मन्त्री इङ्नामले सहकारीका बचतकर्ताहरू सडकमा आउनुपर्ने अवस्था सिर्जना भएकाले अब उनीहरूको पीडाप्रति गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए।
काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले विगतमा सरकारी निकायहरूले सहकारीमाथि कडा नियमन गर्न नसक्दा बचतकर्ताको अर्बौँ रुपैयाँ डुबेको बताउँदै त्यसको जिम्मेवारी राज्यले नै लिनुपर्ने बताएका छन्।
राष्ट्रिय सहकारी प्राधिकरणको वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री इङ्नामले सहकारी क्षेत्रमा देखिएको बेथितिका लागि कमजोर राज्य संयन्त्र मुख्य कारण रहेको उल्लेख गरे। उनले सहकारी सञ्चालकहरूले राज्य संयन्त्रमै पहुँच पुर्याएर बदमासी गरेकाले आज सहकारी क्षेत्रमा चरम अव्यवस्था देखिएको समेत बताए ।
उनले भने, 'सहकारीमा धेरै बचतकर्ता पीडित हुन पुगेका छन्। बचतकर्ता मात्रै होइन, ऋणीहरू पनि आज रोइरहेका छन्। विभिन्न अभिलेखले ऋणीहरू पनि डुबिरहेको देखाउँछन्। ऋण कसलाई गएको हो, कसले डिपोजिट गरेको हो भन्ने स्पष्ट देखिँदैन। ऋणीको पहिचान खुल्दैन। केही ऋणीहरूले पैसा जम्मा गरिसकेको भए पनि त्यसको अभिलेखसमेत कतै उल्लेख भएको पाइँदैन।'
मन्त्री इङ्नामले सहकारीका बचतकर्ताहरू सडकमा आउनुपर्ने अवस्था सिर्जना भएकाले अब उनीहरूको पीडाप्रति गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए। उनले विगतका कमजोरीबाट पाठ सिक्दै सरकारले अहिले सहकारीमाथि कडा नियमन थालेको र सहकारीको सम्पूर्ण कारोबार राज्यको निगरानीमा ल्याइसकेको जानकारी दिए। उनले भने, 'डुबिसकेका बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइसकिएको छ।'
मन्त्री इङ्नामले सहकारीको रकम लिएर फरार भएका सञ्चालकहरूलाई यथाशक्य नेपाल ल्याएर बचतकर्ताको रकम फिर्ता गराउनेतर्फ सरकार गम्भीर रूपमा लागिरहेको पनि दाबी गरे।
