अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको उजुरी संख्या करिब ३० प्रतिशतले बढेको हो ।
काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा वित्तीय जानकारी इकाईमा शंकास्पद वित्तीय कारोबारको ९ हजार ५ सय ६५ वटा उजुरी दर्ता भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको उजुरी संख्या करिब ३० प्रतिशतले बढेको हो । राष्ट्र बैंक वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले उजुरी गर्ने अनलाइन माध्यम ‘गोएएमएल’ प्रणालीमार्फत वित्तीय सूचना संकलन उल्लेख्य रूपमा वृद्धि भएको जनाएको छ ।
‘आव २०८०/८१ मा गोएएमएलमा आबद्ध सूचक संस्थाहरूको संख्या १ हजार ६ सय ३९ रहेकोमा २०८१/८२ मा ३ हजार ४ सय ९७ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सोही अवधिमा इकाईले ९ हजार ५ सय ६५ वटा शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन प्राप्त गरेको छ ।’
आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्ने, रिपोर्टिङ निर्देशिका जारी तथा अद्यावधिक गर्ने, शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने लगायतका काम भएकाले शंकास्पद कारोबारको उजुरीहरु पनि बढेको बताइएको छ ।
इकाईले वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेको यो क्षेत्रमा अपेक्षित सुधार आएको प्रतिवेदनमा उल्लेख छ ।
