पाँच वर्षमा कागती लगाउने खेतबारीको क्षेत्रफल र उत्पादन दोब्बरले बढेको जिल्ला कृषि विकास कार्यालय काभ्रेको तथ्यांक
What you should know
काभ्रे — काभ्रेको बेथानचोक गाउँपालिका–१ फाइमाराङका किसान वर्षामा मकै, हिउँदमा तोरी र फापर लगाउनमै व्यस्त रहन्थे । उब्जनी राम्रो हुँदा जीवन निर्वाह सहज थियो । तर २०७० पछि फाइमाराङमा मकै, तोरी र फापर खेती गर्न हैरानी थपियो । बँदेल, दुम्सी, भालु, बाँदरजस्ता वन्यजन्तुले किसानको खेतबारीमा आएर क्षति पुर्याउन थाले ।
समस्या झेल्न नसकेपछि स्थानीय रमेशप्रसाद तिमल्सिना परिवारसहित आठ वर्षअघि पनौतीको ज्यालाचिटी झरे । ‘मकैको घोगा लाग्न नपाउँदै बँदेल–दुम्सीले सबै सखाप पारिदिन्थ्यो,’ उनले भने, ‘रातभर राँको बालेर, हल्ला गरेर बाली जोगाउन खोज्दा पनि २५ प्रतिशतभन्दा बढी अन्न भित्र्याउनै सकिएन ।’
गाउँमा उनको १५ रोपनी जमिन बाँझै छ । फाइमाराङमा ४० घरधुरीमध्ये अहिले १२ मात्र बसोबास गर्छन् । बाँकी २८ घरधुरीले पनौतीतिर बसाइँसराइ गरिसकेका छन् । ‘बसाइँसराइको मुख्य कारण वन्यजन्तु आतंक नै हो, तर शिक्षा र रोजगारीका कारण पनि गाउँ खाली हुँदै गएको छ,’ बेथानचोक गाउँपालिका–१ का वडाध्यक्ष मधुसूदन तिमल्सिना भन्छन् ।
यस्तै अर्का उदाहरण हुन् बेथानचोक गाउँपालिका–१ स्थित चिलाउने डाँडाका गोकुल गौतम । दिनरात कुरेर बस्दा पनि वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि उनले डेढ वर्षअघि गाउँ छाडे । पनौती नगरपालिका–८ मा २ रोपनी भाडाको जग्गामा उनले तरकारी खेती गरिरहेका छन् । ‘गाउँमा आफ्नो जग्गा बाँझै छाड्नुपरेको छ,’ उनले भने ।
यस्तो समस्या काभ्रेका अन्य गाउँमा पनि छ । कतिपय किसानले विकल्प नै देखेका छैनन्, कतिपय गाउँमै वैकल्पिक खेती सुरु गर्न थालेका छन् । बेथानचोक गाउँपालिकाकै वडा नं ६ मा भने किसानले वन्यजन्तुले क्षति नपुर्याउने खेतीको पहिचान गरी कागती खेती सुरु गरेका छन् ।
त्यसको उदाहरण बेथानचोक गाउँपालिका–६ भुग्देउस्थित टारकी अञ्जली अधिकारी हुन् । उनलाई अचेल वन्यजन्तुबाट बाली कसरी जोगाउने भन्ने चिन्ता छैन । उनले ७ वर्षयता कागती खेती गरिरहेकी छन् । कागती खेतीमा भालु र बँदेलले केही गरेको छैन ।
‘मलाई लाग्छ ८/१० वर्षअघि गाउँमा एक/दुई जनाले किसानले ५/७ बोट कागतीको बिरुवा लगाएका थिए । कागतीलाई वन्यजन्तुले केही पनि गरेन । त्यसपछि मैले पनि कागती खेती सुरु गरें,’ उनले भनिन्, ‘६ रोपनी खेतमा ३ सय बोट कागती रोपेकी छु । कागतीले रोपेको तीन वर्षपछि मात्र फल दिन थाल्यो । तीन वर्षयता बर्सेनि ५–६ लाख रुपैयाँसम्म आम्दानी गरिरहेकी छु ।’
मकै खेती गर्दा ८० हजारदेखि १ लाख रुपैयाँ मात्र हात पर्थ्यो । वन्यजन्तुले क्षति पुर्याउँदा त बाली नै उठाउन पाउँदिनथिन् । कागती खेती सुरु गरे पनि मकैबालीको तुलनामा दोब्बर नै आम्दानी हुने गरेको उनले सुनाइन् । ‘एउटै कागतीको बोटबाट २०–३० वर्षसम्म निरन्तर उत्पादन हुँदो रहेछ । त्यसकारण पनि धेरै फाइदा हुँदो रहेछ,’ उनले भनिन् ।
आम्दानी बढी, वन्यजन्तुले नाश नगर्ने भएपछि खेतबारी बाँझै छाड्ने किसानसमेत कागती खेतीतर्फ आकर्षित भएका छन् । काभ्रेको बेथानचोक–६, टारका ७२ वर्षीय केहेर सिंह लामाले भालु र बँदेलको त्रासका कारण मकै बाली जोगाउन नसकेर खेतीयोग्य जमिन बाँझै छाड्ने गरेका थिए । तर गाउँका अन्य किसान कागती खेतीतर्फ लागे पनि उनले पनि ७ वर्षयता कागती खेती नै गरिरहेका छन् । उनले ४ रोपनीमा ४ सय बोट कागती लगाएका छन् ।
‘पहिले मकै लगाउँदा १ सय २० डोको फल्थ्यो, त्यो पनि भालु–बँदेलका लागि हुन्थ्यो,’ उनले भने, ‘कागतीलाई वन्यजन्तुले क्षति नपुर्याउने, आम्दानी पनि बढी हुने भएपछि अहिले ढुक्क छ ।’ कागती खेतीबाट चार वर्षयता उनले बर्सेनि करिब पाँच लाख रुपैयाँ कमाइरहेका छन् ।
सात वर्षको अवधिमा करिब २० लाख रुपैयाँ आम्दानी भइसकेको उनले जनाए । वार्षिक ४०–५० हजार रुपैयाँ खर्च गरेपछि बाँकी रकम बचत हुने गरेको उनको भनाइ छ । ‘कहिलेकाहीँ बाँदर आउँछ, रुखमा चढ्न खोज्छ, कागतीको बोटको काँडाले घोच्दो रहेछ, अनि फुत्त भाग्छ,’ उनले भने, ‘मकै, गहुँ, तोरी लगाउँदा त केही बाँकी नै राख्दैनथ्यो ।’
कागतीखेतीमा आकर्षित हुने किसानको संख्या बर्सेनि बढ्दो छ । यहाँका प्रायः किसानले सुनकागती प्रजातिको कागती लगाएको गाउँपालिकाको कृषि शाखाका प्रमुख मधुसूदन दाहालले जनाए । त्यस ठाउँमा सुनकागती प्रजातिको कागती निकै राम्रो मान्छि । पारिलो घाम र त्यहाँको हावापानी कागती खेतीका लागि उपयुक्त हुने उनले बताए ।
२०७० सालपछि ठूलो संख्यामा गाउँमा बाँदर पस्न थालेपछि काभ्रेको भुम्लु गाउँपालिकाका किसानले पनि यस्तै जुक्ति लगाएका छन् । भुम्लु गाउँपालिका–७ फलाँटेका किसान १२ वर्षअघिसम्म मकै खेतीमै निर्भर थिए । मकैले घर–परिवार र पशुपालन दुवैका लागि वर्षभरि पुग्ने भएकाले उनीहरू कृषि कर्ममा सन्तुष्ट थिए । तर बाँदरले मकैका घोगा पाक्न नपाउँदै टिपेर खाने, भाँच्ने, फालिदिने जस्ता दुःख दिन थाल्यो ।
फलाँटेका किसान द्वारिकाले बाँदर धपाउन थाल ठटाउने, बन्दुक पड्काउने, कुकुर खेदाउनेदेखि धेरै उपाय खोजे । उनको कुनै पनि प्रयास सफल भएन । दुई रोपनी खेतीले ५० डोको मकै फलाउने बारीमा एक घोगा मकै पनि जोगाउन नसक्ने अवस्था आएपछि बाध्य भएर मकै खेती गर्नै छाडेको उनले बताए । बाँदरले दिएको दुःखबाट द्वारिकासँगै गाउँका किसान सबै आजित भइसकेका थिए ।
समस्या समाधानको माग गर्दै उनीहरू गाउँदेखि प्रदेश कार्यालयसम्म धाए । आफ्नो समस्याबारे धेरै पटक राखेपछि अन्ततः प्रदेश सरकारले उनीहरूलाई वैकल्पिक खेतीका रूपमा कागती खेती गर्न सुझायो । त्यसअनुसार फलाँटेका प्रायः किसानले अनुदानमा प्राप्त कागतीका ५०–६० बोट रोपे । चार वर्षमै बोटहरू फल दिन थालेका छन् । एउटै बोटबाट २०–२५ वर्षसम्म लाभ लिन सकिने भएकाले किसानले मकैको तुलनामा कागतीबाट धेरै फाइदा लिन सकिने उनले बताए ।
वर्षौंदेखि बाँझै रहेको खेतबारीसमेत अहिले कागती उत्पादन प्रयोग भइरहेको छ । सात वर्षअघिसम्म बाँझै रहेको जमिनलाई सदुपयोग गरेर भुम्लु गाउँपालिका–८ स्थित घारीखेतका किसान प्रेमबहादुर भुजेलले अहिले कागती खेती गरिरहेका छन् । भुम्लु गाउँपालिकाका अध्यक्षसमेत रहेका भुजेलले २० रोपनी क्षेत्रफलमा ६ सय बोट सुनकागती लगाएका छन् । कृषि विज्ञको सुझावअनुसार कागती वन्यजन्तुबाट सुरक्षित हुने भन्दै व्यावसायिक खेतीका रूपमा कागती खेती सुरु गरेको उनको भनाइ छ ।
रोपेको तीन वर्षमै कागतीले फल दिन सुरु गरेको उनले जनाए । ‘गत वर्ष मात्र करिब सात लाख रुपैयाँ आम्दानी भएको थियो । गोडमेल, काटछाँट, पानी र मल व्यवस्थापन मिलाएर यसको राम्रो व्यवस्थापन गर्न सकियो भने २०/२५ वर्षसम्म यसबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ भुजेलले भने ।
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममै वडा नं ६ लाई कागतीको पकेट क्षेत्र घोषणा गरिएको र उक्त कार्यक्रमका लागि १ लाख ५० हजार बजेट विनियोजन गरिएको कृषि शाखा प्रमुख दाहालले जनाए । ‘२०८१/८२ मा विनियोजन भएको बजेटअन्तर्गत वडा नं ६ का ७९ किसानलाई निःशुल्क कागतीको बिरुवा वितरण गरिएको थियो,’ उनले भने, ‘यस आर्थिक वर्ष २०८२/८३ का लागि कागती खेती शीर्षकमा ३ लाख बजेट विनियोजन भएको छ ।’
भुम्लु गाउँपालिकाले पनि कागती खेतीलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले २०८२/८३ को नीति तथा कार्यक्रममै कागती खेती समावेश गर्दै ‘कागती पकेट क्षेत्र व्यवस्थापन’ शीर्षकमा १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताए । गत आर्थिक वर्षमा पालिकाले दुई चरणमा किसालाई कागती खेतीबारेमा प्रशिक्षण दिइएको थियो ।
वडा नं ४, ५, ६, ७, र ८ का ४० जना किसानलाई पालिकामा र वडा नं १, २ र ३ का ३० जना किसानलाई वडा नं २ स्थित सिमथलीमा कागती खेती बारेमा प्रशिक्षण दिइएको पालिकाको कृषि शाखाले जनाएको छ । किसानलाई ट्र्याक्टर, कृषि उपकरण, अनुदानमा कागतीका बिरुवा वितरण तथा तालिम–गोष्ठीसहित खेतीका विधि, गोडमेल, काटछाँट र रोग–कीरा नियन्त्रणबारे प्रशिक्षण पनि दिइएको छ ।
पालिकाको फलाँटे, जामुने, पौवालगायतका बस्तीमा समूह बनाई किसानले व्यावसायिक रूपमा कागती खेती विस्तार गरिरहेका छन् । धेरै किसानले गत वर्षदेखि आम्दानी लिन सुरु गरिसकेका छन् । यसबाट भुम्लु गाउँपालिकामा कागती खेतीबाट आर्थिक विकासको सम्भावना पहिचान गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको भनाइ छ ।
किसानदेखि स्थानीय सरकार समेत यो अभियानमा होमिएपछि कागती उत्पादन बढ्दै गएको तथ्यांकले देखाउँछ । पछिल्लो ५ आर्थिक वर्षको तथ्यांकलाई हेर्दा कागती खेती विस्तार हुने क्रम तीव्र बनेसँगै उत्पादन पनि बढेको हो । पाँच वर्षमा कागती लगाउने खेतबारीको क्षेत्रफल र उत्पादन दोब्बरले बढेको जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा २ सय ५५ हेक्टर क्षेत्रफलमा २ हजार ४ सय ८० टन कागती उत्पादन भएको थियो । २०७८/७९ मा ६ सय २ हेक्टर क्षेत्रफलमा ४ हजार ६ सय ३५ टन कागती उत्पादन भएको थियो । २०७९/८० मा भने उत्पादन क्षेत्रफल र उत्पादन दुवैमा कमी देखिएको छ । २०७९/८० मा ४ सय २ हेक्टर क्षेत्रफलमा ३ हजार २ सय ५६ टन कागती उत्पादन भएको थियो ।
२०७९/८० को तुलनामा २०८०/८१ मा तुलनात्मक रूपमा उत्पादन क्षेत्र र उत्पादन थोरै बढेको देखिन्छ । २०८०/८१ मा ५ सय ७९ क्षेत्रफलमा ४ हजार ४ सय ८५ टन कागती उत्पादन भएको थियो । पाँच वर्षको तथ्यांकमा २०८१/८२ मा सबैभन्दा उत्पादन भएको छ । २०८१/८२ मा ६३२ क्षेत्रफलमा ५०५१ टन कागती उत्पादन भएको थियो ।
पछिल्लो समय नेपालमा कागती खेती उत्पादनमा वृद्धि भएको भएको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तीन वर्षको तथ्यांकलाई तुलनात्मक रूपमा हेर्दा नेपालमा वार्षिक रूपमा कागती उत्पादनमा वृद्धि भएको देखिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ४४ हजार ४६२ टन कागती उत्पादन भएकामा आर्थिक वर्ष २०७९–८० मा ४६ हजार २४४ टन र आर्थिक वर्ष २०८०–८१ मा ५५ हजार ८०७ टन कागती उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । नेपालको कुल कागती उत्पादन र काभ्रेपलाञ्चोकमा उत्पादन भएको कागतीको तथ्यांकलाई तुलना गर्दा कुल उत्पादनको ८.४५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकले ओगटेको जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।
कागती नेपालको धेरै भू–भागमा वर्षभरि नै फल्ने बाली भए पनि यसको उत्पादन सबै मौसममा समान नहुने जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताए । कागतीको मुख्य उत्पादन भदौदेखि कात्तिकसम्म पर्छ । यसबाहेक फागुनदेखि चैतसम्म दोस्रो चरणको उत्पादन पनि देखिन्छ । सामान्यतया कागतीको बोटले वर्षमा दुई पटकसम्म फल दिन सक्ने उनको भनाइ छ ।
पछिल्लो समय कागती खेतीमा किसानको आकर्षण बढ्दै गएसँगै उत्पादनमा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ । उत्पादन बढ्दा किसानले कागतीको राम्रो बजार नपाउने अवस्था पनि रहन्छ । बहुआयामिक दृष्टिकोणले हेर्दा कागतीबाट राम्रो आम्दानी लिन सकिने व्यवसायी एवं झ्याम्बल कृषि फर्मकी सञ्चालक कमला लामा बताउँछिन् ।
‘कागतीबाट अचार, तितौरा, क्यान्डी, चुक अमिलो बनाउन सकिन्छ,’ उनले भनिन्, ‘अहिले यसको राम्रो बजार छ, एक केजी कागतीको अचारको १५ सय रुपैयाँसम्म बिक्री हुन्छ, फरक स्वाद र परिकार बनाएर बिक्री गर्न सक्नुपर्छ, यसको बजारमा चिन्ता नै गर्नुपर्दैन, ग्राहक आफैं खोज्दै सामान किन्न आउनुहुन्छ ।’
गाउँमा पछिल्लो समय कागती खेती गर्ने किसानको संख्यामा वृद्धि हुँदै गएको तरकारी व्यवसायी (संकलक) सुदर्शन आचार्यको भनाइ छ । १६ वर्षदेखि बेथानचोक गाउँपालिकाको विभिन्न स्थानमा तरकारी संकलन गर्ने उनले पाँच वर्षयता कागती खेतीमा किसानको आकर्षण बढेको देखेका छन् । कागतीबाट राम्रो आम्दानी हुने भएकाले यसमा किसान आकर्षित भएका छन् ।
‘राम्रो भाउ आएको बेलामा प्रतिकिलो १५० रुपैयाँसम्ममा किसानसँग किन्ने गरेको छु,’ उनले भने, ‘बजारमा भाउ राम्रो नहुँदा पनि १ सय रुपैयाँमा किनिन्छ ।’ उनका अनुसार, बजारमा कागतीको माग पनि राम्रो छ । उनले संकलन गरेर ल्याएको कागती बनेपा, काठमाडौं उपत्यका, चितवन लगायतका क्षेत्रसम्म पुग्ने गर्छ ।
कागती उत्पादन बढी रहे पनि मकैबालीमा प्रगति भने छैन । अर्थात् सामान्य उत्पादन मात्रै छ । काभ्रेपलाञ्चोक जिल्लामा कृषि बालीमध्येमा मकै प्रमुख बालीका रूपमा रहेको छ । प्रमुख बालीका रूपमा रहेको मकैको उत्पादन भने वार्षिक रूपमा थोरै घटबढ भएको देखिन्छ ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेको पाँच वर्षीय तथ्यांकअनुसार, आर्थिक वर्ष २०७७/७८ मा २४ हजार ८७५ हेक्टर क्षेत्रफलमा ८२ हजार ७२७ टन मकै उत्पादन भएको थियो । त्यस्तै, आ.व. २०७८/०७८ मा २४ हजार ९१५ हेक्टर क्षेत्रफलमा ८९ हजार ३९४ टन मकै उत्पादन भएको थियो ।
क्रमशः उत्पादनको क्षेत्रफल र उत्पादन वृद्धि हुँदै आ.व. २०७८/७९ मा २५ हजार ६२० हेक्टर क्षेत्रफलमा ८९ हजार ६७० टन मकै उत्पादन भएको थियो । आ.व. २०८०/८१ मा २५ हजार ४८ क्षेत्रफलमा ९२ हजार १२२ टन मकै उत्पादन भएकोमा आ.व. २०८१/८२ मा भने २५ हजार ३३८ क्षेत्रफलमा ८२ हजार ९०९ टन मकै उत्पादन भएको थियो । जिल्लामा उत्पादित मकै स्थानीय बजार बनेपा, पनौती लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ भने केही मात्रामा काठमाडौंसम्म बिक्री गर्न लैजाने गरिएको छ ।
पछिल्लो पाँच वर्षमा देशमा कागती आयातसमेत उल्लेख्य मात्रामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ५ सय टन कागती आयात भएकोमा त्यसपछिका वर्षहरूमा आयात घट्ने क्रम चलिरहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० हजार ६ सय २५ टन, आर्थिक वर्ष २०७९/८० मा ९ हजार २३ टन र आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ७ सय १९ टन कागती आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । २०८१/८२ मा ६ हजार ६ सय ५१ टनमात्रै कागती आयात भएको छ ।
कागती खेतीलाई वैकल्पिक तथा व्यावसायिक फलफूल बालीका रूपमा विकास गर्न संघीय सरकारले नीतिगत रूपमा प्राथमिकता दिँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता एवं सहसचिव डा.जानुका पण्डितले बताइन् ।
यद्यपि कागती खेतीका लागि छुट्टै शीर्षकमा कार्यक्रम वा बजेट नभए पनि समग्र कृषि नीतिभित्र यसलाई समेटेर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको उनले जानकारी दिइन् । उनका अनुसार, मन्त्रालयले कागती खेतीलाई फलफूल क्षेत्रअन्तर्गत समावेश गर्दै कृषि विकास रणनीति, राष्ट्रिय कृषि नीति, कृषि व्यवसाय प्रवर्द्धन नीति जस्ता नीतिगत दस्तावेजमार्फत सम्बोधन गर्दै आएको छ ।
‘कागती मात्रै भनेर छुट्टै नीति र कार्यक्रम भने तय गरिएको छैन,’ उनले भनिन्, ‘तर फलफूल, तरकारी र खाद्यान्न बाली सबैलाई समेटेर हामीले नीतिगत व्यवस्था गरेका छौं ।’ मन्त्रालयअन्तर्गतको कृषि विभाग र त्यसअन्तर्गत रहेको राष्ट्रिय फलफूल विकास केन्द्र कागती खेतीको प्राविधिक पक्ष हेर्ने मुख्य निकाय हुन् । उक्त केन्द्रमार्फत कागतीका बिरुवा उत्पादन, मागअनुसार वितरण तथा खेतीसम्बन्धी प्राविधिक परामर्श उपलब्ध गराइँदै आएको उनले बताइन् ।
त्यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सिट्रस (कागती जात) बालीका लागि विशेष जोन तोकेर उत्पादन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको उनले जनाइन् । वन्यजन्तुबाट हुने बाली क्षतिका कारण पछिल्लो समय किसानले कागती खेतीलाई वैकल्पिक बालीका रूपमा रोज्दै आए पनि वन्यजन्तु नियन्त्रण र क्षतिपूर्तिसम्बन्धी विषय भने कृषि मन्त्रालयको कार्यक्षेत्रभित्र नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
वन्यजन्तु नियन्त्रण, क्षतिपूर्ति जस्ता विषय वन मन्त्रालयअन्तर्गत पर्छन्, कृषिले गर्न सक्ने भनेको तारबार, छेकबार जस्ता बाली संरक्षणका उपाय मात्र हुन्,’ उनले भनिन् । बाली संरक्षणका यस्ता कार्यक्रमहरू प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन हुने उनको भनाइ छ ।
बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कागती खेतीका लागि छुट्टै नीति निर्माण नगरे पनि व्यावसायिक फलफूल खेती प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै त्यसअन्तर्गत कागती खेतीलाई समेटिएको जनाएको छ । प्रदेशस्तरमा फलफूल उत्पादन वृद्धि गर्ने लक्ष्यसहित लागू गरिएको एकीकृत कृषि विकास कार्यक्रममार्फत कागती खेतीलाई समेत प्रवर्द्धन गरिँदै आएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जनाए ।
प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको एकीकृत कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२ को दफा ३० अन्तर्गतको फलफूल–बगैंचा सुदृढीकरण कार्यक्रममा कागती खेतीलाई पनि समावेश गरिएको प्रवक्ता कँडेलले बताए । उक्त कार्यक्रमको मुख्य उद्देश्य पुराना, जीर्ण तथा कम उत्पादनशील फलफूल बगैंचाहरूमा व्यवस्थापकीय सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ ।
संघीय सरकार र प्रदेश सरकारले कागती खेती प्रवर्द्धन गर्न छुट्टै नीति नबनाए पनि काभ्रेपलाञ्चोकका स्थानीय तहले भने विशेष नीति अघि सारेका छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, चौंरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका लगायतका स्थानीय तहमा विशेष गरेर कागती खेती गरिन्छ ।
मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै जाँदा सरकारले त्यसलाई नियन्त्रण गर्न ठोस योजना ल्याउन सकेको छैन । वन्यजन्तुले कृषिबालीमा पुर्याएको क्षतिको क्षतिपूर्ति भने सरकारले पछिल्ला वर्षमा उपलब्ध गराउन थालेको छ । कृषिबालीमा वन्यजन्तुले गरेको नोक्सानीबाट किसानले क्षतिपूर्तिबापतको रकम प्रदान गर्ने निर्णय भएपछि क्षतिपूर्ति माग गर्ने किसानको संख्यामा वृद्धि भएको डिभिजन वन कार्यालय, काभ्रेपलाञ्चोकले बताएको छ ।
कार्यालयको ५ वर्षको विवरणमा काभ्रेमा पछिल्लो केही वर्षयता वन्यजन्तुले मानवीय, पशुधन र कृषि बाली नोक्सानीको क्षतिपूर्ति माग गर्ने किसानको संख्या बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ सय २५ किसानले क्षतिपूर्ति रकम माग गरेकामा १३ लाख ७५ हजार ३६७ रुपैयाँ क्षतिपूर्ति रकम प्रदान गरिएको थियो । आ.व. २०७८/७९ मा २ सय ६३ जना किसानले क्षतिपूर्ति रकम मागेकामा २७ लाख ७० हजार १७४ रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा ३ सय ८५ जना किसानले क्षतिपूर्ति रकम माग गरेकामा ४३ लाख १७ हजार ३३२ रुपैयाँ क्षतिपूर्ति रकम प्रदान गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ४ सय ७९ जना किसानले क्षतिपूर्ति रकम माग गरेकामा ५ लाख ८ हजार रुपैयाँ क्षतिपूर्ति रकम प्रदान गरिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा भने क्षतिपूर्ति माग गर्ने किसानको संख्या निकै कम भएको तथ्यांकमा देखिन्छ । २०८१/८२ मा १ सय ४ जना किसानले क्षतिपूर्ति रकम माग गरेकामा १० लाख ९८ हजार ५३० रुपैयाँ रकम प्रदान गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
–वन्यजन्तुको आतंककै कारण फाइमाराङलगायत बस्तीबाट ठूलो संख्यामा किसान पनौती र सहरतिर बसाइँ सरे
–कागती खेतीबाट मकैको तुलनामा दोब्बरभन्दा बढी आम्दानी, धेरै किसानले बर्सेनि कमाउँछन् ५ देखि ७ लाख
–एउटै कागतीको बोटले २०–३० वर्षसम्म फल दिने भएकाले किसानका लागि बन्यो दीर्घकालीन र दिगो आम्दानीको स्रोत
–स्थानीय तहद्वारा कागती ‘पकेट क्षेत्र’ घोषणा, बजेट, बिरुवा वितरण र तालिममार्फत किसानलाई प्रोत्साहन
–कागती प्रतिकिलो १००–१५० रुपैयाँमा बिक्री हुने, अचार, क्यान्डी, तितौरा जस्ता परिकारबाट झनै बढी मूल्य
–कागती उत्पादन बढेसँगै नेपालमा कागती आयात घट्यो, स्वदेशी उत्पादन बलियो बनायो
