निजी क्षेत्रलाई आक्रमणमुक्त बनाउन प्रतिबद्धता माग

यस्ता गतिविधि नियन्त्रण गरी निजी क्षेत्रले भोग्दै आएको पीडालाई कम गर्न राजनीतिक दल र नागरिकले दृढ प्रतिबद्धता जनाउनुपर्नेमा उनीहरूको जोड छ ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Demand commitment to make the private sector attack-free

What you should know

विराटनगर — आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने निजी क्षेत्र कुनै प्रकारको आक्रमणको निसाना हुन नहुने उद्योगी व्यवसायीले बताएका छन् । यस्ता गतिविधि नियन्त्रण गरी निजी क्षेत्रले भोग्दै आएको पीडालाई कम गर्न राजनीतिक दल र नागरिकले दृढ प्रतिबद्धता जनाउनुपर्नेमा उनीहरूको जोड छ ।

उद्योग संगठन मोरङ र राष्ट्रिय व्यावसायिक पहलको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा ‘निजी क्षेत्र प्रश्न, पहिचान र प्रतिबद्धता’ विषयक बृहत् अन्तर्क्रियात्मक कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले हरेक आन्दोलनमा निजी क्षेत्रका उद्योग, व्यापारिक केन्द्र, पसल, गोदाम र घर नियोजित रूपमा तोडफोड र आगजनीको सिकार बन्ने गरेकाले उद्योगीहरू आफ्नै देशमा लगानी गर्न डराउनुपर्ने अवस्थामा पुगेको बताए ।

‘सामाजिक सञ्जालमार्फत निजी क्षेत्रविरुद्ध फैलाइने मिथ्या, भ्रामक र उत्तेजक सूचनाले लगानी गर्नु पाप हो कि, नाफा कमाउनु अपराध हो कि भन्ने भाष्य निर्माण हुँदै गएको छ,’ उनले भने ।

निजी क्षेत्रले दिगो, स्थिर र पूर्वानुमान गर्न सकिने नीतिको अपेक्षा गरे तापनि मुलुकमा सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्ति, अनियमितता, सुशासनको अभाव, ढिलासुस्ती र भ्रष्टाचार जस्ता समस्याले निजी क्षेत्रलाई बारम्बार अवरोध पारिरहेको अध्यक्ष राठीको भनाइ छ । उद्योग व्यवसाय सञ्चालन गर्दा आइपर्ने यस्ता बाधा अड्चन फुकाउन निजी क्षेत्रले बाध्यतावश राजनीतिक शक्ति केन्द्रहरूको सामीप्य खोज्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । ‘यस्तो अवस्था आउनु न निजी क्षेत्रका लागि स्वस्थ हो, न त लोकतान्त्रिक राज्य व्यवस्थाका लागि नै उचित हो,’ उनले भने । 

आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्र आजका दिनमा गहिरो पीडा, त्रास र अनिश्चितताको भुमरीमा फसेको राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले उल्लेख गरे । राज्यको कानुन र नीतिको पालना गरी कर तिरेर आर्थिक विकासमा योगदान दिँदा पनि समाजको दृष्टिकोण यस क्षेत्रप्रति अझै सकारात्मक बन्न नसकेको उनको भनाइ छ । निजी क्षेत्रविरुद्ध फैलिँदै गएको नकारात्मक भाष्यले उद्योग व्यवसायमैत्री वातावरण दिन प्रतिदिन कमजोर बनाउँदै लगेको उनले जनाए । 

उद्योगी व्यवसायीको मनोबल र आत्मविश्वास खस्किँदै गएकाले नयाँ लगानी गर्ने वातावरण धूमिल बन्दै गएकाले यस्तो अवस्थामा निजी क्षेत्रको वास्तविक चुनौतीलाई तथ्य र तर्कका आधारमा राष्ट्रिय तहमा स्पष्ट र बुलन्द रूपमा प्रस्तुत गर्नु सबैको दायित्व भएको उनको भनाइ छ । 

उद्योग र व्यापार कुनै वर्ग, व्यक्ति वा समूहको नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको राष्ट्रिय व्यावसायिक पहलका केन्द्रीय संयोजक किशोर प्रधानले बताए । लाखौं नेपालीलाई रोजगारी दिने, राज्यलाई कर र राजस्वमार्फत आर्थिक सशक्तता प्रदान गर्ने, पुँजी निर्माण र लगानीमार्फत विकासको ढोका खोल्ने क्षेत्र यही भएकाले यस क्षेत्रको अमूल्य योगदानलाई सबैले अन्तरात्माबाट समीक्षा गर्नुपर्ने उनको धारणा छ ।

निजी क्षेत्र अत्यन्त मिहिनेती, परिश्रमी तथा जोखिम लिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको पछिल्लो समय गिरेको मनोबल उकास्न सरकारसहित सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully