न्यालम–खासाको डढेलो नियन्त्रणमा आए पनि खुलेन तातोपानी नाका

बुधबार एक दिनका लागि आंशिक रुपमा खुलेर पुनः बन्द भएको तातोपानी नाका हालसम्म ठप्प छ ।

माघ ३, २०८२

अनिश तिवारी

Tatopani border crossing not reopened despite Nyalam-Khasa fire under control

What you should know

सिन्धुपाल्चोक — चीनको न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा गत आइतबार रातिदेखि लागेको डढेलो शनिबार बल्ल नियन्त्रणमा आएको छ।

तर नेपालतर्फ सरेको आगोको केही अंश अझै सल्किरहेकाले तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन। बुधबार एक दिनका लागि आंशिक रुपमा खुलेर पुनः बन्द भएको तातोपानी नाका हालसम्म ठप्प छ । नाका बन्द हुँदा चीनतर्फ जानुपर्ने झन्डै चार सय कन्टेनर अलपत्र परेका छन् । जसले व्यवसायी र आयातकर्तालाई चिन्ता थपेको छ । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार न्यालम, खासाको मध्यभाग र छोबिन क्षेत्रमा लागेको आगलागीका कारण नाका संञ्चालन सम्भव नभएको जानकारी चिनियाँ प्रशासनले दिएको थियो। 

इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले न्यालम–खासा क्षेत्रको आगो नियन्त्रणमा आए पनि नाका अझै नखुलेको बताए। ‘बुधबार पुरानो खासा बजारतर्फ जाने बाटोमा अलपत्र परेका सवारीसाधन नेपालतर्फ ल्याउन एक दिनका लागि नाका खोलिएको थियो,’ उनले भने, ‘त्यस दिन करिब १५० स्थानीय सवारी चालकलाई चीनतर्फ प्रवेशको अनुमति दिइएको थियो ।’

चिनियाँ प्रशासनकाअनुसार भोटेकोसी गाउँपालिका–२ लिपिङभन्दा माथिल्लो लेकक्षेत्रतर्फ सरेको आगो अहिले थोरै मात्र बाँकी छ । बाँकी रहेको आगो निभाउन हेलिकप्टरमार्फत पानी खसाल्ने प्रयास भइरहेको जानकारी चिनियाँ पक्षले दिएको प्रहरी निरीक्षक राईले बताए।

आगलागी प्रभावित क्षेत्र आसपासका स्थानीयलाई भने अस्थायी रूपमा स्थानान्तरण गरिएको छ । आगलागीका कारण चीनतर्फको भन्सार कार्यालयको प्रणाली (सिस्टम) सञ्चालनमा आउन नसक्दा आवतजावत प्रभावित भएको जनाइएको छ। नाकामा नियमित आवतजावत कहिलेदेखि खुल्ने भन्ने विषय चिनियाँ भन्सार प्रणाली पूर्णरूपमा सञ्चालनमा आएपछि मात्र टुंगो लाग्ने बताइएको छ।

यता, लिपिङको माथिल्लो डाँडाक्षेत्र र खरानी पोखरी आसपाससम्म आगो फैलिन सक्ने जोखिम रहेको स्थानीयले जनाएका छन् । मितेरी पुलबाट करिब १० घण्टा पैदल दूरीमा पर्ने बगामको शीरभेगस्थित जंगलमा अझै आगो सल्किरहेको बताइएको छ। सीमावर्ती वन क्षेत्रमा डढेलो फैलँदा खर्क सखाप हुने डरले चौरी गोठालासमेत चिन्तित बनेका छन्। आगलागीको प्रभावले नाकापारिको सञ्चार सेवा पनि प्रभावित भएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले आगलागीपछि नाका ठप्प बन्दा करोडौंका सामाग्री बोकेका बर्खामै भित्रनुपर्ने कन्टेनर रोकिँदा व्यवसायी थप हतास बनेको बताए । ‘झण्डै चार सय कन्टेनर चीनको खासा, न्यालमसहित सीमा क्षेत्रकै सडकमा अलपत्र परेका छन् । खासाभन्दा ४ किलोमिटर माथि पानसिंह भन्ने स्थानमा आगो नियन्त्रणमा आएपनि नाका अझै बन्द छ, यो बन्द कति लम्बिने हो थाहा छैन्,’ बस्नेतले भने । 

बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा आउजाउ गर्ने कन्टेनरलाई धराप थापेझै अवस्था छ । मितेरी पुल पारीका बाढीले तहसनहस बनाएका क्वारेन्टाइन, पार्किर्ङस्थल, खासा जोड्ने सडक र सुरुङसहित खासामा स्मार्ट सिटी निर्मार्ण गरिरहेको थियो । जसबीच चीनले दैनिक ७ देखि १२ कन्टेनर मात्र छाड्न थालेपछि व्यवसायी हैरान थिए । 

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully