पाल्पाको गल्धा सामाजिक उद्यमी महिला सहकारीले गतवर्ष पनि २० हजार किलो युरोप पठाएको थियो
पाल्पा — रासायनिक मल र विषादी प्रयोग नगरी पाल्पाको निस्दी गाउँपालिका, गल्धाका किसानले उत्पादन गरेको रैथाने सेतो सिमी यस वर्ष पनि युरोप निर्यातको तयारी गरेका छन् । निस्दी गाउँपालिका–५, गल्धा ढुंगानाबेंसीस्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत सेतो सिमी युरोप निकासी गर्न लागिएको हो ।
यस वर्ष नेदरल्यान्ड्समा ४० हजार किलोको माग आएको गल्धा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष अममाया थापा मश्राङ्गीले बताइन् । सहकारीले गतवर्ष पनि झन्डै २० हजार किलो सेतो सिमी युरोप पठाएको थियो । ‘हामीलाई उत्पादन गर्न सके हुन्छ भन्नुभएको छ,’ अध्यक्ष थापाले भनिन्, ‘तर उत्पादन नै हाम्रो बढ्न सकेको छैन । हुन त गतवर्षको तुलनामा बढेको छ । बिचौलिया व्यापारीसँग प्रतिस्पर्धा गर्न समस्या छ ।’
पछिल्लो तीन सातायता गल्धा, ढुंगानाबेंसीका महिलालाई सेतो सिमीको ग्रेडिङ गर्न आतुर नै छ । दैनिक २० जना महिला ग्रेडिङका लागि खटिनुपरेको छ । एकै पटक धेरै जनाले काम गर्न नमिल्ने भएकाले थोरै कामदार लगाएको हो । सहकारीले ४५ जनालाई रोजगारका लागि लिस्टिङ गरेको छ ।
विदेश निर्यात गर्ने संस्था अकिस्टा नेपालसँगको साझेदारी छ । हेफर नेपालमार्फत अकिस्टाले अर्गानिक प्रमाणित गरेर सिमी युरोप पठाउने गरेको छ । सिमी बाहिर निकासी भएसँगै यहाँका किसानले भाउसमेत राम्रो पाएका छन् ।
विगतमा १ सय ३० मा बिक्री गर्ने किसानले अहिले १ सय ७५ रुपैयाँ किलोमा सेतो सिमी सहकारीले खरिद गरेको व्यवस्थापक डिलमाया सारुले बताइन् । उनका अनुसार किसानलाई बिचौलियाका कारण पहिला सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता थियो ।
‘विदेश पठाउन थालेपछि अहिले किसानलाई धेरै सहज भएको छ,’ सारुले भनिन्, ‘सहकारीमार्फत भएको कारोबारको पैसासमेत डुब्दैन भन्नेमा सबै ढुक्क भएकाले पनि सहज भएको छ ।’ ग्रेडिङ र प्याकेजिङ गरेर पहिलो चरणमा २० हजार केजी पठाउने तयारी छ ।
विषादी नहाली गरिएको सिमी खेतीले वातावरणमैत्री र दिगो कृषि प्रणालीका लागि सहयोग पुग्ने यसका जानकार बताउँछन् । सिमीलाई संकलन गर्ने र त्यसपछि ग्रेडिङ गर्ने हतारो रहेको स्थानीय ढुंगानाबेंसीकी कर्मवती सुनारी मगरको भनाइ छ । परम्परागत अर्गानिक तरिकाले खेती गर्दै आएकाले अहिले यहाँको सिमी अर्गानिक प्रमाणित भएको उनलाई पनि थाहा छ । सेतो सिमी बिक्री गरेर किसानले २० हजारदेखि २ लाखसम्म कमाउने गरेको उनले जनाइन् ।
सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर टाढा पर्ने यस गाउँमा उत्पादन भएको कृषि उपज सेतो सिमीको बजारीकरण सुनिश्चित भएपछि किसान खुसी भएको स्थानीय नारायणी ढुंगानाले बताइन् । एउटै गाउँबाट मात्र ७२ लाख बराबरको सिमी खरिद गरेको व्यवस्थापक सारुले बताइन् । गल्धाका कठैडाँडा, पटाङ्सार, गेझा, धनुवास, गाबुडाँडा, खर्कडाँडा, बहपुर, बेलौजी, धाचुर, कोटथरलगायत किसानले सिमी लगाउने गरेको सहकारीले जनाएको छ ।
