यहाँ आयोजित तरुल उत्सव हात्ती प्रकोपको चुनौतीलाई सिर्जनात्मक ऊर्जा बनाउँदै ग्रामीण पर्यटनलाई भारत र भुटानसंग जोड्ने महत्वपूर्ण कडी बनेको छ।
What you should know
झापा — झापाको सीमावर्ती बाहुनडाँगी लामो समयदेखि हात्ती प्रकोपको पीडाले चिनिएको गाउँ हो । तर, अब यही पीडालाई अवसरमा रूपान्तरण गर्दै यो गाउँ कृषि, संस्कृति र पर्यटनलाई एउटै सूत्रमा बाँधेर अन्तर्राष्ट्रिय संवादको केन्द्रका रूपमा उभिएको छ ।
बुधवार र बिहीवार आयोजित चौँथो अन्तर्राष्ट्रिय तरुल उत्सव हात्ती प्रकोपको चुनौतीलाई सिर्जनात्मक ऊर्जा बनाउँदै ग्रामीण पर्यटनलाई भारत र भुटानसंग जोड्ने महत्वपूर्ण कडी बन्यो ।
उत्सवले स्थानीय पीडा समस्या मात्रै होइन, सम्भावनाको ढोका खोल्ने आधार पनि हो भन्ने सन्देश प्रवाह गर्यो । तरुलको स्वाद र परिकारभन्दा पर गएर यो उत्सवले अन्तरसीमा सहअस्तित्व, सांस्कृतिक आदान–प्रदान र आत्मनिर्भर ग्रामीण अर्थतन्त्रको सन्देश प्रवाह गरेको कार्यक्रम संयोजक तथा मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनाए ।
उत्सवमा स्वदेशी मात्रै हैन भारत र भुटानबाट पर्यटनकर्मी, कृषि विज्ञ, संरक्षणवादी र सांस्कृतिक टोलीको सहभागिताले बाहुनडाँगी तीन देश जोड्ने सांस्कृतिक चौतारीका रूपमा उभियो ।
तरुल उत्सवको अर्को महत्वपूर्ण पाटो भनेको पर्यटन समझदारी हो । सिक्किमस्थित ‘डिस्कभर टेमी’ र आयोजक समितिबीच कृषि, संस्कृति र ग्रामीण पर्यटन प्रवर्द्धनका विषयमा तीन वर्षे समझदारी पत्र (एमओयू) समेत भयो । ‘यसलाई नेपाल–भारत ग्रामीण पर्यटन सहकार्यलाई संस्थागत बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ’, आयोजक समितिका निरज घिमिरेले जनाए ।
सांस्कृतिक कार्यक्रमले पनि उत्सवलाई अन्तर्राष्ट्रिय उचाइ दियो । दार्जिलिङकी चर्चित गायिका डेजी बराइली, चन्दन लम्जेल र छोरी विमोचना लम्जेल, लोक गायक कमलीकान्त भेट्वाल, कुचबिहारका लोकगायक राजिवजीको टोली, संगीतकार टिका भण्डारी र अभिनेता–उद्घोषक सिद्धार्थ सिंहसम्मको प्रस्तुतिले उत्सव स्मरणीय बन्यो । स्थानीय कलाकारहरुको प्रस्तुतिले कार्यक्रममा थप रौनकता थप्यो । कार्यक्रममा गायिका वराइली र संगीतकार लम्जेललाई अभिनन्दन गरिएको थियो ।
उत्सव अवधिभर मानव–हात्ती द्वन्द्व न्यूनीकरण, अन्तरसीमा पर्यटन, जैविक कृषि प्रणाली, जातीय संस्कृति, भेषभूषा, लोककला र रैथाने उत्पादनका स्टलहरू राखिएको थियो । सामाजिक उत्तरदायित्वको उदाहरणस्वरूप सहिद सुरेश थापा, मनमाया थापा र स्वर्गीय महेश थापाको स्मृतिमा खुसीलाल चोकदेखि मेची खोलासम्मको बाटो टाइल्स बिछ्याउने घोषणा पनि यही उत्सवमा गरिएको थियो ।
