर्जा दिएको विश्लेषक बताउँछन् । रोयटर्सका अनुसार हालै युआन डलरको तुलनामा बलियो देखिनुमा चीनको केन्द्रीय बैंकको मार्गनिर्देशनको पनि भूमिका छ ।
क्रिप्टो, बहुमूल्य धातु र मुद्राहरूमा एकसाथ देखिएको दबाबले लगानीकर्ताहरूलाई ‘सुरक्षा’ को परिभाषा पुनः सोच्न बाध्य बनाएको छ । परम्परागत रूपमा जोखिमयुक्त सम्पत्ति घट्दा सुन वा डलरले सन्तुलन दिने अपेक्षा गरिन्थ्यो । तर हालको बजार ट्रेन्डले ती सम्बन्ध विश्वव्यापी तरलता खुम्चिँदै गएको अवस्थामा कमजोर बन्दै गएको देखाएको छ ।
आगामी महिनामा अवस्था अझै अस्थिर रहने सम्भावना रहेको प्रमुख वित्तीय संस्थाहरूको आकलन छ । लगानी बैंक र एसेट म्यानेजरहरूका अनुसार आर्थिक वृद्धिमा सुस्तता, मौद्रिक नीतिको पुनःसंयोजन र भूराजनीतिक पुनःसन्तुलनका कारण बजारमा उतारचढाव जारी रहन सक्छ । क्रिप्टो बजारमा दबाब केही समयपछि कम हुन सक्ने, आर्थिक अनिश्चितता बढे सुनमा पुनः माग फर्किन सक्ने र अमेरिकी नीतिगत संकेतमा डलरको अवस्था निर्भर रहने अनुमान गरिएको छ । ‘बजार अहिले जोखिमलाई सबै क्षेत्रमा पुनःमूल्यांकन गर्ने चरणमा छ,’ गोल्ड्म्यान स्याक्सका प्रमुख अर्थशास्त्री ज्यान हट्जिअस्ले भनेका छन् ।
