अर्थमन्त्रीले नेपाललाई एफएटिएफको ग्रे लिस्टबाट हटाउन दिइएका सुधारका कदमहरू प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा सबै निकायहरू चनाखो हुनुपर्ने बताए ।
What you should know
काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गर्नुपर्ने बताएका छन् । सम्पत्ति शुद्धीकरण विभागले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय संस्थाहरू एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) र एपीजी (एसिया प्यासिफिक ग्रुप) का प्रतिनिधिहरूले नेपालको प्रगतिप्रति चासो व्यक्त गरिरहेको पृष्ठभूमिमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । उनले सम्पत्ति शुद्धीकरणको विषयमा नेपालले गरेको प्रगति अझै पनि कमजोर रहेकाले ग्रे लिस्टबाट बाहिर आउन कठिन रहेको बताए । खनालले भने, ‘हामीले सम्पत्ति शुद्धीकरण गरेवापतको अपराधमा कसैलाई मुद्दा मामिला गर्यौँ । सम्पत्ति शुद्धीकरणसँग गाँसिएको आर्थिक अपराध छ भने त्यो दुवै अपराधबाट भएको सम्पत्ति तत्काल जफत गर्नुपर्छ र त्यसलाई राष्ट्रले ग्रहण गर्नुपर्छ । त्यस्तो किसिमको सम्पत्ति सरकारले बिक्री गर्नुपर्छ । यो विषयमा हाम्रो प्रगति कमजोर छ ।’
अर्थमन्त्री खनालले सम्पत्ति शुद्धीकरणमा सरकारले गरेको कारबाहीको विवरणसहित प्रमाण लिएर जान सकेमात्र प्रगति हुने बताउँदै सम्पत्ति शुद्धीकरणको अपराध गर्नेहरूलाई सरकारले कारबाही गर्नैपर्ने बताए । उनले नेपाललाई एफएटिएफको ग्रे लिस्टबाट हटाउन दिइएका सुधारका कदमहरू प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा सबै निकायहरू चनाखो हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकिङ क्षेत्र सम्पत्ति शुद्धीकरणको जोखिम छिटो र बढी हुने बताउँदै यसले अर्थतन्त्रमा उल्लेख्य असर पार्ने बताए । उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी तेस्रो राष्ट्रिय मूल्यांकन सुरु भएको बताउँदै भने, ‘जोखिमहरू यथार्थपरक रूपमा पहिचान र मूल्यांकन गर्न सकिएमा यसले हाम्रो प्रणालीलाई मजबुत बनाउनेछ ।’
