राष्ट्र बैंकले आठौँपटक ऋणपत्र जारी गरेर कुल १ खर्ब ७५ अर्ब संकलन गर्ने तयारी गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाले मात्र खरिद गर्न पाउनेछन्।
What you should know
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज ऋणपत्रमार्फत २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–ज’ मार्फत उक्त रकम संकलन गर्न लागिएको हो। यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ। सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल गर्न मागेको थियो ।
यससँगै राष्ट्र बैंकले हालसम्म ७ वटा ऋणपत्रमार्फत १ खर्ब ५५ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ। आज थप २० अर्ब रुपैयाँ संकलन गरेपछि ऋणपत्रमार्फत संकलित कुल रकम १ खर्ब ७५ अर्ब रुपैयाँ पुग्नेछ। आज जारी गरिएको ऋणपत्र आठौँ हो।
यसअघि राष्ट्र बैंकले पाँच पटक २५/२५ अर्ब रुपैयाँ, एक पटक २० अर्ब रुपैयाँ र एक पटक १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ।
बजारमा तत्काल तरलता घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधि (एक वर्ष) का लागि पैसा झिकिरहेको जनाएको छ। यस चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ।
उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गरिनेछ। एक वर्षपछि ऋणपत्रको सावाँ भुक्तानी हुनेछ। ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले (काउन्टरपार्टी) मात्रै खरिद गर्न पाउनेछन्।
लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि प्रयोग गर्न सकिनेछ।
