निक्षेप संकलन उपकरणमार्फत आज २० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् आज उल्लिखित रकम झिक्न थालेको हो ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws Rs 20 billion today through deposit collection device

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बुधबार) २० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् आज उल्लिखित रकम झिक्न थालेको हो ।

बजारमा रहेको तरलता दिर्घकालिन प्रकृतिको भएकाले राष्ट्र बैंकले गएको २ सातामा ९ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । ऋणपत्रमार्फत राष्ट्र बैंकले एक वर्षका लागि उक्त रकम झिकेको हो ।

गत आइतबार र आज भने अर्को उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि २० अर्ब रुपैयाँ झिक्न लागेको हो । पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो ।

बिचमा गएका दुई साता राष्ट्र बैंक ऋणपत्र मार्फत बजारबाट पैसा झिक्न थालेपछि निक्षेप संकलन औजार जारी भएको थिएन । अब केही समय ऋणपत्र जारी नहुनेभएपछि राष्ट्र बैंकले करिब २ महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully