राष्ट्र बैंकले आज पनि ऋणपत्रमार्फत २५ अर्ब झिक्दै

यससँगै राष्ट्र बैंकले हालसम्म ८ वटा ऋणपत्रमार्फत १ खर्ब ७५ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank is withdrawing 25 billion through bonds today as well.

What you should know

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–झ’ मार्फत उक्त रकम संकलन गर्न लागिएको हो ।

यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल गर्न मागेको थियो ।

यससँगै राष्ट्र बैंकले हालसम्म ८ वटा ऋणपत्रमार्फत १ खर्ब ७५ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । आज थप २५ अर्ब रुपैयाँ संकलन गरेपछि ऋणपत्रमार्फत संकलित कुल रकम २ खर्ब रुपैयाँ पुग्नेछ । आज जारी गरिएको ऋणपत्र नवौं हो ।

यसअघि राष्ट्र बैंकले पाँच पटक २५/२५ अर्ब रुपैयाँ, एक पटक २० अर्ब रुपैयाँ र एक पटक १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ । बजारमा तत्काल तरलता घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधि (एक वर्ष) का लागि पैसा झिकिरहेको जनाएको छ । यस चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाा बजारबाट झिक्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गरिनेछ । एक वर्षपछि ऋणपत्रको सावाा भुक्तानी हुनेछ। ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले (काउन्टरपार्टी) मात्रै खरिद गर्न पाउनेछन् । 

लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि प्रयोग गर्न सकिनेछ ।

कान्तिपुर

Link copied successfully