निगमका अध्यक्ष विक्रम राईको राजीनामा स्वीकृति अन्योल, सरकार मौन

निगमका महानिर्देशक अमृतमान श्रेष्ठसहित अधिकांश निर्देशकहरूले सरकारबाट औपचारिक जानकारी नआएको बताएका छन् । नेपाल बाहिर रहेका राईले आफ्नो नाम र तस्बिर अझै निगमको वेबसाइटमा अझै नहटाएकोप्रति आश्चर्य व्यक्त गरे ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Confusion over acceptance of NCC Chairman Bikram Rai's resignation, government silent

What you should know

काठमाडौँ — जेन–जी सरकारले 'छोटो कार्यकालका' लागि नेपाल वायुसेवा निगमको अध्यक्ष तोकेका विक्रम राईको राजीनामा एक महिनासम्म पनि स्वीकृत नहुँदा निगममा अन्योल उत्पन्न भएको छ ।

राईले ०८२ पुस १३ मा पर्यटनमन्त्री अनिलकुमार सिन्हालाई राजीनामा बुझाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत 'निगम छाडेको' घोषणा सार्वजनिक गरेका थिए । निगमको अध्यक्ष राई हुन् वा होइनन् भन्ने विषयमा सबैभन्दा धेरै अन्योल नेपाल वायुसेवा निगममै देखिएको छ।

Confusion over acceptance of NCC Chairman Bikram Rai's resignation, government silentनिगमका महानिर्देशक अमृतमान श्रेष्ठसहित अधिकांश निर्देशकहरूले सरकारबाट औपचारिक जानकारी नआएको बताएका छन्। नेपाल बाहिर रहेका राईले आफ्नो नाम र तस्बिर अझै निगमको वेबसाइटमा अझै नहटाएकोप्रति आश्चर्य व्यक्त गरे। यस विषयमा प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा 'बोल्न नमिल्ने' जवाफ प्राप्त भयो । राईलाई २०८२ कात्तिक २७ गते नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले उनलाई अध्यक्षमा नियुक्त गरेकी थिइन् ।

यसअघि उनी निगमको सञ्चालक समितिको सदस्य मात्र थिए । तत्कालीन पर्यटन मन्त्री सुदन किराती ले राईलाई तीन वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

यसअघि तत्कालीन पर्यटन मन्त्री प्रेम आले ले नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वाला का भतिजा विक्रम बिसी लाई चार वर्षका लागि निगमको बोर्ड सदस्यमा नियुक्त गरेका थिए। तर बिसीले एक वर्षमै पद छाडेपछि किरातीको कार्यकालमा मानभवन ललितपुरमा कलेज सञ्चालन गरिरहेका राईलाई सञ्चालक समितिको तीन वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरिएको थियो।

राईले एक महिनाअघि (पूस १३ मा)पर्यटन मन्त्रीसमेत रहेका अनिल कुमार सिन्हा समक्ष राजीनामा बुझाएको बताए। तर हालसम्म पनि राजीनामा स्वीकृत नभएकोप्रति उनले असन्तुष्टि जनाएका छन्।

'मैले अनिल सिन्हालाई राजीनामा बुझाएर हिँडेको हुँ। मेरो कार्यकाल चैतसम्म भए पनि अब निगममा फर्किँदैन,' राईले मंगलबार साँझ कान्तिपुरसँग भने, 'मैले राजीनामा बुझाएको एक महिना भइसक्यो, तर अझै स्वीकृत नभएको सुन्नु सुखद पक्ष होइन ।'

पर्यटनमन्त्री अनिल कुमार सिन्हासँग राईको राजीनामा स्वीकृत भएको हो वा होइन भन्ने विषयमा जानकारी लिन खोज्दा प्रतिक्रिया आएन। यसअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री जगदीश खरेल ले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा पनि यस विषयमा जानकारी दिन इन्कार गरेका थिए । यसअघि राईले फेसबुकमा सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्रीबाट कार्तिक १२ गते एक महिनाका लागि विश्वासका साथ अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गरेका छन्।

उक्त कार्यकाल सकिएपछि पनि इजरायलस्थित कम्पनीसँग निगमका इन्जिनसम्बन्धी विषय टुंगोमा नपुगेकाले अध्यक्षको जिम्मेवारी निरन्तरता दिएको उनले बताएका थिए । उनका अनुसार रातदिनको प्रयासपछि इजरायली कम्पनीसँग एमओयू (सम्झौता पत्र) भएको र प्रधानमन्त्रीबाट निर्देशित कार्य सम्पन्न भएको थियो । त्यो काम सकिएपछि उनले 'स्वास्थ्य समस्याका कारण' प्रधानमन्त्रीको सहमति तथा स्वीकृतिमा पर्यटन मन्त्रालयमार्फत राजीनामा पेस गरेको लेखेका थिए ।

यस विषयमा प्रधानमन्त्रीका एक सल्लाहकारले एकिन जानकारी नभएको प्रतिक्रिया दिए । इजरायलमा निगमको न्यारोबडीको इन्जिन झन्डै ३ अर्बमा मर्मत भएको छ ।

यस विषयमा अख्तियार दुरुपयोग आयोगले अनुसन्धान गरिरहेका बेला निगमको अध्यक्षको राजीनामा स्वीकृतिको विषय प्रस्ट नहुँदा निगमको नेतृत्व र दैनिक निर्णय प्रक्रियामा थप अन्योल बढ्ने देखिएको त्यहाँका अधिकारीहरूले भने । दुइटा वाइडबडी र दुइटा न्यारोबडी विमान उडाउने निगममा अध्यक्ष सहित छ जना सञ्चालक समिति सदस्य हुन्छन् ।

अहिले निगमको बोर्ड कामचलाउ छ । महाप्रबन्धक नभएकाले बोर्ड सदस्य अमृतमान श्रेष्ठलाई अर्को व्यवस्था नहुँदा सम्मलाई महाप्रबन्धक तोकिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully