सोमबार ८८ कम्पनीका सेयरधनीले कमाउादा १६५ कम्पनीकाले गुमाए, ७ कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य स्थिर
What you should know
काठमाडौँ — अघिल्लो दिन ५७ अंकले बढेको नेप्से सोमबार ३.०७ अंकले घट्यो । नेप्से घटे पनि सोमबार कारोबार रकममा भने बढोत्तरी आएको छ । सो दिन १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबारको कारोबार पछिल्लो सात महिनायताकै उच्च हो । यसअघि १५ साउन २०८२ मा सेयर बजारमा १६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।
विश्लेषकहरूले लामो समयसम्म उच्च अंकले बढ्न नसकेको नेप्से आइतबार ५७ अंकले बढेकाले सोमबार ‘करेक्सन’ भएको तर्क राखेका छन् । नेप्से घटे पनि कारोबार रकम उल्लेख्य रूपमा बढ्नुले सोमबार नेप्सेमा ‘करेक्सन’ भएको पुष्टि हुने उनीहरूको भनाइ छ । सेयर बजारमा केही समय लगातार वृद्धि/गिरावट भएपछि लगत्तै बजारले तय गर्ने विपरीत दिशालाई प्राविधिक रूपमा ‘करेक्सन’ भनिन्छ ।
सोमबार सेयर बजारमा १ लाख ४७ हजार ६ सय ७६ पटक कारोबार हुँदा ३ करोड ६२ लाख ६४ हजार ८ सय ७३ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार अघिल्लो दिनको तुलनामा कारोबार रकम, कारोबार सेयर संख्या र कारोबार पटक पनि बढेको हो ।
यससँगै सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३.०७ अंकले घटेको छ । आइतबारको तुलनामा शून्य दशमलव ११ प्रतिशतले नेप्से घटेपछि २७ सय ६९ दशमलव ०९ बिन्दुमा ओर्लिएको छ । सो दिन कारोबारमा आएकामध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्यो, १६५ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष मात्रै बढ्यो । बाँकी उपसमूहरू घट्यो । होटल तथा पर्यटन १२७.६८, जलविद्युत् ११.०४, उत्पादन तथा प्रशोधन ३८.९४ र सामूहिक लगानी कोष ०.१६ प्रतिशतले बढेको छ । घट्नेमा जीवन बिमा ७१.८६, लघुवित्त २५.५४, निर्जीवन बिमा १९.३३ अंकले घटेको नेप्सेको तथ्यांक छ ।
सोमबार एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी विकास बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । यी कम्पनीका लगानीकर्ताहरूको सम्पत्तिको मूल्य बढेको छ । तर, नेसनल हाइड्रो पावर कम्पनीको ३.१२, कालिका पावर कम्पनीको २.९६, ज्योति विकास बैंकको २.९५, सानिमा ग्रोथ फन्डको २.८० र गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको २.७८ प्रतिशतले सेयर मूल्य घटेपछि लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सोमबार हिमालयन पावर पार्टनर, आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल नेपाल र बन्दीपुर केबलकार एन्ड टुरिजमलगायत रहे । यस्तै, हिमालयन पावर पार्टनरको ६५ करोड ९३ लाख, आँखुखोला जलविद्युत्को ५६ करोड १६ लाख, मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख, एसवाई प्यानल नेपालको ५० करोड १७ लाख र बन्दीपुर केबलकार एन्ड टुरिजमको ४० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्से घटेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ५ अर्ब १५ करोड ५८ लाख रुपैयाँले घटेको छ । आइतबार ४६ खर्ब ५४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबार ४६ खर्ब ४९ अर्ब ३८ करोड २२ लाख रुपैयाँमा कायम भएको छ ।
कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।
