लगानी बोर्डद्वारा एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने गृहकार्य

लगानी बोर्डले एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Homework to operate a single point service center by the Investment Board

What you should know

काठमाडौँ — लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र  सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ । 

लगानी बोर्डले एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ । एकल विन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ वटा सरकारी निकायले अख्तयारीसहित फोकल पर्सन तोकेका छन् ।

एकल विन्दु सेवा केन्द्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत विकास विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल दुरसञ्चार प्राधिकरण रहनेछन् । बोर्डले तोकेका अरु निकायहरुले पनि फोकल पर्सन तोक्न सक्नेछन् । 

बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्रका लागि सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुसँगको समन्वयमा कार्यविधिको मस्यौदा तयार पारेको छ । बोर्डले तत्कालका लागि सम्बन्धत मन्त्रालय/निकायका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउनेछ । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जेन-जी आन्दोलनका क्रममा बोर्डको कार्यालयमा आगजनी भएको हुँदा नयाँ कार्यालयको व्यवस्थापन र कार्यविधिले अन्तिम रुप पाएपछि एकै ठाउँबाट सेवा प्रवाह हुने बताए ।अटोमेसनबाट काम हुने हुँदा प्रविधिको प्रयोग महत्वपूर्ण भएको उनको भनाइ छ । 

फोकल पर्सनहरुसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानीसम्बन्धी राष्ट्रिय लक्ष्य प्राप्ति र सुशासन कायम गर्नका लागि अपनत्व लिएर काम अघि बढाउन अनुरोध गरे । 'लगानी बोर्डले सबैसँग समन्वय गरेर काम गर्छ । यसमा सबै निकायहरुको साथ  र सहयोग अपेक्षित छ,' भने ।

विज्ञ रामकृष्ण सापकोटाले धेरै निकायहरुबाट सेवा प्रवाह गर्नु पर्दा लगानीकर्तालाई झन्झटिलो हुने भन्दै एकल विन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्यहरु चुस्त रुपमा हुन सक्ने बताए ।अहिलेका लागि फोकल पर्सन सम्बन्धित मन्त्रालय/निकायको सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट हुनेछन् । उनीहरुले लगानी बोर्डको कार्यालयबाट सिफारिस भएका आ-आफ्नो निकायसँग सम्बन्धित कार्यहरु सम्पादन गर्नमा सहजीकरण गर्नेछन् । 

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार फोकल पर्सनले सार्वजनिक निजी साझेदारी ऐन २०७५, सार्वजनिक तथा लगानी नियमावली २०७७  र लगानी बोर्डको  रणनीति तथा व्यावसायिक योजनाले तोकेका सेवा प्रवाहसम्बन्धी कार्यहरु गर्न सहयोग पुर्‍याउनेछन् ।  यस्तै उनीहरुले लगानी बोर्डको कार्यालयबाट प्राप्त फाइल तथा पत्रको समयमै राय प्रतिकृया दिने, कार्यरत निकाय तथा लगानी बोर्डको कार्यालयबीच पुलको काम गर्ने, संस्थागत समन्वयकर्ताको भूमिका निर्वाह गर्ने लगायतका कार्यहरु गर्नेछन् । 

कान्तिपुर

Link copied successfully