सुनको मूल्य सोमबार प्रतितोला ४ हजार २ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौँ — सुन र चाँदीको मूल्यले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ । सुन र चाँदीको मूल्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमै नयाँ कीर्तिमान कायम गरेको हो । सुनको मूल्य सोमबार प्रतितोला ४ हजार २ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम कीर्तिमान बनाएको थियो । उक्त कीर्तिमान सोमबार तोडिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई नियन्त्रणमा लिन यूरोपेली देशहरुमा थप भन्सार कर बढाउने चेतावनी दिएपछि सोमबार लगानीकर्ताहरु सुरक्षित मानिने सुनचाँदीमा आकर्षित भएका छन् । जसका कारण अन्तर्राष्ट्रिय बजारमासमेत सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन १.६ प्रतिशतले बढेर प्रतिऔंस ४६ ६६. ६५ डलर पुगेको छ । रोयटर्सका अनुसार प्रतिऔंस ४६८९.३९ डलर पुगेको थियो । गत शनिबार ट्रम्पले अमेरिकालाई ग्रीनल्यान्ड किन्न अनुमति नदिएसम्म युरोपेली सहयोगी देशहरुमाथि क्रमश: भन्सार शुल्क बढाउने घोषणा गरेका थिए ।
ट्रम्पले ग्रिनल्यान्डको पक्षमा उभिएका आठवटा युरोपेली देशहरूबाट आउने सामग्रीमा १ फेब्रुअरीदेखि १० प्रतिशतले भन्सार शुल्क बढाउने घोषणा ट्रम्पले शनिबार गरेका थिए । उनले यस शुल्कलाई २५ प्रतिशतसम्म बढाउन सकिने चेतावनी दिएका थिए । जसले ग्रीनल्यान्डको भविष्यलाई लिएर भइरहेको विवादलाई थप चर्काएको छ ।
ट्रम्पले लगाएको भन्सार शूल्क लागू भएमा त्यसका जवाफस्वरुप कदम चाल्न राजदूतहरुले तयारी गरिरहेको समेत युरोपेली संघ (इयु) का कूटनीतिज्ञहरुले बताएका छन् । भूराजनीतिक तनावले लगानीकर्ताहरुलाई सुनको मूल्यलाई कीर्तिमानी बनाई नयाँ उचाइमा पुर्याउन अर्को कारण दिएको स्टोनएक्सका वरिष्ठ विश्लेषक म्याट सिम्पसनले रोयटर्सलाई बताएका छन् ।
ट्रम्पको पछिल्लो भन्सार शुल्क बढाउने चेतावनीले अमेरिकी स्टक फ्युचर्स र डलर कमजोर हुँदा लगानीकर्ताहरु सुन र चाँदीतर्फ आकर्षित भएका छन् । चाँदी ९३.५० डलर पुगेको छ । यसअघि ९४.०८ डलर पुगेर कीर्तिमानी बनाएको थियो ।
भूराजनीतिक प्रभावका कारण नेपालमासमेत सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ । नेपालमासमेत चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको मूल्य गत बुधबार ५ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।
