६ महिनामा घरजग्गा कारोबारबाट झन्डै २२ अर्ब रुपैयाँ राजस्व

मालपोत कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालयले सेवा कर, रजिस्ट्रेसन दस्तुर, डोर सुविधा शुल्क, पुँजीगत लाभकर, विलम्ब शुल्कलगायत विभिन्न शीर्षकमा राजस्व उठाउँदै आएको विभागले जनाएको छ ।

माघ ७, २०८२

सीमा तामाङ

Nearly Rs 22 billion in revenue from real estate transactions in 6 months

काठमाडौँ — सरकारले घरजग्गा कारोबारबाट चालु आर्थिक वर्षको साउन–पुससम्म २१ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ राजस्व उठाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो पछिल्ला तीन वर्षमा सबैभन्दा बढी हो । सरकारले सोही अवधिमा आर्थिक वर्ष २०७९/०८० मा १८ अर्ब २४ करोड, आर्थिक वर्ष २०८०/०८१ मा १८ अर्ब २७ करोड र आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ८३ करोड राजस्व उठाएको थियो । 

मालपोत कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालयले सेवा कर, रजिस्ट्रेसन दस्तुर, डोर सुविधा शुल्क, पुँजीगत लाभकर, विलम्ब शुल्कलगायत विभिन्न शीर्षकमा राजस्व उठाउँदै आएको विभागले जनाएको छ । यसमध्ये पुँजीगत लाभकरबापत उठेको राजस्व मात्रै संघ सरकारलाई जान्छ भने बाँकी प्रदेश र पालिकाहरूमा बाँडफाँट हुने गरेको विभागले बताएको छ ।

विभागअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी पुसमा राजस्व उठेको छ । पुसमा मात्रै ५ अर्ब १७ करोड रुपैयाँ राजस्व उठाएको छ । सबैभन्दा कम कात्तिकमा २ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । असोजमा २ अर्ब ७५ करोड ८५ लाख, भदौमा ३ अर्ब १४ करोड ७ लाख, साउनमा ३ अर्ब २८ करोड र मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व उठेको थियो । 

चालु आर्थिक वर्षको साउनमा १ लाख ४ हजार २१८ पटक घरजग्गा कारोबार भएकामा भदौमा १ लाख २ हजार ९७१ पटक कारोबार भएको थियो । तर २३ भदौको जेन–जी आन्दोलनपछि कारोबारमा उल्लेख्य कमी आएको थियो । २४ भदौको प्रदर्शनमा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालयमा क्षति पुगेको थियो । मुलुकमा अन्तरिम सरकार निर्माण भए पनि लगानीकर्ताहरूमा उत्साह नहुँदा कात्तिक र असोजमा घरजग्गाका कारोबारले गति लिन सकेन । 

अर्कोतिर पालिकाहरूले घरजग्गा वर्गीकरण नगरेकाले कित्ताकाटसमेत रोकिएको थियो । त्यसकारण पनि घरजग्गा कारोबार घटेको व्यवसायीहरू बताउँछन् । असोज र कात्तिकमा घरजग्गा कारोबार घटे पनि मंसिर र पुसमा बढेको तथ्यांकले देखाएको छ । असोजमा ७९ हजार ७ सय ३६, कात्तिकमा ९३ हजार ६ सय ६९, मंसिरमा १ लाख ५८ हजार ८ सय ९९ र पुसमा १ लाख ६२ हजार ८ सय ७७ पटक घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ ।

पालिकाले वर्गीकरण नगरेकाले साउन सुरु भएयता घटेको कित्ताकाटले मंसिर लागेपछि बढ्न थालेको छ । साउनमा ४२ हजार ५ सय ६३, भदौमा ३७ हजार ५ सय ५३, असोजमा ३५ हजार ३ सय ४९ र कात्तिकमा ४२ हजार १२ पटक कित्ताकाट भएको थियो । पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा साउन सुरु भएयता कित्ताकाट रोकिएको थियो । सरकारले कात्तिक २४ मा भू–उपयोग नियमावली, २०८२ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको थियो । त्यसकारण पनि मंसिरयता कित्ताकाट ह्वात्तै बढेको छ । मंसिरमा १ लाख १२ हजार ६ सय १८ र पुसमा १ लाख ३३ हजार ५ सय ६८ पटक कित्ताकाट भएको थियो । 

कित्ताकाट खुलेकै कारण मंसिरयता घरजग्गा कारोबार चलायमान भएको नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरेले बताए । ‘साउनदेखि कात्तिक तेस्रो सातासम्म कित्ताकाट बन्द थियो,’ उनले भने, ‘असारसम्म गरिसकेको कित्ताकाट कात्तिकसम्म खरिद–बिक्री भयो, कात्तिक अन्तिममा खुलेसँगै त्यसयता घरजग्गा कारोबार र राजस्वमा त्यसको प्रभाव परेको हो ।’ पालिकाहरूले वर्गीकरण नगरेकै कारण आगामी साउनदेखि फेरि पालिकाहरूमा कित्ताकाट बन्द हुने अवस्था आउने भएकाले दीर्घकालीन रूपमा खुलाउन घिमिरेको आग्रह छ ।

पालिकाले समयमै वर्गीकरण नगरिदिँदा कित्ताकाट खुलाउनकै लागि सरकारले तेस्रो पटक भूउपयोग नियमावली, २०७९ संशोधन गरिसकेको छ । भदौ २०८१ देखि नै ६ सय २० पालिकामा कित्ताकाटलगायत जग्गा प्रशासनसम्बन्धी काम रोकिएको थियो । त्यतिबेला १ सय ३३ पालिकाले मात्रै पूर्ण जग्गा वर्गीकरण गरेका थिए । लगत्तै २७ भदौ २०८१ मा भूउपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई असार २०८२ सम्म समय दिइएको थियो ।

जेठ २०७९ मा नियमावली जारी हुँदा ६ महिनाभित्र चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने थियो । मंसिर २०७९ सम्म केही पालिकाले मात्रै कृषि क्षेत्र छुट्याएका थिए । मंसिर २०७९ पछि जग्गालाई १० वटै क्षेत्रमा वर्गीकरण गर्नुपर्ने थियो । तर धेरैजसो पालिकाले जग्गाको वर्गीकरण नगरेपछि ३२ साउन २०८० मा नियमावली संशोधन गर्दै एक वर्षभित्र चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरिएको थियो ।

नियमावलीको पहिलो संशोधनबाट आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा एक रोपनीसम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरिएको थियो । यसअघि आवासीय जग्गा १ सय ३० वर्ग मिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैनथ्यो । कृषि जमिनको सन्दर्भमा उपत्यकामा ५ सय वर्गमिटर, तराई र भित्री मधेशमा ६ सय ७५ वर्गमिटर क्षेत्रफलभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो । 

सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवासीय र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड छन् । व्यावसायिक आवासका लागि स्थानीय सडकको मापदण्ड पूरा भएको हुनुपर्ने नियमावलीमा छ । पहिलो संशोधनबाट एक वर्ष अवधि थप गर्दा पनि पालिकाले वर्गीकरण नगरेपछि मन्त्रालयले २०८१ भदौमा दोस्रो पटक नियमावली संशोधन गरेको थियो ।

दुई पटक नियमावली संशोधन गरेर समय थप्दासमेत ५ सय पालिकाले जग्गा वर्गीकरण गरेका छैनन् । सरकारले भू–उपयोग नियमावली, २०८२ तेस्रो पटक संशोधन गरेसँगै कात्तिक २४ देखि कित्ताकाट खुलेको छ । सरकारले आगामी असारभित्र वर्गीकरणका लागि समय दिएको छ ।

भूउपयोग नियमावली जारी भएको साढे तीन वर्ष बित्दासम्म मुलुकका ७ सय ५३ मध्ये २ सय ६१ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । बाँकी ४ सय ९२ पालिकाले जग्गाको पूर्ण वर्गीकरण गरेका छैनन् । गत साउनमा २ सय ५३ ले मात्रै वर्गीकरण गरेका थिए भने ५ सय पालिकाले वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको थियो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully