किमाथांका नाकाबाट पहिलोपटक चीन पुग्यो संखुवासभाको रुद्राक्ष

एक साताअघि मकालु एग्रो एण्ड ट्रेड ले ४ हजार ५ सय केजी रुद्राक्ष किमाथांका हुँदै चीन पठाएको हो।

माघ ८, २०८२

दीपेन्द्र शाक्य

Rudraksha from Sankhuwasabha reaches China for the first time through Kimathanka border crossing

What you should know

संखुवासभा — भोजपुर र संखुवासभामा फलेको रुद्राक्ष पहिलो पटक किमाथांका नाका हुँदै चीन निर्यात भएको छ।

एक साताअघि मकालु एग्रो एण्ड ट्रेड ले ४ हजार ५ सय केजी रुद्राक्ष किमाथांका हुँदै चीन पठाएको हो।

यसअघि काठमाडाैं हुँदै वा भारतको मार्ग प्रयोग गरेर चीन पठाइँदै आएको रुद्राक्ष अब भने सिधै उत्तरी नाका किमाथांका हुँदै तिब्बत र बेइजिङसम्म पुग्न थालेको छ। यसले समय, लागत र रोजगारी तीनै क्षेत्रमा सकारात्मक प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।

जहाजमार्फत रुद्राक्ष लैजाँदा धेरै महँगो पर्ने गरेको छ। काठमाडाै‌ंबाट चीन पठाउँदा प्रतिकेजी ७ सय रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको मकालु एग्रो एण्ड ट्रेडका सञ्चालक राजकुमार घिमिरे बताउँछन्। 'भारत हुँदै लैजाँदा भने प्रतिकेजी करिब १ सय ५० रुपैयाँ खर्च भए पनि ढुवानीमा कम्तीमा दुई महिना लाग्ने समस्या छ,' उनले भने ।

तर किमाथांका नाका प्रयोग गर्दा प्रतिकेजी करिब ३ सय रुपैयाँमै ढुवानी सम्भव भएको छ। समयको हिसाबले पनि किमाथांका हुँदै पठाइएको रुद्राक्ष निकै छिटो चिन पुग्ने गरेको उनले बताए।

व्यवसायीका अनुसार नेपालबाट वार्षिक करिब १ लाख ५० हजार केजी रुद्राक्ष चीन र ४ लाख ५० हजार केजी भारत निर्यात हुने गरेको छ। चीनमा विशेषगरी ५ मुखे रुद्राक्षको माग उच्च रहेको छ। घिमिरेका अनुसार तिब्बत हुँदै बेइजिङसम्म रुद्राक्ष पुग्छ। किमाथांका नाकाबाट पठाउँदा समय छोटिन्छ, लागत घट्छ र स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुन्छ।

रुद्राक्ष निकासी गर्दा डिभिजन वन कार्यालयबाट छुट पुर्जी लिनु पर्ने व्यवस्था छ। प्रदेश शुल्कस्वरूप ५ प्रतिशत तिर्नुपर्ने हुन्छ भने आन्तरिक राजस्व कार्यालयमा मूल्यको साढे २ प्रतिशत राजस्व बुझाउनुपर्छ।

यसैगरी, किमाथांका भन्सार कार्यालयले निकासी गरेबापत प्रतिकिलो १ रुपैयाँ राजस्व लिने गरेको छ। वाणिज्य विभागले जारी गरेको आयात–निर्यात अनुमति पत्र र भन्सार विभागबाट प्राप्त एक्जिम कोड अनिवार्य भएपछि मात्रै ढुवानी गर्न पाइन्छ। 'यातायातको हिसाबले पनि किमाथांका नाका निकै प्रभावकारी देखिएको छ,' उनले भने, 'तातोपानी नाकाबाट सिगाछे पुग्न कम्तीमा ११ घण्टा लाग्ने भए पनि किमाथांकाबाट भने जम्मा ४ घण्टामै तिब्बतको चेकपोष्ट चांगा पुग्न सकिन्छ।'

किमाथांका नाका पूर्णरूपमा सञ्चालनमा आएको खण्डमा संखुवासभा मात्र होइन, समग्र पूर्वी पहाडी जिल्लाका कृषिजन्य र जडीबुटीजन्य उत्पादनले चिनको बजारमा सहज पहुँच पाउने उनले बताए। रुद्राक्ष निर्यातको यो सुरुवातले नेपाल–चीन व्यापारमा नयाँ सम्भावनाको ढोका खोलेको उनले दाबी गरे ।

दीपेन्द्र

Link copied successfully