निष्क्रिय कर्जाबाट अब तीन महिनामै असल कर्जामा स्तरोन्नति

साँवा ब्याजलगायत सम्पूर्ण बक्यौता तिरेपछि ६ महिनासम्म सूक्ष्म निगरानी (वाच लिस्ट) वर्गमा परिणत हुने र त्यसपछि मात्र असल वर्गमा स्तरोन्नति हुने व्यवस्था थियो । राष्ट्र बैंकले निर्देशन जारी गरेर नयाँ व्यवस्था गरेको हो । 

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Non-performing loans can now be upgraded to good loans within three months

What you should know

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा निष्क्रिय वर्गमा रहेको कर्जा सम्पूर्ण बक्यौता (साँवा र ब्याज) भुक्तानी गरेको तीन महिनापछि सिधै असल वर्गमा स्तरोन्नति (परिणत) हुन सक्नेछन् । यसअघि साँवा ब्याजलगायत सम्पूर्ण बक्यौता तिरेपछि ६ महिनासम्म सूक्ष्म निगरानी (वाच लिस्ट) वर्गमा परिणत हुने र त्यसपछि मात्र असल वर्गमा स्तरोन्नति हुने व्यवस्था थियो । राष्ट्र बैंकले निर्देशन जारी गरेर नयाँ व्यवस्था गरेको हो । 

‘निष्क्रिय वर्गमा (पुनःसंरचना र पुनर्तालिकीकरणबाहेक) वर्गीकरण भएका कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता (साँवा र ब्याज) रकम भुक्तानी भई ३ महिनासम्म कर्जा नियमित भएको अवस्थामा जुन वर्ग (कमसल, शंकास्पद र खराब) मा वर्गीकरण भएको छ, सोही वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र स्तरोन्नति हुने गरी सोहीबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ,’ परिपत्रमा भनिएको छ ।

हाल निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था थियो । उक्त व्यवस्था परिमार्जन गरेर राष्ट्र बैंकले कर्जा नियमित भएको तीन महिनापछि सिधै असल वर्ग कर्जामा रूपान्तरण हुने व्यवस्था गरेको हो ।

कर्जा नियमित भएपछि सूक्ष्म निगरानी वर्गमा रहँदा बैंक तथा वित्तीय संस्थाले खराब कर्जा बराबरको रकमका लागि ५ प्रतिशत मात्र नोक्सानी व्यवस्था गर्नुपर्थ्यो । अब भने कर्जा नियमित भएको तीन महिनामै असल वर्गमा स्तरोन्नति गर्न सकिन्छ । 

तीन महिनासम्म साँवा–ब्याज तिर्नुअघि कर्जा जुन वर्गमा थियो, सोही वर्गमा राख्नुपर्ने र सोहीअनुसारको नोक्सानी व्यवस्थापन गर्नुपर्छ । यस्तो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफा प्रभावित हुने बैंकर बताउँछन् ।

‘त्यसअघि कर्जा जुन वर्गमा थियो तीन महिनासम्म त्यही वर्गमा राख्नुपर्ने भएकाले सो अवधिमा नाफामा सामन्य प्रभावित हुन सक्छ । तर, त्यो अवधि तीन महिना मात्र भएकाले नाफामा ठूलो असर पर्दैन,’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने, ‘यसअघि ६ महिनासम्म सूक्ष्म निगरानीमा राख्नुपर्थ्यो, जसमा ५ प्रतिशत मात्र प्रोभिजन गरे पुग्थ्यो । अब जुन वर्गमा छ, त्यसमै राख्नुपर्ने भएकाले तीन महिनासम्म नोक्सानी व्यवस्था कायमै राख्नुपर्छ ।’ यद्यपि एक त्रैमास (तीन महिना) मात्र भएकाले नाफामा त्यत्रो असर नपर्ने कोइरालाको भनाइ छ ।

साउन २०८१ मा राष्ट्र बैंकले खराब कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा गणना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था परिमार्जन गरेर नियमित भएपछि ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । अहिले सोही व्यवस्था परिमार्जन गरेर पुरानै अवस्था जस्तो बनाइएको हो । तर, पुरानो अवस्थामा ६ महिनामा मात्र असल वर्गमा स्तरोन्नति हुने व्यवस्था थियो । अहिले त्यसलाई घटाएर तीन महिना बनाइएको छ । 

कर्जा नियमित भएपछि ६ महिनासम्म सूक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्था अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत दातृ निकायलाई चित्त बुझेको थिएन । यही कारण कोषकै आग्रहमा राष्ट्र बैंकले अहिलेको व्यवस्था गरेको स्रोतले बताएको छ । 

लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोषमा रहेको रकम दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवारलाई सहयोग गर्न पाउने भएका छन् । ‘ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम ग्राहक सदस्यहरूको सामूहिक हित हुने कार्य गर्न, समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवं पुनःस्थापना गर्न, दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवारलाई सहयोग गर्न सक्नेछन्,’ परिपत्रमा भनिएको छ, ‘उक्त रकम ग्राहकको शिक्षा र क्षमता विकास एवं ग्राहकहरूका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रममा उपयोग हुने गरी मात्र खर्च गर्नुपर्नेछ ।’

ग्राहक संरक्षण कोषमा अघिल्लो आर्थिक वर्षको नाफाबाट जम्मा हुने रकमको न्यूनतम ५० प्रतिशत रकम पछिल्लो आर्थिक वर्षमा खर्च गर्नुपर्नेछ । यसरी खर्च भएको रकम तथा सोसम्बन्धी विवरण संस्थाको वार्षिक प्रतिवेदनमा स्पष्ट रूपमा खुलाइएको हुनुपर्नेछ । खर्च नभएको रकम ‘इयरमार्क’ गरी छुट्टै लगानी गर्नुपर्नेछ र यस्तो लगानीबाट प्राप्त आम्दानी सोही कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । यससँगै राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका वित्तीय संस्था, लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई पनि छुट्टाछुट्टै एकीकृत निर्देशन पनि जारी गरेको छ ।

कान्तिपुर

Link copied successfully