भन्सार शुल्क वृद्धिले इरानी अर्थतन्त्र थप प्रभावित

संकटग्रस्त इरानी अर्थतन्त्रलाई यसले थप समस्यामा पारेको छ । उच्च मुद्रास्फीति, बेरोजगारीजस्ता आर्थिक संकटकै कारण इरानमा विरोध प्रदर्शन भइरहेको हो । 

माघ १, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि देशमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । संकटग्रस्त इरानी अर्थतन्त्रलाई यसले थप समस्यामा पारेको छ । उच्च मुद्रास्फीति, बेरोजगारीजस्ता आर्थिक संकटकै कारण इरानमा विरोध प्रदर्शन भइरहेको हो । 

इरानले चीन, टर्की, इराक, यूएई र भारतमा तेल तथा अन्य सामग्री निर्यात गर्दै आएको छ । यहाँको झन्डै ८० प्रतिशत तेल चीनले किन्छ । संयुक्त राष्ट्रसंघ कमट्रेडका अनुसार सन् २०२४ मा चीन र इरानबीच १३ अर्ब अमेरिकी डलरभन्दा बढीको द्विपक्षीय व्यापार भएको थियो । तर वास्तविक आँकडा योभन्दा धेरै हुने अनुमान छ । आफूमाथि पश्चिमा शक्तिले प्रतिबन्ध लगाएकाले इरानले चीनसँग अनधिकृत च्यानलमार्फत व्यापार गर्दै आएको छ, जसको हिसाब राष्ट्रसंघ र अन्य आधिकारिक निकायसँग हुँदैन । 

ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले विभिन्न देशलाई इरानसँग तेल खरिद नगर्न धम्की दिएका थिए । इरानसँग तेल खरिद गर्नेहरूलाई भन्सार शुल्क बढाउने घोषणा ट्रम्पले गरेपछि भारतसहितका देशले यसमा ठूलो कटौती गरेका थिए । त्यसपछि इरानले आफ्नो तेल व्यापारमा चीनसँग निर्भरता बढायो । गत वर्ष इरानको ८० प्रतिशत तेल चीनले किन्यो । २०१६ देखि नै चीन इरानको शीर्ष व्यापार साझेदार थियो । अहिले यो साझेदारी थप बृहत् भएको छ । 

चीनले प्लास्टिक, फलामको अयस्क, रसायन, मेथानोललगायत विभिन्न सामग्री इरानसँग किन्छ । अमेरिकामा चिनियाँ सामग्रीले अहिल्यै ३५ प्रतिशत भन्सार शुल्क तिर्नुपरेको छ । इरानसँगको व्यापार कायम रहँदा त्यसमा थप २५ प्रतिशत भन्सार थपिनेछ । दक्षिण कोरियामा गत अक्टोबरमा भएको एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र समकक्षी ट्रम्पबीच भेटघाट भएको थियो । यस भेटले अमेरिका र चीनको व्यापार युद्धमा केही समय विराम लाग्यो । तर, अहिले फेरि इरानको विषयलाई लिएर नयाँ तनाव सुरु हुने देखिएको छ । 

वासिङ्टनस्थित चिनियाँ दूतावासले ट्रम्पको नीतिको निन्दा गर्दै बेइजिङले आफ्नो हितको रक्षा गर्न आवश्यक उपायहरू अवलम्बन गर्ने बताएको छ । अमेरिकाको एकपक्षीय प्रतिबन्धलाई चीनले अस्वीकार गर्ने बताएको छ । ‘व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेका छन् । चीनले इरानमाथिको अमेरिकी हस्तक्षेपको पनि निन्दा गरेको छ । 

राष्ट्रसंघको २०२४ को कमट्रेड तथ्यांकअनुसार, टर्किए इरानको दोस्रो ठूलो व्यापारिक साझेदार थियो । दुई देशबीचको व्यापार लगभग ५.७ अर्ब अमेरिकी डलरको थियो । टर्किएमाथि अहिले अमेरिकाले १५ प्रतिशत आधारभूत भन्सार शुल्क लगाएको छ । स्टिल र आल्मुनियममा लाग्ने भन्सार शुल्क भने ५० प्रतिशत छ । इरानसँगको व्यापारपछि यसमा शुल्क थप हुनेछ । 

इरानको अर्को ठूलो व्यापारिक साझेदार भारत पनि एक हो । २०२४ मा इरानले भारतमा १.०५ अर्ब डलरभन्दा बढीको सामग्री निर्यात गरेको थियो । त्यस्तै पाकिस्तानमा १.०२ अर्ब डलरभन्दा बढी सामग्री निर्यात गरेको थियो । यी देशले पनि इरानसँग व्यापार कायम राख्दा अमेरिकाको थप भन्सार शुल्क झेल्नेछन् । 

इरानले तेल निर्यात गरेर धेरै रकम कमाउँदै आएको छ । यसबाहेक तरकारी र मेसिनरी उपकरण पनि निर्यात गर्छ । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार इरानले २०२२ मा १४७ व्यापारिक साझेदारलाई आफ्ना विभिन्न उत्पादन निर्यात गरेको थियो । २०१५ मा अमेरिकाको अगुवाइमा इरानमा आणविक कार्यक्रम समाप्त गर्ने र त्यसबापत इरानलाई विश्व बजारमा सहज प्रवेश दिने गरी पेरिसमा सम्झौता भएको थियो ।

यस सम्झौतासँगै इरानको तेलले विश्व बजारमा सहज पहुँच पाएको थियो । तर, २०१८ मा ट्रम्पले अमेरिकी प्रतिबन्धहरू पुनः लागू गर्ने निर्णय गरे । त्यसयता, इरानले चिनियाँ बजारमा तेल निर्यातलाई बढाउँदै लगेको छ ।

कान्तिपुर

Link copied successfully