अझै सञ्चालनमा आएन तातोपानी नाका

आगलागीका कारण चीनतर्फको भन्सार प्रणाली (सिस्टम) सञ्चालनमा नआएकाले नाका खोल्न नसकिएको चिनियाँ पक्षले जानकारी दिएको छ ।

माघ ९, २०८२

अनिश तिवारी

Tatopani checkpoint not yet operational

What you should know

सिन्धुपाल्चोक — चीनको न्यालम–खासा सीमावर्ती वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएपनि तातोपानी नाका अझैपूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

आगलागीका कारण चीनतर्फको भन्सार प्रणाली (सिस्टम) सञ्चालनमा नआएकाले नाका खोल्न नसकिएको चिनियाँ पक्षले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार न्यालम, खासा र छोबिन क्षेत्रमा लागेको आगलागीपछि नाका सञ्चालन असम्भव भएको चिनियाँ प्रशासनले नेपाललाई अवगत गराउँदै आएको छ । खासा क्षेत्रमा विद्युत् ट्रान्समिटर पड्किएर जंगलमा आगो लागेको थियो । घना जंगलमा फैलिएको डढेलोपछि खासा र रमिते आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

गत आइतबार रातिदेखि लागेको डढेलो शनिबार मात्र नियन्त्रणमा आए पनि नाका सर्वसाधारणका लागि अझै बन्द छ । 'बुधबार एक दिन आंशिक रूपमा खुलेर फेरि बन्द भएको नाका हालसम्म खुलेको छैन,' इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगबहादुर राईले भने, 'केही खाली कन्टेनर चीनतर्फ जाने र ३–४ कन्टेनर सामान नेपाल भित्रिने भइरहेको छ, तर यो नियमित छैन ।'

नाका बन्दीका कारण चीनतर्फ जानुपर्ने र नेपालतर्फ लिपिङ आउनुपर्ने झन्डै चार सय कन्टेनर सीमा क्षेत्रकै सडकमा अलपत्र परेका छन् । यसले आयातकर्ता र व्यवसायी थप समस्यामा परेका छन् । यसअघि १५ जेठ २०७६ देखि आयात र २०७८ वैशाख १८ देखि निर्यात खुला भएको तातोपानी नाका ७२ को भूकम्पपछि आठ वर्ष पाँच महिनापछि मात्र सर्वसाधारणका लागि खुलाइएको थियो ।

नाका बन्द भएपछि सीमाक्षेत्र सुनसान बनेको प्रहरी निरीक्षक राईले बताए । आगलागीका कारण चीनतर्फको भन्सार प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म नियमित आवतजावत कहिलेदेखि खुल्ने भन्ने टुंगो लाग्न नसक्ने जनाइएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले नाका ठप्प हुँदा करोडौँ रुपैयाँ बराबरका सामग्री बोकेका कन्टेनर  रोकिँदा व्यवसायी थप हतास बनेको बताए । 'खासा, न्यालमसहित सीमा क्षेत्रका सडकमा झन्डै चार सय कन्टेनर अलपत्र छन्,' उनले भने । बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडक खण्ड गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने भएकाले कन्टेनर आवतजावत थप जोखिमपूर्ण बनेको छ । मितेरी पुलपारि बाढीले क्षति पुर्‍याएका क्वारेन्टाइन, पार्किङस्थल, खासा जोड्ने सडक र सुरुङ पुनर्निर्माणकै क्रममा छन् । यसैबीच चीनले दैनिक ७ देखि १२ कन्टेनर मात्र छाड्न थालेपछि व्यवसायी झन् समस्यामा परेका छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully