२० बैंकले कमाए साढे ३० अर्ब, १० बैंकको नाफा घट्यो, १० को बढ्यो

१० बैंकको नाफा घटे पनि औसतमा वाणिज्य बैंकहरुको नाफा साढे ११ प्रतिशतले वृद्धि

माघ १६, २०८२

यज्ञ बञ्जाडे

20 banks earned 30.5 billion, 10 banks' profits decreased, 10 increased

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ३० अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो चालु आर्थिक वर्षको साउनदेखि पुससम्म बैंकहरूले कमाएको नाफा हो । 

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो करिब साढे ११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यी बैंकहरूको खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ९ वटा बैंकको नाफा घटेको छ । १० वटाको बढेको छ भने एउटा बैंकको नाफा ऋणात्मक छ । यद्यपि औसतमा दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा साढे ११ प्रतिशतले बढेको देखिन्छ ।

अघिल्ला दुई आर्थिक वर्षमा जस्तै यस वर्ष पनि बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम थुपारेरै बसेका छन् । उक्त अवधिमा अपेक्षित रूपमा कर्जा माग बढेको छैन् । २३ भदौको जेनजी आन्दोलन र २४ को प्रदर्शनले भर्खरै सुध्रिन थालेको कर्जाको माग पुनः घटाएको छ । पुराना ऋणीबाट पनि कर्जा असुली हुन सकिरहेको छैन । अझ पछिल्ला महिनामा बैंकहरू तोडफोड, चोरी, लुटपाटमा पर्ने र कर्मचारीमाथि हातपात गरिनेलगायत घटना भइरहेका छन् । यस्तो अवस्थामा पनि औसतमा बैंकहरूको नाफा बढेकै देखिन्छ । तर, विगतका तुलनामा यस वर्ष नाफा घटेको बैंकरहरू बताउँछन् ।

दोस्रो त्रैमासमा बैंकहरूको वित्तीय अवस्था मिश्रित देखिएको वित्तीय क्षेत्रका जानकार भुवन दाहालले जनाए । उनका अनुसार कुनै बैंकको खराब कर्जाबापत नोक्सानी व्यवस्था बढेको र कुनैको घटेको छ । कुनै बैंकको नोक्सानी व्यवस्था बढ्दा पनि नाफा बढेको देखिन्छ । ‘६ महिनामा बैंकपिच्छे फरक–फरक प्रवृत्ति देखिन्छ । कसैको खराब कर्जाबापत नोक्सानी व्यवस्था बढेकाले नाफा घटेको छ । तर कसैले खराब कर्जाबापतको नोक्सानी व्यवस्था बढ्दा पनि नाफा बढेको छ,’ दाहालले भने, ‘यसले बैंकिङ व्यवसाय एउटै दिशामा नभएको पुष्टि हुन्छ ।’ प्रायः बैंकको गैरब्याज आय बढेको देखिन्छ । गैरब्याज आय बढ्नु भनेको बजारमा आर्थिक गतिविधि बढेको संकेत भएको उनको भनाइ छ । 

20 banks earned 30.5 billion, 10 banks' profits decreased, 10 increasedगत वर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा नाफा घट्ने नौ बैंकहरूको नाफा घटेको छ । उनीहरूको नाफा १३ देखि ५० प्रतिशतसम्म घटेको बैंकहरूले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

दोस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंक नोक्सानमा गएको हो । यो बैंकको नाफा गट वर्षको सोही अवधिको तुलनामा २७ करोडले ऋणात्मक छ । गत वर्षको तुलनामा यस वर्ष यो बैंकको खराबकर्जा बापतको नोक्सानी व्यवस्था शतप्रतिशतभन्दा धेरैले बढेपछि यो बैंकको नाफा ऋणात्मक बनेको हो ।

सिटिजन्स बैंकको नाफा ३५ करोडमा सीमित छ । गत वर्षको तुलनामा यो बैंकको नाफा करिब ४७ प्रतिशतले घटेको देखिन्छ । यो बैंकको नोक्सानी व्यवस्था बढेकाले नाफा धेरैले घटेको देखिन्छ ।

नाफा रकमका आधारमा नबिल बैंक सबैभन्दा अग्रस्थानमा छ । नबिलको नाफा सबैभन्दा धेरै चार अर्ब ७५ करोड रुपैयाँ छ । प्रतिशतका आधारमा कुमारी बैंकको नाफा सबैभन्दा धेरै बढेको देखिन्छ । यस बैंकको यसअघिको नोक्सानी व्यवस्था घटेकाले नाफाको वृद्धिदर धेरै देखिएको हो ।

दोस्रो त्रैमासमा धेरै बैंकको नाफा घट्नुको मुख्य कारण खराब कर्जा बढ्नु पनि हो । खराब कर्जा बढेपछि त्यसबापत राख्नुपर्ने नोक्सानी व्यवस्था धेरै भएकाले बैंकहरूको नाफामा असर परेको हो । गत गत पुससम्म बैंकहरूको निष्क्रिय कर्जा औसत ५.०९ प्रतिशत छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो अनुपात ४.५१ प्रतिशत थियो । गएको ५ महिनामा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको छ । यस बैंकको खराब कर्जा ७.९६ प्रतिशत पुगेको छ । प्रभु बैंकको ७.९४, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ७.९० र एनआईसी एसिया बैंकको ७.४७ प्रतिशत खराब कर्जा रहेको देखिन्छ ।

कुमारी बैंकको खराब कर्जा ६.९२, सिटिजन्स बैंक इन्टरनेसनलको ६.८६, प्राइम कमर्सियल बैंकको ६.३८, लक्ष्मी सनराइज बैंकको ५.५० र नेपाल बैंकको ५.३४ प्रतिशत पुगेको छ । ग्लोबल आईएमई बैंकको ४.९१, कृषि विकास बैंकको ४.६५, एनएमबी बैंकको ४.५६, राष्ट्रिय वाणिज्य बैंकको ४.३६, नबिल बैंकको ४.२५ र माछापुच्छ्रे बैंकको ४.२५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

सञ्चालनमा रहेको २० बैंकमध्ये ८ बैंक भने खराब कर्जा घटाउन सफल भएको देखिन्छ । खराब कर्जाबापतको नोक्सानी व्यवस्था पनि बढेको छ । बैंकहरूले गत वर्ष खराब कर्जा बापत २६ अर्ब ४९ करोड नोक्सानी व्यवस्था गरेकामा यस वर्ष यस्तो व्यवस्था २८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

20 banks earned 30.5 billion, 10 banks' profits decreased, 10 increased

यस वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरूको खुद ब्याज आम्दानी मात्रै ४ प्रतिशतले बढेको छ । सो अवधिमा बैंकहरूको कुल ब्याज आय ९५ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आय ९२ अर्ब ५० करोड रुपैयाँ थियो । कुमारी बैंकको खुद ब्याज आय २८ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड पुगेको छ । तर नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र नेपाल बैंकको खुद ब्याज आम्दानी भने घटेको देखिन्छ ।

यसमध्ये एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद ब्याज आय १० प्रतिशतभन्दा धेरैले घटेको छ । अहिलेकै अवस्थामा नाफा भइरहेमा बैंकहरूले लाभांश वितरण गर्दा बैंकहरूले तीन प्रतिशतदेखि ३५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

राष्ट्र बैंकका अनुसार गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ३.९ प्रतिशत (२ खर्ब ८१ अर्ब ८९ करोड) ले बढेको छ । यससँगै कुल निक्षेप ७५ खर्ब ४५ अर्ब ७७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप २.७ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ३२ करोड थपिएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.९ प्रतिशतले बढेको छ ।

गएको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा १.९ प्रतिशत अथवा १ खर्ब २ अर्ब २४ करोडले विस्तार भएको छ । यससँगै कुल कर्जा ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । वार्षिक विन्दुगत आधारमा २०८२ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको हो ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully