शाखामा पर्सा, बारा र रौतहट जिल्लाबाट समेत किसानले धान बिक्री गर्न ल्याएका छन् । यस वर्ष शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएको छ ।
पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले बुधबारसम्म ७ हजार ७ सय क्विन्टल धान खरिद गरेको छ । शाखा प्रमुख पंकज झाका अनुसार हाल दैनिक औसत ३ सय ५० क्विन्टल धान खरिद भइरहेको छ ।
शाखाले यस वर्षदेखि नै टोकन प्रणालीबाट किसानको धान खरिद गर्न थालेकामा वितरित २ सय ७५ टोकनमध्ये बुधबारसम्ममा २ सय ४ टोकनबाट धान खरिद भइसकेको छ । शाखाले किसानलाई ४० क्विन्टल धान खरिदको दरले टोकन वितरण गरेको छ ।
लक्ष्यअनुरुप टोकन लगेका किसानले धान नल्याए वैकल्पिक व्यवस्थाका लागि थप एक दर्जन किसानलाई टोकन वितरण गरिएको झाले बताए । टोकन पाएका किसानबाट लक्ष्यअनुरुप धान नआए प्रतीक्षा सूचीमा रहेका किसानबाट धान खरिद गरिने उनले बताए ।
शाखामा पर्सा, बारा र रौतहट जिल्लाबाट समेत किसानले धान बिक्री गर्न ल्याएका छन् । यस वर्ष शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । टोकन लगेका किसानबाटै यति परिमाणमा धान खरिद हुने सम्भावना छ । माघको पहिलो सातासम्म धान खरिद गर्ने योजना शाखाको छ ।
यस वर्ष पनि शाखाले सोना मन्सुली धान मात्र खरिद गरिरहेको छ । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गरिरहेको छ ।
