तीन दिन बढ्यो नेप्से, एक दिन घट्यो, सातामा ७३ अंकको वृद्धि

आइतबार ३१.१२, मंगलबार ४२.२६, बिहीबार ९.२३ अंकले नेप्से बढ्दा बुधबार ९.४३ अंकले घट्यो 

माघ ९, २०८२

कान्तिपुर संवाददाता

NEPSE rose for three days, fell for one day, up 73 points in a week

What you should know

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार नेप्से परिसूचक ९.२३ अंकले बढेको छ । अघिल्ला चार कारोबार दिन लगातार बढेको नेप्से बुधबार करिब साढे ९ अंकले घटेको थियो ।

तर, बिहीबार भने नेप्से पुरानै लयमा फर्किंदै करिब सवा ९ अंकले बढेको हो । बुधबारको तुलनामा ०.३४ प्रतिशतले बढेर बिहीबार नेप्से २ हजार ७ सय १४.६१ अंकमा उक्लेर बन्द भएको छ ।

एक दिन सार्वजनिक बिदाका कारण यो साता चार दिन मात्र सेयर बजार खुल्यो । जसमा तीन दिन नेप्से बढ्यो, दुई दिन घट्यो । तीन दिनमा नेप्से ८२.६१ अंकले बढ्यो भने एक दिन ९.४३ अंकले घट्यो । यसरी समग्र सातामा नेप्से ७३.१८ अंकले बढेको देखिन्छ । 

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ गत मंगलबार देशभर उम्मेदवारी दर्ता गरेका छन् । यो उत्साहले तोकिएको समयमै निर्वाचन हुने निश्चितप्रायः छ । निर्वाचन प्रक्रिया अघि बढेसँगै मुलुकमा निर्वाचन हुने निश्चित भएपछि लगानीकर्तामा उत्साह देखिएको ब्रोकर बताउँछन् । निर्वाचन सकिएपछि नयाँ सरकार आउने र राजनीतिक स्थिरता हुने आसमा लगानीकर्ताले सेयरमा लगानी बढाएको उनीहरूको भनाइ छ । 

नेपालको सेयर बजारमा हरेक निर्वाचनको समयमा सेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिँदै आएको छ । सोही क्रममा आसन्न निर्वाचनको सकारात्मक प्रभाव पनि सेयर बजारमा देखिन थालेको जानकारबताउँछन् । बिहीबार पनि त्यसकै निरन्तरता भएको उनीहरूको भनाइ छ । 

बिहीबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य बढ्यो, ८८ कम्पनीको मूल्य घट्यो । र, बाँकी १० कम्पनीको स्थिर रह्यो । सो दिन १६२ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । ती कम्पनीको सेयर मूल्य बढेपछि सेयरधनीको सम्पत्तिको मूल्य बढेको हो ।

एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य १०/१० प्रतिशत बढेपछि कारोबार नियन्त्रणका लागि नेप्सेले सर्किट ब्रेकर लगाएको थियो । तर बिहीबार ८८ कम्पनीका सेयरधनीले भने नोक्सानी बेहोरेका छन् । यीमध्ये कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.२५ प्रतिशतले घटेको छ । योसहित ८८ वटा कम्पनीको सेयर मूल्य घटेपछि सेयरधनीको सम्पत्तिको मूल्य घटेको हो । 

बिहीबार कुल ९४ हजार १ सय ७४ पटकको सेयर किनबेचमा १ करोड ९० लाख ७५ हजार ७ सय ५६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, सामूहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक घटे । बाँकी सबैको परिसूचक बढे । यसअनुसार बैंकिङ उपसमूहको परिसूचक ०.३१, सामूहिक लगानी कोषको ०.०७ र व्यापार उपसमूहको परिसूचक १.१६ प्रतिशतले घट्यो ।

तर, विकास बैंक उपसमूहको परिसूचक १.५१, वित्त कम्पनीको २.३८, होटेल तथा पर्यटनको १.२६, जलविद्युत्को ०.८६, लगानीको ०.०९, जीवन बिमाको ०.०२, उत्पादन तथा प्रशोधनको १.३५, लघुवित्तको ०.३६, निर्जीवन बिमाको ०.२३ र अन्यको ८.९० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 

नेप्से बढेसँगै बिहीबार सेयर बजारको आकार कुल बजार पुँजीकरण १५ अर्बले बढेको छ । यसअनुसार गत बुधबार ४५ खर्ब ४२ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४५ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ ।

कान्तिपुर

Link copied successfully