नारायणी नदीमा नयाँ पुलको जग राख्ने काम धमाधम

पुल निर्माणको ठेक्का लिएको तुँदी कन्सट्रक्सन प्रालिले पुलको बिचमा रहने दुई वटा पिल्लर राख्न जग खन्ने काम सुरु गरेको हो।

माघ १३, २०८२

नारायण शर्मा

Work in full swing to lay foundation for new bridge over Narayani River

नवलपरासी — गैंडाकोट र नारायणगढ बजारको बिचमा रहेको नारायणी नदी वारपार गर्न नयाँ पुल निर्माणको काम अघि बढेको छ ।

पुल निर्माणको ठेक्का लिएको तुँदी कन्सट्रक्सन प्रालिले पुलको बिचमा रहने दुई वटा पिल्लर राख्न जग खन्ने काम सुरु गरेको हो।

एक सातादेखि पुलको भारबहन क्षमता जाँच गर्ने मेसिन (ओसेल) राख्ने काम सुरु भएको छ । चीनबाट ल्याइएको उक्त मेसिन राख्न आएका चिनियाँ प्राविधिकहरुले नै मेसिन जडान गर्नेछन् । 

सडक डिभिजन भरतपुरका इन्जिजियर अर्जुन घिमिरेका अनुसार नारायणीमा भूँइको सतहदेखि ५० मिटर मूनिबाट दुई खम्बाको जग उठाइने छ । एक सातादेखि त्यसैको काम भैरहेको हो । आउँदो असार अगावै बिचका दुई खम्बा ठड्याउन जमिनमूनि जग राख्ने काम सक्ने लक्ष्य रहेको इन्जिनयिर घिमिरेले बताए।

नारायणी नदीको बिचमा ठड्याइने दुई खम्बामा बाँधिएका तार दुई किनारमा उठाइने 'एबुटमेन्ट वाल'मा लगेर बाँधिने छ । यस्तो प्रविधिको पुल नेपालमा पहिलो पटक निर्माण हुन लागेको हो ।

आगामी ३ वर्षमा यो पुल निर्माण गर्ने लक्ष्य रहेको छ । १ अर्ब ६८ करोडको लागतमा निर्माण सुरु गरिएको 'केबल स्टेड ब्रिज' १३ दशमलव ६५ मिटर फराकिलो हुने छ । हाल आउजाउ गर्ने पुल रहेको स्थानबाट पूर्वतर्फ नयाँ पुल निर्माण भइरहेको हो। 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully