काठमाडौंमा खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

आन्तरिक उडानतर्फ, तुम्लिङटार, भरतपुर, सुर्खेत र राजविराज विमानस्थलमा मौसम अनुकूल नभएको कारण उडान सञ्चालन हुन सकेका छैनन्।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Domestic and international flights affected due to bad weather in Kathmandu

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय उडानका विमानहरू अवतरणका लागि सिमराको आकाशमा होल्डमा राखिएका छन्। दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान हाल सिमराको आकाशमा होल्डमा रहेको छ।

काठमाडौं  काठमाडौं र देशका अन्य केही विमानस्थलमा खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रभाव परेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतका अनुसार, काठमाडौंको दृश्यता (भिजिबिलिटी) हाल १६ सय मिटर रहेको छ।

दिल्लीबाट आएको एयर इन्डियाको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि पुनः दिल्ली फर्किएको छ। उक्त विमानको लागि कम्तीमा २२ सय मिटर भिजिबिलिटी आवश्यक थियो। ठूला विमानहरूलाई सामान्यतया २२ सय मिटर वा सो भन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ।

अन्तर्राष्ट्रिय उडानका विमानहरू अवतरणका लागि सिमराको आकाशमा होल्डमा राखिएका छन्। दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान हाल सिमराको आकाशमा होल्डमा रहेको छ। मौसमको कारण ठूला विमानहरू अवतरणका लागि अनुकुल मौशमको पर्खाइमा छन्।

आन्तरिक उडानतर्फ, तुम्लिङटार, भरतपुर, सुर्खेत र राजविराज विमानस्थलमा मौसम अनुकूल नभएको कारण उडान सञ्चालन हुन सकेका छैनन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार, अन्य आन्तरिक विमानस्थलमा उडान सामान्य रूपमा भइरहेको छ।

आन्तरिक उडानहरू भने आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रूल) नियम अनुसार सञ्चालन भइरहेका छन्। विमानहरू अवतरणका लागि विभिन्न प्रकारका अप्रोच प्रयोग गर्छन्। 

भीओआर/डीएमी अप्रोच दृश्यतामा आधारित अप्रोच हो। जसमा अवतरण गर्दा कम्तीमा जहाजको प्रकार अनुसार तोकिएको आवश्यक भिजिबिलिटी पुग्नु पर्छ। मौसम खराब हुँदा यस अप्रोचमा अवतरण गर्न कठिनाइ हुन्छ।

आरएनपी/एआर अप्रोच आधुनिक नेभिगेसन प्रणाली प्रयोग गरी सुरक्षित रूपमा अवतरण गर्ने अप्रोच हो। यसले खराब मौसममा पनि विमानलाई सुरक्षित अवतरण गर्न मद्दत गर्दछ। भूउपग्रहमा आधारित यो अप्रोच टर्किस, कतार, कोरियन लगायतका केही वायुसेवाले मात्रै गर्छन। 

त्रिभुवन विमानस्थलमा दैनिक रूपमा करिब १०० अन्तर्राष्ट्रिय र २०० आन्तरिक उडानहरू भइरहेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully