५२ अर्बको ऋण भारमा रहेको निगमलाई थप १० करोड घाटा
What you should know
काठमाडौँ — नेपाल वायुसेवा निगमका दुवै न्यारो बडी जहाज ‘ग्राउन्डेड’ भएका छन् । निगमसँग हाल चार वटा जहाज छन् । दुई न्यारोबडी र दुई वाइडबडी । तर यीमध्ये दुई वटै न्यारोबडी एकैसाथ उडानबाट बाहिरिएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिका पुस अन्तिम सातायता अस्तव्यस्त बनेको छ । निगमको ‘सगरमाथा’ नामक न्यारोबडी विमान शुक्रबार राति बैंककबाट काठमाडौं फर्किएपछि प्राविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भयो ।
उडान रद्द भएपछि शुक्रबार राति चीनको ग्वाङझाउ जाने १०५ यात्रुलाई अन्तिम समयमा विमानस्थलबाट होटलमा फर्काउनुपर्ने भयो । ती यात्रुलाई चेक–इनपछिको विमानस्थलको अन्तिम प्रतीक्षा कक्ष (स्टेराइल हल) मा प्रवेश गराइसकेपछि समेत उडान रद्द गरिएको भन्दै यात्रु आक्रोशित बने ।
त्यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् । उडान रद्दकै क्रममा निगमका कर्मचारीमाथि दुर्व्यवहार र हातपातका घटनासमेत भए । चीनतर्फको उडान रद्द हुँदा निगमका सिफ्ट इन्चार्ज विजय अधिकारीमाथि विमानस्थल प्रहरीकै अगाडि हातपात भयो ।
एउटा न्यारोबडी ‘लुम्बिनी’ १४ पुसमै इन्जिन प्रतिस्थापनका लागि इजरायल रहेकाले भएको अर्को न्यारोबडी ‘सगरमाथा’ पनि ग्राउन्डेड हुँदा दर्जनौं उडान रद्द भएका छन् । दुवै न्यारोबडी उडानमा एकसाथ नभएपछि निगमले २६ पुसपछि बैङलुरु, २९ पुसमा हङकङ, ३० पुसमा बैंकक र दुबईका उडान जहाज अभावका कारण रद्द भएका छन् ।
निगमका एक प्रबन्धकका अनुसार, उडान रद्द हुँदा दुईतर्फी गरी कम्तीमा १ हजार यात्रुको व्यापार निगमले गुमाउनुपरेको छ । यसबाट ऋणको भारले थिचिएको निगमलाई करिब १० करोड घाटा लागेको उनको दाबी छ । न्यारो र वाइडबडी जहाजलगायतका खरिदमा लिएको समेत गर्दा निगममाथि यसअघि नै ५२ अर्बको ऋणभार छ ।
ग्वाङझाउ जानुपर्ने यात्रुलाई निगमले १२ घण्टापछि शनिबार मात्र उडान गरायो । उता ग्वाङझाउमा पनि १३० यात्रुलाई निगमकै खर्चमा होटलमा राखिएको थियो । जहाज अभावकै कारण हङकङ जानुपर्ने ८८ र उताबाट नेपाल फर्कनुपर्ने ७६ यात्रुको टिकट रकम पूर्ण रूपमा फिर्ता गरिएको निगमले जनाएको छ ।
यसैबीच, शनिबार दिउँसो पौने २ बजे दिल्ली उड्नुपर्ने वाइडबडी विमान साँझ ७ बजे मात्र उड्दा २२६ यात्रु कम्तीमा ७ घण्टा विमानस्थलमा अलपत्र परे । दिल्लीबाट नेपाल आउनुपर्ने २०५ यात्रुले पनि उस्तै सास्ती भोग्नुपर्यो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार शुक्रबार बिग्रिएको ‘सगरमाथा’ विमानलाई तीन दिनमा मर्मत गरी आइतबार दिउँसो २ बजे मुम्बई उडानमा पठाइयो । इजरायल पुगेको अर्को न्यारोबडी विमान सोमबार नेपाल फर्कने तालिका रहेको महाप्रबन्धक अमृतमान श्रेष्ठ बताउँछन् ।
उक्त विमान आएपछि निगमका १० गन्तव्यको उडान तालिकामा सुधार आउने प्रवक्ता पुन बताउँछन् । न्यारोबडी नचलेपछि निगमले बाध्य भएर जापानलगायत लामो दूरीमा उड्ने दुवै वाइडबडी विमान छोटो दूरीका उडानमा प्रयोग गरिरहेको छ । यसले वाइडबडी इन्जिनमा गम्भीर दबाब सिर्जना गरेको निगमका इन्जिनियर बताउँछन् ।
निगमका वाइडबडी विमानको कुल उडान साइकल ६ हजार हुन्छ । हाल ‘अल्फा लिमा यान्की’ वाइडबडीको करिब ५ सय र ‘अल्फा लिमा जुलु’ वाइडबडीको करिब ८ सय साइकल मात्र बाँकी छ । दुवै विमानको अर्को महिना इन्जिन ‘ओभरहल’ अर्थात् विस्तृत मर्मतमा जानुपर्ने पालो छ । छोटो दूरीमा वाइडबडी प्रयोग गर्दा उडान साइकल छिट्टै सकिने र यसले निगमलाई थप आर्थिक नोक्सानी पुर्याउने निगमका एक निर्देशक बताउँछन् ।
निगमले भदौ २०८० मा इजरायली कम्पनीसँग आफ्ना न्यारोबडी विमानका चार वटा इन्जिनको ओभरहल मर्मतसम्बन्धी ठेक्का सम्झौता गरेको थियो । तर युद्धका कारण निगमको न्यारोबडी विमान तीन महिनाभन्दा बढी समय इजरायलमै ग्राउन्डेड भएको थियो । इजरायल–हमास युद्धका कारण इन्जिन मर्मतमा निगमले ढिलाइ बेहोर्नुपरेको थियो । तत्कालीन अध्यक्ष युवराज अधिकारीले ढिलाइका कारण निगमलाई करोडौं घाटा भएको भन्दै क्षतिपूर्ति माग गरेपछि दुवै पक्षबीच इन्जिन मर्मतको भुक्तानीलाई लिएर विवाद चुलिएको थियो ।
मर्मतसम्बन्धी सम्झौतामा युद्धजस्ता आकस्मिक अवस्थाबारे स्पष्ट प्रावधान नहुँदा दुवै पक्षबीच विवाद भएको थियो । जसका कारण निगमले भाडाको इन्जिन हालेर झन्डै ४० करोड रुपैयाँ अतिरिक्त तिर्नुपरेको छ । विवाद उत्कर्षमा पुग्दा इजरायली कम्पनीले भुक्तानी ढिलाइ भएको भन्दै निगमका न्यारोबडी विमानलाई नै ग्राउन्डेड गर्ने चेतावनीसहित पत्र पठाएपछि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल हस्तक्षेप गर्दै बक्यौता भुक्तानी तत्काल व्यवस्थापन गर्न निर्देशन दिएकी थिइन् ।
साथै उनले भुक्तानी विवाद अन्त्य गर्न निगमको नेतृत्व नै परिवर्तन गरेर बोर्ड सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकमा नियुक्त गरेकी थिइन् । निगमका उच्च स्रोतका अनुसार, निगमले केही दिनअघि मात्र पहिलो इन्जिन मर्मतमा १ अर्ब ८ करोड रुपैयाँ, दोस्रो इन्जिन मर्मतमा १ अर्ब ११ करोड रुपैयाँ र भाडाको इन्जिनका लागि ३९ करोड रुपैयाँ गरी ३ अर्ब ३० करोड रुपैयाँ केही दिनअघि भुक्तानी गरिसकेको छ ।
