इराकको श्रमस्वीकृतिमा श्रम मन्त्रालयको विभेद: कम्पनीमा काम गर्नेलाई स्वीकृति, घरेलु श्रमिकलाई निषेध

गत ११ पुसमा मन्त्रिपरिषद् बैठकले इराकमा रेसिडेन्सी कार्ड पाएका नेपालीलाई अभिलेखीकरण गर्न श्रमस्वीकृति दिने निर्णय गरेको थियो 

माघ १४, २०८२

होम कार्की

Labor Ministry's discrimination in Iraq's labor approval: Approval for those working in companies, prohibition for domestic workers

What you should know

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराकमा रहेका नेपालीको श्रमस्वीकृतिमा विभेद गरेको छ । श्रम मन्त्रालयले कम्पनीमा मात्रै काम गर्नेलाई श्रमस्वीकृति दिन थालेको छ । घरेलु श्रमिकलाई श्रमस्वीकृति दिन भने रोकेको छ । 

इराकमा कार्यरत नेपालीलाई बिदामा आई पुनः इराक फर्केर काम गर्न इच्छुकको अभिलेखीकरण गरी श्रमस्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । तर श्रम मन्त्रालयले कम्पनीमा मात्रै काम गर्ने श्रमिकलाई श्रमस्वीकृति दिन थालेको छ, घरेलु श्रमिकलाई दिएको छैन ।

गत ११ पुसमा मन्त्रिपरिषद् बैठकले इराकमा रेसिडेन्सी कार्ड पाएका नेपालीलाई अभिलेखीकरण गर्न श्रमस्वीकृति दिने निर्णय गरेको थियो । ‘आधिकारिक भिसा (रेसिडेन्सी कार्ड) प्राप्त गरेका नागरिकले नेपाल आएका बखत उक्त रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रमस्वीकृति प्रदान गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा लेखिएको छ । 

गैरआवासीय नेपाली संघ, इराकले पनि वैदेशिक रोजगार विभागबाट विभेद गरेको जनाएको छ । ‘हामीले जो नेपाली इराकमा छन्, जसले नियमित काम गरिरहेका छन्, उनीहरू सबैलाई श्रमस्वीकृति दिनुपर्छ भन्ने माग राखेका थियौं । मन्त्रिपरिषद्को निर्णयमा पनि रेसिडेन्सी कार्ड प्राप्त गरेकालाई श्रमस्वीकृति दिने स्पष्ट निर्णय छ,’ गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘विभागले नेपाली नागरिकमाथि नै विभेद गर्ने काम गरेको छ । मन्त्रिपरिषद्को निर्णयमा नभएको विभेद विभागले कार्यान्वयनमा देखाएको छ ।’

इराकमा रहेका नेपालीका तर्फबाट पटकपटक श्रम मन्त्रालय र विभागलाई यसबारे ध्यानाकर्षण जनाए पनि सुनुवाइ नभएको श्रेष्ठले बताए । ‘मैले श्रमस्वीकृति पाएँ । म कम्पनीमा काम गर्छु । तर, मैसँग आवेदन दिएको अर्काे नेपालीले श्रमस्वीकृति पाएन । यसले हामीलाई हर्षित बनाएको छैन,’ उनले भने, ‘जब घरमा काम गर्ने श्रमिकले सबै सुविधा पाएको छ, ऊ आफूलाई सुरक्षित महसुस गरी त्यही घरमा काम गर्न जान तयार छ भने सरकारले यसलाई सहजीकरण गर्नुपर्छ ।’

एनआरएनए इराकका अनुसार ३० हजार नेपाली कार्यरत छन् । त्यसको ८० प्रतिशत नेपाली महिला घरेलु श्रमिकको हैसियतमा काम गर्छन् । श्रम मन्त्रालयले एक वर्षअगाडि नै भिजिट भिसा लिई वैदेशिक रोजगारीमा गएकालाई श्रमस्वीकृतिको दायरामा ल्याउन स्वीकृति दिने भन्दै वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि संशोधन गरेको थियो । कार्यविधिले २०२४ सेप्टेम्बर ३० सम्म भिजिट भिसामा गएकालाई दूतावास र विभागबाट श्रमस्वीकृति दिने व्यवस्था गरेको थियो । यसले घरेलु श्रमिकलाई समेत सम्बोधन गरेको थियो ।

श्रम मन्त्रालयले पारिवारिक पुनर्मिलन, श्रमिकको कल्याणकारी सुविधा र सामाजिक सुरक्षाको दायराभित्र ल्याउन श्रमस्वीकृति प्रदान गर्न कार्यविधि संशोधन गरेको जनाएको थियो । इराक र इराकको स्वशासित राज्य कुर्दिस्तानमा प्रतिष्ठान (कम्पनी) मा काम गर्नेलाई श्रमस्वीकृति दिइएको वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले बताए । ‘घरेलु श्रमिकको विषयमा अझै स्पष्ट बोलेको छैन । यसमा हामीले मन्त्रालयसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘घरेलु श्रमिकलाई श्रमस्वीकृति दिन बनाइएको निर्देशकामा इराक छैन । यसलाई संशोधन गरी इराक थप्नुपर्ने देखिएको छ ।’

 इराकको स्वशासित राज्य कुर्दिस्तानको सुलेमानीमा एक इराकीको घरमा १२ वर्षदेखि काम गरिरहेकी ताप्लेजुङकी ३५ वर्षीया मीना मगरले नेपालमा सेटिङ मिलाउन नसक्दा आफू घर नफर्केको बताइन् । ‘बिदा लिएर नेपाल फर्कियो भने फेरि इराक आउन मिल्दैन, सेटिङ मिलाउनुपर्छ । सेटिङ मिल्छ भन्ने ग्यारेन्टी छैन । श्रमस्वीकृति लिएर फर्किन पाउने भए एक महिनाको छुट्टीमा घर जान हुन्थ्यो ।’ अहिले उनको मासिक तलब ७ सय डलर पुगेको छ । रोजगारदाताले बाआमा भेटेर आऊ भन्दा पनि आफू नेपाल फर्किन नपाएको उनको गुनासो छ ।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully