ब्याजदर घटेको घट्यै, राष्ट्र बैंकले बजारबाट पैसा तानेको तान्यै

कुल निक्षेप ७६ खर्ब ५४ अर्ब र कर्जा ५७ खर्ब ४६ अर्ब, बैंक तथा वित्तीय संस्थामा ११ खर्ब ४५ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम

माघ ४, २०८२

यज्ञ बञ्जाडे

Interest rates have fallen, and the central bank has pulled money from the market.

What you should know

काठमाडौँ — माघका लागि बैंकहरूको निक्षेपको औसत ब्याजदर घटेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये माघका लागि ११ वटाले एकवर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ९ वटाले स्थिर राखेका छन् । तर साधारण निक्षेपको ब्याजदर दुई वटा वाणिज्य बैंकले घटाउँदा एउटाले बढाएको छ । १७ वटाले भने स्थिर राखेका छन् । 

यद्यपि माघका लागि वाणिज्य बैंकहरूमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर भने घटेको छ । पुसमा वाणिज्य बैंकहरूले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ४.८३९ ब्याजदर दिएका थिए । माघका लागि यो दर घटेर ४.६८५ प्रतिशत बनाएका छन् । 

साधारण निक्षेपको औसत ब्याजदर पनि घटेर माघमा अधिकतम ३.२७८ प्रतिशत कायम भएको छ । पुसमा यस्तो ब्याजदर ३.२९० प्रतिशत थियो । नेपाल बैंकले साधारण निक्षेपको ब्याजदर ०.०१० प्रतिशत विन्दुले बढाएको छ भने सिटिजन्स र प्राइम बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् । बाँकी १७ बैंकको यस्तो ब्याजदर स्थिर छ । 

गत सोमबार (२८ पुस) सम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७६ खर्ब ५४ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.२३ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५७ खर्ब ४६ रुपैयाँ छ  । यसका आधारमा गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम ११ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी थियो ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगद राख्नुपर्छ । सबै बैंकले २० प्रतिशतका दरले तरलता कायम गर्दा कर्जा तरलता (सीडी) अनुपातको करिब एक प्रतिशतले हुन आउने रकम बराबर खर्च हुन्छ । बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न छुट भए पनि २० प्रतिशत तरलता कायम गर्नुपर्ने भएकाले उनीहरूले ८९ प्रतिशतसम्म जान (ऋण दिन) पाउँछन् । यी तथ्यलाई आधार मान्दा पनि २८ पुससम्म बैंक तथा वित्तीय संस्थासँग करिब १० खर्ब ६६ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम वित्तीय प्रणालीमा रहेको देखिन्छ ।

ब्याजदर घटे पनि बैंक तथा वित्तीय संस्थामा कर्जाको माग अपेक्षित बढ्न नसकको बैंकर बताउँछन् । ‘पछिल्लो एक महिनामा व्यापार (ट्रेडिङ) प्रकृतिको कर्जाको माग सामान्य बढ्न थालेको देखिन्छ । तर वृद्धिदर निकै सुस्त छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने, ‘तर उद्योग, होटेललगायत उत्पादनमूलक क्षेत्रबाट कर्जाको माग बढ्न सकेको छैन ।’ निक्षेप लगातार बढिरहेको र कर्जाको माग सुस्त हुँदा बैंकहरू लामो समयदेखि अधिक तरलताको अवस्थामा रहेको उनले जनाए । 

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले ‘ऋणपत्र’ जारी गरेर एक वर्षका लागि बजारबाट पैसा झिकिरहेको छ । यसअनुसार गएको दुई साता नौ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । यससँगै राष्ट्र बैंकले हालसम्म ९ वटा ऋणपत्रमार्फत २ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । यसका लागि राष्ट्र बैंकले ६ पटक २५/२५ अर्ब रुपैयाँ, दुई पटक २० अर्ब रुपैयाँ र एक पटक १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ । 

बजारमा तत्काल तरलता घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधि (एक वर्ष) का लागि पैसा झिकिरहेको जनाएको छ । यस चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने निर्णय राष्ट्र बैंक खुला बजार सञ्चालन व्यवस्थापन समितिले गरेको छ । सोही निर्णयका आधारमा अहिले ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ झिकेको हो । यद्यपि बजारको अवस्था हेरेर पुनः ऋणपत्रमार्फत थप रकम झिक्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंक ऋणपत्र लामो अवधि (एक वर्षभन्दा बढी) का लागि बजारबाट पैसा झिक्न राष्ट्र बैंकले प्रयोगमा ल्याउने मौद्रिक उपकरण हो । राष्ट्र बैंकले १० वर्षपछि पहिलो पटक यस वर्ष उक्त ऋणपत्र जारी गरेको हो । यसअघि आर्थिक वर्ष २०७२/७३ मा यही उपकरणमार्फत ४९ अर्ब ०८ करोड रुपैयाँ बजारबाट झिकिएको थियो ।

करिब तीन वर्षदेखि वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । वित्तीय प्रणालीको तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले नियमित रूपमा साताको दुई दिन (आइतबार र बुधबार) आवश्यकताअनुसार बजारबाट पैसा झिक्दै आएको थियो । यसका लागि राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरण प्रयोग गर्दै आएको छ । यसअनुसार निक्षेप सुविधामार्फत राष्ट्र बैंकले छोटो अवधिदेखि ६ महिनासम्मका लागि बजारबाट पैसा झिक्ने गरेको थियो । 

तर पछिल्लो समय अधिक तरलताको अवस्थामा सुधार नदेखिएपछि केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिक्न थालेको हो । वित्तीय क्षेत्रमा हाल विद्यमान अधिक तरलताको प्रकृति संरचनात्मक रहेको र तत्काल घट्ने नदेखिएकाले एक वर्षका लागि ऋणपत्र जारी गरिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंक ऋणपत्र जारी गर्ने घोषणा गरेको थियो । अहिले सोही नीति कार्यान्वयनमा ल्याइएको थिएन । ‘बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले यस वर्षभन्दा पहिले ६ पटक यस्तै ऋणपत्रमार्फत बजारबाट पैसा झिकिसकेको छ । आर्थिक वर्ष २०४९/५० मा राष्ट्र बैंक ऋणपत्रमार्फत राष्ट्र बैंकले बजारबाट २४ अर्ब ८८ करोड रुपैयाँ बजारबाट झिकेको थियो । त्यति बेला हालको जस्तो ब्याजदर करिडोर सञ्चालनमा थिएन ।

तरलताको अवस्था हेरेर राष्ट्र बैंकले अल्पकाल वा दीर्घकालका लागि बजारबाट पैसा झिक्दै आएको थियो । त्यति बेला बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात (सीआरआर) बापत राष्ट्र बैंकमा राख्नुपर्नेबाहेक रकम अधिक तरलता हो । त्यसका आधारमा बजारमा अधिक तरलता धेरै भएको अवस्थामा बजारबाट पैसा झिकिँदै आएको छ । हाल ब्याजदर करिडोर सञ्चालनमा छ । यसकारण करिडोरको माथिल्लो सिलिङ (स्थायी तरलता सुविधा दर) ५.७५ प्रतिशत छ ।

करिडोरको तल्लो सीमा (स्थायी निक्षेप सुविधा) २.७५ प्रतिशत छ । यसरी बैंकहरूबीचको सापटी (अन्तरबैंक दर) ५.७५ प्रतिशतभन्दा बढी हुँदा राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ । अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा कम भएपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्छ ।

अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा तल रहिरहेपछि पछिल्लो तीन वर्षदेखि राष्ट्र बैंकले बजारबाट पैसा झिक्दै आएको छ । आउँदा दिनमा पनि राष्ट्र बैंकले यो ऋणपत्रमार्फत पैसा झिक्ने तयारी गरेको छ । स्रोतका अनुसार हाल राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने निर्णय खुला बजार कारोबार सञ्चालन समितिले गरिसकेको छ । आवश्यकताअनुसार समितिले निर्णय गरेर त्यसभन्दा बढी रकम पनि झिक्न सकिने स्रोतले जनाएको छ ।

यसअघि राष्ट्र बैंकले आर्थिक वर्ष २०५०/५१ मा ६५ अर्ब ७२ करोड, आर्थिक वर्ष २०५१/५२ मा ४५ अर्ब ७४ करोड, आर्थिक वर्ष २०५२/५३ मा ९ अर्ब ३७ करोड र आर्थिक वर्ष २०७२/७३ मा ४९ अर्ब ८ करोड रुपैयाँ बजारबाट झिकेको थियो । त्यसयता राष्ट्र बैंकले यस्तो ऋणपत्र जारी गरेको थिएन ।तरलता व्यवस्थापनका लागि पटकपटक बजारबाट तानेको पैसामध्ये धेरैको परिपक्व अवधि सकिएको छ भने बाँकी ८ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ अझै लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully