कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजना : एक सातामा सुब्बाकुना सवस्टेसनमा विद्युत् चार्ज गर्ने तयारी

विद्युत् लाइन विस्तारका लागि कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ । सुर्खेतको सुब्बाकुनाको एउटा टावर ५० मिटर अग्लो र अरू सबै टावर लगभग ३० मिटर उचाइका निर्माण गरिएको छ ।

माघ १४, २०८२

तृप्ति शाही

Kohalpur-Surkhet 132 KV Transmission Project: Preparations to charge electricity at Subbakuna substation in a week

What you should know

वीरेन्द्रनगर — कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । अबको एक सातामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा रहेको सब–स्टेसनमा विद्युत् चार्ज गर्ने तयारी भइरहेको छ ।

अबको एक साताभित्र कोहलपुर ग्रिडबाट सुर्खेत सवस्टेसनमा विद्युत् लाइन छोड्ने योजना रहेको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए । लाइन छोडेर जाँच गरिने उनले बताए । 

कठिन भू–भाग हर्रे खण्डमा तार तान्ने काम सम्पन्न भएसँगै सब–स्टेसनमा विद्युत् चार्ज गर्ने तयारी थालिएको हो । कोहलपुरदेखि सुब्बाकुनासम्मको ५२ किलोमिटर दूरीमा पोल तथा तारमा रुखका हाँगा–विंगा छोए/नछोएको सुनिश्चित गर्न पेट्रोलिङ कार्यसमेत सुरु गरिएको छ । 

बहुप्रतीक्षित आयोजनाको छिन्चु–भेरी नदी पुलतर्फ जम्पर जडानको काम भइरहेको छ । यसअघि ड्रोनले तार तान्ने क्रममा हर्रे क्षेत्रमा अप्ठ्यारो भूगोल र बाक्लो हुस्सुका कारण काममा केही कठिनाइ भोग्नुपरेको चौधरीले बताए । राष्ट्रिय निकुञ्जको क्षेत्र भएका कारण तार तान्दा थप रुखहरू काट्नुपर्ने र काटेका रुखहरू आयोजनाले नै लिनुपर्ने निकुञ्जको नियम भएकाले ड्रोनबाट तार तान्ने कार्य गरिएको थियो ।

विद्युत् लाइन विस्तारका लागि कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ । सुर्खेतको सुब्बाकुनाको एउटा टावर ५० मिटर अग्लो र अरू सबै टावर लगभग ३० मिटर उचाइका निर्माण गरिएको छ । 

झण्डै चार दशक पुरानो लाइन विस्थापित गरी उच्च गुणस्तरको विद्युत् सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा पुर्‍याउने र प्रसारण लाइनमार्फत माथिल्लो क्षेत्रमा बन्ने आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने उद्देश्यका साथ १३२ केभी आयोजना अघि बढेको थियो ।

यो प्रसारण लाइन सुर्खेत हुँदै, दैलेख, जुम्ला र कालीकोटसम्म पुग्नेछ । पछिल्लो चरणमा सुर्खेतदेखि दैलेखको चुप्रासम्मको यो प्रसारण लाइनको पनि काम भइरहेको छ । चुप्रामा सवस्टेसन निर्माण र सुर्खेतदेखि चुप्राको बीचमा टावर निर्माणको काम भइरहेको हो । 

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको टावर निर्माण तार तान्ने जिम्मा पाएको थियो । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार गर्न १३ हजार रुख काट्नुपरेको थियो । दुई वर्षभित्र काम सक्ने गरी २०७६ असार २२ मा ६५ करोड रुपैयाँ निर्माण कम्पनीसँग सम्झौता भएको थियो । २०७८ असार २३ भित्र सकिनुपर्ने आयोजनाको काम चार बर्ष ढिला भएको हो । 

राष्ट्रिय निकुञ्जभित्रका रुख कटानको प्रक्रियामा ढिलाइ, बारम्बार स्थानीयको अवरोध लगायतका कारणले आयोजना लम्बिएको आयोजनाका प्रमुख चौधरी बताउँछन् । आयोजना बन्ने अधिकांश भूभाग निकुञ्जको परेकाले निकुञ्जको नियमअनुसार प्रक्रिया पूरा गरी १३ हजार बढी रुखहरू काट्न मात्र तीन वर्षभन्दा बढी समय लागेको थियो । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र वडा ४ को बानियाँभार, सुर्खेतको सुब्बाकुनाका स्थानीयबाट जग्गा भोगाधिकारका विषयमा पटक/पटक अवरोध सिर्जना भएको थियो । बानियाभारका स्थानीयले अदालतमै रिट हालेका थिए । अदालतले आयोजनाको पक्षमा हुने गरी आदेश गरेपछि सबैभन्दा पछि यो क्षेत्रमा तीनवटा टावर निर्माणको काम अघि बढेको थियो । 

प्रसारण लाइन सुचारु भएपछि कर्णालीमा विद्युत आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको छ ।

३७ वर्ष पहिले २०४५ सालमा बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलो पटक ३३ केभी लाइन विस्तार गरिएको थियो । उक्त लाइन साना सिटी पोलमार्फत जंगलको बीचमा भएकाले पानी पर्दा, हावा चल्दा यो लाइन बारम्बार अवरुद्ध हुन्छ । साथै भोल्टेज लो पनि हुने गरेको छ । यो विद्युतले कर्णालीबासीलाई दुःख दिइरहेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully