सिटिजन्स लाइफ र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच बाल अस्पताल निर्माण सम्झौता

सम्झौताअनुसार सिटिजन्स लाइफले काठमाडौंमा निर्माण हुने केआईओसीएच–काठमाडौं बाल अस्पतालका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नेछ ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Citizens Life and Kathmandu Institute of Child Health sign agreement to build children's hospital

What you should know

काठमाडौँ — सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (सीएलआइसीएल) र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)बीच बाल अस्पताल निर्माणका लागि आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स लाइफले काठमाडौंमा निर्माण हुने केआईओसीएच–काठमाडौं बाल अस्पतालका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नेछ ।

बुधबार भएको सम्झौतामा सिटिजन्स लाइफका अध्यक्ष प्रदीपजंग पाण्डे र केआईओसीएचका संस्थापक अध्यक्ष प्रा. डा. भगवान् कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर भएसँगै सहयोग रकम केआईओसीएचलाई हस्तान्तरण गरिनेछ ।

गैरनाफामूलक संस्था केआईओसीएचले ‘नेपालमा बाल स्वास्थ्य सेवा सहज, पहुँचयोग्य र सुलभ बनाउने’ लक्ष्यका साथ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ मा २०० शय्याको बाल अस्पताल निर्माण गरिरहेको छ । उक्त अस्पताललाई क्रमशः विस्तार गर्दै नेपालका अन्य प्रदेशमा स्याटेलाइट अस्पताल स्थापना गर्ने योजना रहेको केआईओसीएचले जनाएको छ ।

सम्झौताअनुसार परियोजना सफलतापूर्वक सम्पन्न भएपछि केआईओसीएचको दाता नामकरण नीतिअनुसार अस्पताल परिसरमा सिटिजन्स लाइफको नाम राखिनेछ । साथै, सिटिजन्स लाइफले आवश्यक ठानेमा आफ्ना प्रतिनिधिमार्फत अस्पताल निर्माणस्थलको अवलोकन गर्न सक्नेछ । केआईओसीएचले हरेक वर्ष परियोजनाको प्रगतिबारे सिटिजन्स लाइफलाई जानकारी गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ ।

दुवै पक्षको आपसी सहमतिमा सम्झौताका सर्तहरू परिमार्जन गर्न सकिने र भविष्यमा आवश्यकता, स्रोतसाधन तथा आपसी समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ । पारदर्शिता र उत्तरदायित्वका सिद्धान्तलाई पालना गर्दै बाल स्वास्थ्य सेवाको विकासमा सहकार्य गर्ने प्रतिबद्धता दुवै संस्थाले व्यक्त गरेका छन् ।

सम्झौतामा साक्षीका रूपमा सिटिजन्स लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र प्रमुख सञ्चालन अधिकृत दिपेन्द्र खड्काले हस्ताक्षर गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully