निष्काशन तथा बिक्री प्रबन्धक रहेको कुमारी क्यापिटलले सि-आस्बा प्रणालीमा प्रति कित्ता सेयर १०० रुपैयाँ हुनु पर्नेमा प्रति कित्ता सेयर १० रुपैयाँ राखेकाले हटाइएको सूचनामा उल्लेख छ ।
What you should know
काठमाडौँ — सीडीएस एन्ड क्लियरिङ लिमिटेडले 'मेरो सेयर' एपबाट सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सर्वसाधारणहरुको लागि जारी गरिएको प्राथमिक सेयर निष्कासन (आईपीओ) हटाइएको छ । यसअघि आजदेखि सर्वसाधरणलाई आईपीओ जारी गर्ने सूचना राखिएकोमा एक्कासी हटाइएको हो ।
अहिले मेरो सेयर एपमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सूचना देखिदैन । सीडीएससीद्वारा जारी सूचनामा उक्त कम्पनीको सूची हटाइएको जनाएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धक रहेको कुमारी क्यापिटलले सि-आस्बा प्रणालीमा प्रति कित्ता सेयर १०० रुपैयाँ हुनु पर्नेमा प्रति कित्ता सेयर १० रुपैयाँ राखेकाले हटाइएको सूचनामा उल्लेख छ ।
'कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सर्वसाधारणहरुको लागि जारी गरिएको अंकित मुल्य रु १००।- को ५ लाख ७२ हजार ४ सय ३१ कित्ता साधारण सेयर मिती २०८२/१०/१८ गते देखि निष्काशन गरिएकोमा सि-आस्बा प्रणालीमा प्रति कित्ता सेयर १०० रुपैयाँ हुनु पर्नेमा यस क्यापिटलले भुलबस प्रति कित्ता सेयर १० रुपैयाँ भई निष्काशन खुल्ला भएकोमा सफ्टवेयरमा त्रुटि सच्याउनका लागि केहि समयका लागि आवेदन दिन बन्द गरिएको व्यहोरा सम्बन्धीत सबैमा जानकारीको लागि अनुरोध छ,' सूचनामा भनिएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धक रहेको कुमारी क्यापिटल लिमिटेडले आइतबारदेखि सवर्साधरणका लागि आईपीओ जारी गरेको छ। सर्वसाधरणका लागि अंकित मुल्य १०० रुपैयाँको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर जारी गरेको छ । उक्त समस्या समाधान भएसँगै सर्वसाधरणले आईपीओको लागि आवेदन खुला गरिने सूचनामा उल्लेख छ । 'समस्या समाधान भए पश्चात् आवेदन गर्न पुनः सुचारु गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ,' सूचनामा उल्लेख छ ।
