बिहीबार एकैदिन तोलामै २० हजार रुपैयाँले सुनको भाउ बढेको थियो
काठमाडौँ — शुक्रबार सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबार एकैदिन ऐतिहासिक वृद्धि भएको सुनको भाउ शुक्रबार सोही अनुपातमा घटेको हो ।
बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २० हजार ५ सयले बढेको थियो । बिहीबार सुनको भाउ ३ लाख ३९ हजार ३ सय कायम भएको थियो ।
शुक्रबार पनि सुनको भाउ २० हजार ५ सय रुपैयाँले नै घटेको छ । शुक्रबारको भाउ ३ लाख १८ हजार ८ सय रुपैयाँ रहेको छ । बुधबार पनि सुनको भाउ त्यति नै थियो ।
त्यस्तै शुक्रबार चाँदीको भाउ पनि ४ सय ४०ले घटेर तोलाको ७ हजार ६५ पुगेको छ ।
केही दिनयता नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर आम उपभोक्ताको खरिद क्षमतासँगै समग्र अर्थतन्त्रमा परेको छ ।
