शाखामा यस वर्ष पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका किसानले धान बिक्रीका लागि ल्याएका छन् ।
पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखा यस वर्षको धान खरिदको लक्ष्य नजिक पुगेको छ ।
शाखाले सोमबारसम्ममा ९ हजार २ सय १७ क्विन्टल २० किलो धान खरिद गरेको छ । शाखा प्रमुख पंकजकुमार झाले यस वर्ष १० हजार क्विन्टल धान खरिदको कोटा पाएकामा लक्ष्यको नजिक पुगेको बताए ।
शाखाले यस वर्ष पुस ६ देखि धान खरिद सुरु गरेको हो । धान खरिदका लागि यस वर्ष २ सय ७५ किसानलाई टोकन वितरण गरिएकामा तीमध्ये केही किसान नआएकाले प्रतिक्षा सूचीमा राखिएका किसानबाट हाल धान खरिद भइरहेको उनले बताए । अब कम्तीमा एक साता र बढीमा माघ महिनाभित्र धान खरिदको लक्ष्य भेट्टाउने अनुमान झाको छ ।
शाखाले प्रत्येक किसानलाई ४० क्विन्टलका दरले धान खरिदको टोकन वितरण गरेको थियो । शाखामा यस वर्ष पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका किसानले धान बिक्रीका लागि ल्याएका छन् । यस वर्ष पनि शाखाले सोना मन्सुली धान मात्र खरिद गरिरहेको छ । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यस वर्ष प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गरिरहेको छ ।
