नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन तोलामा ४ हजार १ सय रुपैयाँ बढेर सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा किनबेच भएको हो ।
What you should know
काठमाडौँ — सुन र चाँदीको सोमबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन तोलामा ४ हजार १ सय रुपैयाँ बढेर सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा किनबेच भएको हो ।
आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी सोमबार प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४ हजार ६ सय डलर नाघेको छ । बढ्दो अन्तर्राष्ट्रिय भूराजनीतिक अनिश्चितताका साथै अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलमाथि आपराधिक अनुसन्धानको खबरपछि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित भएकाले सुनचाँदीको मूल्य बढेको समाचार एजेन्सी रोयर्टसले उल्लेख गरेको छ ।
केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले रोयर्टसलाई बताएअनुसार सुनको मूल्य अझै वृद्धि हुने देखिएको छ ।
‘इरानका घटनाक्रम, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्षमाथि आपराधिक अनुसन्धानको विषयले अमेरिकी सेयर बजार (फ्युचर्स) घटेको छ, यही अवस्थाले सुनलाई अझ माथि जाने हरियो संकेत दिएको छ,’ उनले रोयर्टसलाई भनेका छन् ।
महासंघका अनुसार आर्थिक र भूराजनीतिक अस्थिरता, मुद्रास्फीति र कम ब्याजदरका कारण सुरक्षित आश्रय खोज्ने लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् । केन्द्रीय बैंकहरूले लगानी विविधीकरण गर्ने संयोजनका कारण सुनको मूल्यमा उतारचढाव भएको विश्लेषकहरूको भनाइ छ ।
अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्सले आइतबार फेडको ब्याजदर कटौतीसम्बन्धी आफ्नो पूर्वानुमान समेत पछाडि सारेको छ । मार्च र जुनमा हुने पूर्वानुमानलाई गोल्डम्यान स्याक्सले आगामी जुन र सेप्टेम्बरमा दुई पटक २५ आधार अंकको दरले कटौती हुने अपेक्षा गरेको छ ।
कम ब्याजदर र अस्थिर भूराजनीतिक अवस्थामा सुनचाँदीको मूल्यले कीर्तिमानी कायम गर्दै आएको छ । यस आर्थिक वर्षको पाँच महिनामा १५ अर्ब ७२ करोड रुपैयाँको सुन आयात भएको छ । उक्त आयातबाट १ अर्ब ५७ करोड रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४ करोड २ लाख रुपैयाँको मात्र सुन आयात भएको थियो । उक्त सुन आयातबाट ३४ करोड ७९ लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको पूरै अवधिमा १७ अर्ब १२ करोड रुपैयाँको सुन आयात भएको थियो ।
