गत वर्षको पहिलो त्रैमासमा सुरुमा ३.४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएपनि सो अवधिमा वास्तविक वृद्धिदर २.९ प्रतिशत कायम भएको थियो ।
What you should know
काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासका मुलुकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
कार्यालयले बुधबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले करिब ३.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।
प्रतिवेदनका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष ०८१/८२ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आर्थिक वृद्धिदर ३.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो ।
गत वर्षको पहिलो त्रैमासमा सुरुमा ३.४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएपनि सो अवधिमा वास्तविक वृद्धिदर २.९ प्रतिशत कायम भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न वाली, वनपैदावर, निर्जीवन बिमा, आन्तरिक उत्पादनका निर्माण सामग्रीलगायतका उत्पादनमा संकुचन देखिएकाले उक्त अवधिको वृद्धिदर तीन प्रतिशतभन्दा केही बढी मात्र देखिएको प्रतिवेदनले जनाएको छ ।
पहिलो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, विक्तीय त्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटन आगमनलगायतका विभिन्न क्रियाकलापमा वृद्धि भएकाले आर्थिक वृद्धिदर ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको हो ।
समग्रमा यस त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरण सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान कार्यालयले गरेको छ ।

आधारभूत मूल्यमा आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा जीडीपी वृद्धिदर १.६८ प्रतिशतले ऋणात्मक देखिएको छ । सो अवधिमा अर्थतन्त्रका कुल १८ ओटा औद्योगिक वर्गिकरणमध्ये १३ ओटा क्षेत्रमा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन ऋणात्मक भएको अनुमान गरिएको कार्यालयले जनाएको छ ।
