नेपाली बजारमा चाँदीको कृत्रिम अभाव

अहिले व्यवसायीहरूले नै चाँदी बेच्न चाहेका छैनन् । यसको कृत्रिम अभाव सिर्जना गरिएको हो ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Artificial shortage of silver in the Nepali market

काठमाडौँ — नेपाली बजारमा चाँदीको अभाव भएको छ । केही दिनयता बजारमा चाँदीको माग बढिरहेका बेला स्टक सकिएको भन्दै व्यवसायीहरूले चाँदी बिक्री गरेका छैनन् ।

बैंकले चाँदी बिक्री नगरेको र आफूहरूसँग भएको स्टक सकिएकाले मागअनुसार चाँदी बिक्री गर्न नसकिएको सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बजारमा चाँदी अभाव भएको छ । किनकि बैंकले आफूसँग चाँदी नभएको भन्दै बेचेका छैनन्,’ शाक्यले भने, ‘बैंकले नबेचेपछि बजारमा चाँदी अभाव भएको हो ।’

तर बजारमा व्यवसायीहरूले नै चाँदीको कृत्रिमा अभाव गराइरहेको स्रोतले बताएको छ । अहिले व्यवसायीहरूले नै चाँदी बेच्न चाहेका छैनन् । यसको कृत्रिम अभाव सिर्जना गरिएको हो । 

बैंकहरूमा चाँदी अभाव रहेको व्यवसायीको भनाइमा पनि सत्यता छैन । किनकि चाँदी व्यवसायी आफैंले पनि आयात गर्न पाउँछन् । यसकारण बैंकले दिएनन् भनेर आरोप लगाउन नपाइने जानकारहरू बताउँछन् ।

सुन भने नेपालमा वाणिज्य बैंकहरूले मात्र आयात गर्न पाउँछन् । हाल बैंकहरूसँग १३० किलो सुन स्टकमा छ । व्यवसायीहरूबाट खरिदका लागि माग नै नआएकाले सुन बिक्री नभएको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

‘बैंकहरूसँग सुन मौज्दात पर्याप्त छ,’ कोइरालाले भने, ‘सुन बिक्री नभएपछि बैंकहरूले कोटाको सुन पनि आयात नगरेको अवस्था छ ।’ 

कान्तिपुर

Link copied successfully