कुल निक्षेप ७६ खर्ब ५४ अर्ब र कर्जा ५७ खर्ब ४६ अर्ब, बैंक तथा वित्तीय संस्थामा ११ खर्ब ४५ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम
What you should know
काठमाडौँ — माघका लागि बैंकहरूको निक्षेपको औसत ब्याजदर घटेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये माघका लागि ११ वटाले एकवर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ९ वटाले स्थिर राखेका छन् । तर साधारण निक्षेपको ब्याजदर दुई वटा वाणिज्य बैंकले घटाउँदा एउटाले बढाएको छ । १७ वटाले भने स्थिर राखेका छन् ।
यद्यपि माघका लागि वाणिज्य बैंकहरूमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर भने घटेको छ । पुसमा वाणिज्य बैंकहरूले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ४.८३९ ब्याजदर दिएका थिए । माघका लागि यो दर घटेर ४.६८५ प्रतिशत बनाएका छन् ।
साधारण निक्षेपको औसत ब्याजदर पनि घटेर माघमा अधिकतम ३.२७८ प्रतिशत कायम भएको छ । पुसमा यस्तो ब्याजदर ३.२९० प्रतिशत थियो । नेपाल बैंकले साधारण निक्षेपको ब्याजदर ०.०१० प्रतिशत विन्दुले बढाएको छ भने सिटिजन्स र प्राइम बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् । बाँकी १७ बैंकको यस्तो ब्याजदर स्थिर छ ।
गत सोमबार (२८ पुस) सम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७६ खर्ब ५४ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.२३ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५७ खर्ब ४६ रुपैयाँ छ । यसका आधारमा गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम ११ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी थियो ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगद राख्नुपर्छ । सबै बैंकले २० प्रतिशतका दरले तरलता कायम गर्दा कर्जा तरलता (सीडी) अनुपातको करिब एक प्रतिशतले हुन आउने रकम बराबर खर्च हुन्छ । बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न छुट भए पनि २० प्रतिशत तरलता कायम गर्नुपर्ने भएकाले उनीहरूले ८९ प्रतिशतसम्म जान (ऋण दिन) पाउँछन् । यी तथ्यलाई आधार मान्दा पनि २८ पुससम्म बैंक तथा वित्तीय संस्थासँग करिब १० खर्ब ६६ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम वित्तीय प्रणालीमा रहेको देखिन्छ ।
ब्याजदर घटे पनि बैंक तथा वित्तीय संस्थामा कर्जाको माग अपेक्षित बढ्न नसकको बैंकर बताउँछन् । ‘पछिल्लो एक महिनामा व्यापार (ट्रेडिङ) प्रकृतिको कर्जाको माग सामान्य बढ्न थालेको देखिन्छ । तर वृद्धिदर निकै सुस्त छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने, ‘तर उद्योग, होटेललगायत उत्पादनमूलक क्षेत्रबाट कर्जाको माग बढ्न सकेको छैन ।’ निक्षेप लगातार बढिरहेको र कर्जाको माग सुस्त हुँदा बैंकहरू लामो समयदेखि अधिक तरलताको अवस्थामा रहेको उनले जनाए ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले ‘ऋणपत्र’ जारी गरेर एक वर्षका लागि बजारबाट पैसा झिकिरहेको छ । यसअनुसार गएको दुई साता नौ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । यससँगै राष्ट्र बैंकले हालसम्म ९ वटा ऋणपत्रमार्फत २ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । यसका लागि राष्ट्र बैंकले ६ पटक २५/२५ अर्ब रुपैयाँ, दुई पटक २० अर्ब रुपैयाँ र एक पटक १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ ।
बजारमा तत्काल तरलता घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधि (एक वर्ष) का लागि पैसा झिकिरहेको जनाएको छ । यस चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने निर्णय राष्ट्र बैंक खुला बजार सञ्चालन व्यवस्थापन समितिले गरेको छ । सोही निर्णयका आधारमा अहिले ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ झिकेको हो । यद्यपि बजारको अवस्था हेरेर पुनः ऋणपत्रमार्फत थप रकम झिक्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंक ऋणपत्र लामो अवधि (एक वर्षभन्दा बढी) का लागि बजारबाट पैसा झिक्न राष्ट्र बैंकले प्रयोगमा ल्याउने मौद्रिक उपकरण हो । राष्ट्र बैंकले १० वर्षपछि पहिलो पटक यस वर्ष उक्त ऋणपत्र जारी गरेको हो । यसअघि आर्थिक वर्ष २०७२/७३ मा यही उपकरणमार्फत ४९ अर्ब ०८ करोड रुपैयाँ बजारबाट झिकिएको थियो ।
करिब तीन वर्षदेखि वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । वित्तीय प्रणालीको तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले नियमित रूपमा साताको दुई दिन (आइतबार र बुधबार) आवश्यकताअनुसार बजारबाट पैसा झिक्दै आएको थियो । यसका लागि राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरण प्रयोग गर्दै आएको छ । यसअनुसार निक्षेप सुविधामार्फत राष्ट्र बैंकले छोटो अवधिदेखि ६ महिनासम्मका लागि बजारबाट पैसा झिक्ने गरेको थियो ।
तर पछिल्लो समय अधिक तरलताको अवस्थामा सुधार नदेखिएपछि केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिक्न थालेको हो । वित्तीय क्षेत्रमा हाल विद्यमान अधिक तरलताको प्रकृति संरचनात्मक रहेको र तत्काल घट्ने नदेखिएकाले एक वर्षका लागि ऋणपत्र जारी गरिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंक ऋणपत्र जारी गर्ने घोषणा गरेको थियो । अहिले सोही नीति कार्यान्वयनमा ल्याइएको थिएन । ‘बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख छ ।
राष्ट्र बैंकले यस वर्षभन्दा पहिले ६ पटक यस्तै ऋणपत्रमार्फत बजारबाट पैसा झिकिसकेको छ । आर्थिक वर्ष २०४९/५० मा राष्ट्र बैंक ऋणपत्रमार्फत राष्ट्र बैंकले बजारबाट २४ अर्ब ८८ करोड रुपैयाँ बजारबाट झिकेको थियो । त्यति बेला हालको जस्तो ब्याजदर करिडोर सञ्चालनमा थिएन ।
तरलताको अवस्था हेरेर राष्ट्र बैंकले अल्पकाल वा दीर्घकालका लागि बजारबाट पैसा झिक्दै आएको थियो । त्यति बेला बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात (सीआरआर) बापत राष्ट्र बैंकमा राख्नुपर्नेबाहेक रकम अधिक तरलता हो । त्यसका आधारमा बजारमा अधिक तरलता धेरै भएको अवस्थामा बजारबाट पैसा झिकिँदै आएको छ । हाल ब्याजदर करिडोर सञ्चालनमा छ । यसकारण करिडोरको माथिल्लो सिलिङ (स्थायी तरलता सुविधा दर) ५.७५ प्रतिशत छ ।
करिडोरको तल्लो सीमा (स्थायी निक्षेप सुविधा) २.७५ प्रतिशत छ । यसरी बैंकहरूबीचको सापटी (अन्तरबैंक दर) ५.७५ प्रतिशतभन्दा बढी हुँदा राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ । अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा कम भएपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्छ ।
अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा तल रहिरहेपछि पछिल्लो तीन वर्षदेखि राष्ट्र बैंकले बजारबाट पैसा झिक्दै आएको छ । आउँदा दिनमा पनि राष्ट्र बैंकले यो ऋणपत्रमार्फत पैसा झिक्ने तयारी गरेको छ । स्रोतका अनुसार हाल राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने निर्णय खुला बजार कारोबार सञ्चालन समितिले गरिसकेको छ । आवश्यकताअनुसार समितिले निर्णय गरेर त्यसभन्दा बढी रकम पनि झिक्न सकिने स्रोतले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले आर्थिक वर्ष २०५०/५१ मा ६५ अर्ब ७२ करोड, आर्थिक वर्ष २०५१/५२ मा ४५ अर्ब ७४ करोड, आर्थिक वर्ष २०५२/५३ मा ९ अर्ब ३७ करोड र आर्थिक वर्ष २०७२/७३ मा ४९ अर्ब ८ करोड रुपैयाँ बजारबाट झिकेको थियो । त्यसयता राष्ट्र बैंकले यस्तो ऋणपत्र जारी गरेको थिएन ।तरलता व्यवस्थापनका लागि पटकपटक बजारबाट तानेको पैसामध्ये धेरैको परिपक्व अवधि सकिएको छ भने बाँकी ८ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ अझै लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
