विज्ञहरूको चिन्ता : कमजोर ब्रान्डिङ र समन्वय अभावले नेपालको पर्यटन छवि कमजोर

पर्यटन र कूटनीतिमा समन्वयको कमीले नेपालको छवि कमजोर बनेको भन्दै कार्यशालाले साझा रणनीति र स्पष्ट सन्देशको आवश्यकता औंल्याएको छ ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Experts worry: Nepal's tourism image is weak due to weak branding and lack of coordination

What you should know

काठमाडौँ — सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिबीच समन्वयको कमी, असंगत प्रचार रणनीति र स्पष्ट राष्ट्रिय कथानक (नेसनल न्यारेटिभ) को अभावले नेपालको पर्यटन छवि अपेक्षित रूपमा स्थापित हुन नसकेको निष्कर्ष निकालिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ प्रभावकारी हुन नसकिरहेको सन्दर्भमा नेपाल पर्यटन बोर्ड र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवर्धनका लागि साझेदारी’ विषयक कार्यशाला शुक्रबार सम्पन्न गरेको हो ।

कार्यशालामा पर्यटन र सार्वजनिक कूटनीतिलाई नेपालको प्रभावकारी सफ्ट पावरका रूपमा विकास गर्न नसकिएको, विदेशस्थित नियोग र सम्बन्धित निकायबीच सहकार्य कमजोर रहेको तथा विश्व बजारमा नेपालबारे एकरूप सन्देश प्रवाह हुन नसकेको प्रमुख समस्या औंल्याइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले पर्यटन नेपालको अन्तर्राष्ट्रिय छविको सबैभन्दा मूर्त माध्यम भए पनि आत्मविश्वासी, सुसंगत र प्रामाणिक ‘स्टोरी–टेलिङ’को कमीका कारण नेपालको ब्रान्ड कमजोर बनेको उल्लेख गरे । उनले पर्यटन र सार्वजनिक कूटनीतिले राष्ट्रिय गरिमा र अन्तर्राष्ट्रिय प्रतिष्ठामा योगदान पुर्‍याउन सक्ने भए पनि हालसम्म त्यसको पूर्ण उपयोग हुन नसकेको स्पष्ट पारे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सार्वजनिक कूटनीति र पर्यटन प्रवर्द्धनबीच संस्थागत समन्वय कमजोर रहेको स्वीकार गर्दै सरकारी निकाय, कूटनीतिक नियोग, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच साझा लक्ष्यसहित काम नगरेसम्म दीर्घकालीन पर्यटन ब्रान्ड निर्माण कठिन हुने बताए ।

अन्तर्क्रियामा परराष्ट्र मन्त्रालयका सहसचिव तथा शिष्टाचार महापाल कुमारराज खरेल, सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्रीलगायत कूटनीतिज्ञहरूले विदेशस्थित नियोगहरूले पर्यटन बोर्डसँग आवश्यक समन्वय नगर्दा प्रवर्द्धन प्रयास प्रभावहीन हुने अवस्था रहेको औंल्याउँदै सुधारको प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशकहरू हिक्मत सिंह ऐर, मणिराज लामिछाने, योजना, अनुसन्धान तथा अनुगमन महाशाखा प्रमुख लक्ष्मण गौतम र जनसम्पर्क महाशाखा प्रमुख सुनिल शर्माले बोर्डका कार्यक्रमहरू परराष्ट्र मन्त्रालय र नियोगसँग पर्याप्त परामर्शबिना सञ्चालन हुँदा अपेक्षित परिणाम नआएको स्वीकार गर्दै संयुक्त योजना, साझा वार्षिक कार्ययोजना र गुणस्तरीय प्रचार सामग्री निर्माणमा जोड दिनुपर्ने बताए ।

कार्यशालामा संयुक्त पहलमार्फत नेपालको प्रकृति, संस्कृति र विविधतालाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने भिडियो सामग्री निर्माण, तथ्यमा आधारित प्रचार (फ्याक्ट–बेस्ड प्रमोशन) र लक्षित बजार केन्द्रित रणनीति आवश्यक रहेकोमा जोड दिइएको छ ।

परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखाले नेपालको अन्तर्राष्ट्रिय छवि कमजोर हुनुका कारणबारे प्रस्तुति दिएको थियो भने पर्यटन बोर्डका तर्फबाट वरिष्ठ अधिकृत कविन्द्र भट्टले पर्यटन आगमन, विदेशी मुद्रा आर्जन र भावी रणनीतिसम्बन्धी ‘पर्यटन फ्याक्ट–सिट’ प्रस्तुत गरेका थिए । प्रस्तुतिपछि भएको छलफलमा नेपाललाई विश्व बजारमा ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’का रूपमा उभ्याउन प्राथमिकता नतोकिँदा प्रचार बिखण्डित बनेको निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभाग र पर्यटन विभागका महानिर्देशकहरु, नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधि तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यशालाले पर्यटन, संस्कृति र कूटनीतिबीच एकीकृत दृष्टिकोणको अभाव नै नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङको प्रमुख कमजोरी भएको ठहर गर्दै अब साझा रणनीति, स्पष्ट सन्देश र संस्थागत समन्वयमार्फत मात्रै नेपालको विश्वव्यापी छवि सुदृढ गर्न सकिने निष्कर्ष निकालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

कान्तिपुर

Link copied successfully