निक्षेप संकलन उपकरणमार्फत ६३ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

बजारमा रहेको तरलता दीर्घकालीन प्रकृतिको भएकाले राष्ट्र बैंकले गएको यसअघि २ सातामा ९ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws 20 billion for 63 days through deposit collection device

What you should know

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबार निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् आज उल्लिखित रकम झिक्न थालेको हो ।

बजारमा रहेको तरलता दीर्घकालीन प्रकृतिको भएकाले राष्ट्र बैंकले गएको यसअघि २ सातामा ९ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । ऋणपत्रमार्फत राष्ट्र बैंकले एक वर्षका लागि उक्त रकम झिकेको छ ।

आज भने अर्को उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि २० अर्ब रुपैयाँ झिक्न लागेको हो । पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो । बीचमा गएका दुई साता राष्ट्र बैंक ऋणपत्र मार्फत बजारबाट पैसा झिक्न थालेपछि निक्षेप संकलन औजार जारी भएको थिएन । अब केही समय ऋणपत्र जारी नहुनेभएपछि राष्ट्र बैंकले करिब २ महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully