सेयर बजारमा उत्साह, ४२.२६ अंकको वृद्धि

सेयर बजारमा उत्साह आएपछि मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Stock market up 42.26 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसुचक ४२.२६ अंकले बढेको छ । मंगलबार १ दशमलव ५८ प्रतिशतले बढेपछि २७ सय ४१ दशमलव ८१ अंकले बढेको हो ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार देशभर उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन प्रक्रिया अघि बढेसँगै मुलुकमा निर्वाचन हुने निश्चित भएपछि लगानीकर्तामा उत्साह देखिएको जानकारहरू बताउँछन् । यही कारण आज सेयर बजारमा सुधार देखिएको हो ।

आजको कारोबारमा २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घट्यो, ५ कम्पनीको मूल्य भने स्थिर रह्यो । कुल १ लाख १५ हजार १८१ पटकको सेयर किनबेचमा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच भए । 

कारोबारमा आएका १३ वटै उपसमूहहरूमा वृद्धि देखिएको छ । सबैभन्दा बढी जीवन बिमा २४३.१४, होटल तथा पर्यटन २४१.५५ अंकले बढेको छ । गुर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

यस्तै, आँखुखोला जलविद्युत्को ८.१३, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ७.८७ नेसनल हाइड्रोपावर कम्पनीको ७.३२ एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ७.०४ अंकले बढ्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully